शरतसिंहले जाँदाजाँदै गरेको ठूलो घात

khabarwave
१७ चैत्र २०८०

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीबाट मन्त्री बनेका शरतसिंह भण्डारीले सरकारबाट बिदा हुनु २ दिनअघि रुसको श्रम स्वीकृति खुला गरिदिएको पाइएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रहेका उनले फागुन १६ गते श्रम स्वीकृति खुला गरेका थिए। त्यसको दुई दिनपछि भण्डारी मन्त्रीबाट हटेका थिए। तर जाने बेलामा भण्डारीले एउटा म्यानपावर कम्पनीका लागि श्रम स्वीकृति दिने निर्णय सचिवस्तरबाट गराएको खुलेको छ। सरकारले गएको पुस १९ गते रुसमा श्रमिक रोक्न श्रम स्वीृकति नै बन्द गर्ने निर्णय गरेको थियो। तर यो वर्ष पनि वैदेशिक रोजगार विभागबाट ३७० जना रुस पुगिसकेको तथ्यांकले देखाएको छ। विभागका महानिर्देशक डण्डुराज घिमिरेले यो वर्ष फागुन महिनासम्ममा ३७० जनाले रुसका लागि अन्तिम श्रम स्वीकृति लिएको बताए। गत वर्ष ३८६ जनाले रुसका लागि अन्तिम श्रम स्वीकृति लिएका थिए। नेपाली नागरिक विभिन्न बहानामा रुसमा गई त्यहाँको सेनामा भर्ती भएको र रुस(युक्रेन युद्धमा नेपाली नागरिकको मृत्यु भएको कारण देखाएर श्रम स्वीकृति स्थगन गर्ने निर्णय भएको थियो। परराष्ट्र मन्त्रालयले रुसमा भ्रमण गर्दा कन्सुलर सेवा विभागबाट एनओसी लिएर मात्रै गर्न सूचना जारी गरेपछि श्रम मन्त्रालयले पुस १९ गतेदेखि श्रम स्वीकृति दिन स्थगित गरेको थियो। तर श्रम स्वीकृति रोकिएको कारण रुसमा विभिन्न पेसा व्यवसाय गरी नेपालमा बिदामा आएकाहरूको मागलाई सम्बोधन गरी फागुन ९ को सचिवस्तरीय निर्णयबाट श्रम स्वीकृति सुचारु गरिएको वैदेशिक रोजगार विभागले जनाएको छ। संस्थागत निर्णयबाट रुसको ब्लागोभ्सचेन्स्क सिटीस्थित सिनोप्स इन्जिनियरिङ रसिया ग्रुप एलएलसी कम्पनीमा कामदार पठाउनैका लागि अन्तिम स्वीकृति खुला गरेको पाइएको छ। यस कम्पनीका लागि म्यानपावर कम्पनीबाट कामदार छनोट भइसकेको र अन्तिम श्रम स्वीकृति मात्रै लिन बाँकी रहेको भन्दै म्यानपावर कम्पनीले मन्त्रालयमा ताकेता गरेको थियो। म्यानपावर कम्पनीकै ताकेताका कारण मन्त्री भण्डारीले आफू जाने बेलामा श्रम स्वीकृति खुला गरिदिएको पाइएको छ। फागुन १६ गतेबाट श्रम स्वीकृति दिने काम भइरहेको वैदेशिक रोजगार विभागका महानिर्देशक डण्डुराज घिमिरेले बताए।

Loading spinner