सरकारी अध्ययन समितिले भन्याे- हप्तामा दुई दिन सार्वजनिक बिदा दिन उपयुक्त

khabarwave
२५ मंसिर २०७७

काठमाण्डाै । हप्तामा दुई दिन सार्वजनिक दिने सम्बन्धमा अध्ययन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले समिति गठन गरेको समितिले  हप्तामा दुई दिन सार्वजनिक बिदा दिन सरकारलाई सिफारिस गरेको छ ।

मन्त्रालयका सहसचिव कमलप्रसाद भट्टराई, पर्यटन विभागका महानिर्देशक रुद्रसिंह तामाङ, नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक धनन्जय रेग्मी, गृह मन्त्रालयका उपसचिव बासुदेव घिमिरे, अर्थमन्त्रालयका प्रतिनिधि र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव कविन्द्र नेपाल सहभागी भएको अध्ययन समितिले सरकारलाई यस्तो सिफारिस गरेको हो ।

उक्त समितिले सरकारलाई सातामा दुई दिन सार्वजनिक बिदा दिन र निजी क्षेत्रलाई समेत यसका लागि प्रोत्साहन गर्न सिफारिस गरेको छ ।अहिले नेपालमा शनिबार मात्र सार्वजनिक बिदा दिने प्रचलन रहेको छ । मन्त्रालयले पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण हुने भन्दै सातामा दुई दिन बिदा दिने प्रावधानबारे अध्ययन गर्न समिति गठन गरेको थियो ।

आन्तरिक पर्यटन प्रवर्द्धन, सार्वजनिक खर्चमा कतौती, इन्धनमा कटौती, उत्पादकत्व वृद्धिलगायत विषयमा अध्ययनपछि यस्तो निष्कर्ष निकालिएको समितिले जानकारी दिएको छ । समितिले विगतमा प्रकाशित कागज तथा दस्तावेजको अध्ययन, पर्यटन सेवा प्रवाह, ट्राफिक व्यवस्थापन तथा सरकारी खर्च सम्बन्धमा दुई दिने बिदाले पार्ने प्रभावबारे सरोकारवालासँग समेत छलफल गरेको थियो ।

समितिले गरेको अध्ययन अनुसार संसारका ८८ प्रतिशत मुलुकमा सातामा दुई दिन सार्वजनिक बिदा दिइने गरेको छ । सातामा एक दिन मात्र बिदा दिने मुलुक १२ प्रतिशत रहेको अध्ययनमा देखिएको छ । एउटा देशले भने सातामा तीन दिनसम्म बिदा दिने गरेको छ । सबैभन्दा बढी बिदा दिने मुलुक कम्बोडिया र सबैभन्दा कम सार्वजनिक बिदा दिने मुलुक मेक्सिको भएको अध्ययनमा उल्लेख छ ।

 

Loading spinner