विश्व बैंकले नेपालमा गर्ने लगानीको फ्रेमवर्क टुङ्गियो

khabarwave
९ बैशाख २०८१

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले विश्व बैंकले नेपालमा गर्ने लगानीको फ्रेमवर्क टुङ्गिएको बताएका छन् । वासिङटन डीसीमा आयोजित विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष ईएमएफ को वसन्तकालीन संयुक्त बैठकमा भाग लिएर शनिबार स्वदेश फर्किएपछि त्रिभुवन विमानस्थलमा पत्रकार सम्मेलन गर्दै मन्त्री पुनले विश्व बैंकका उपाध्यक्षसहितको टोलीसँग भएको छलफलपछि नेपालमा कुन फ्रेमवर्कमा लगानी गर्ने भन्ने कुरा टुङ्गिएको बताएका हुन् । उनले उक्त फ्रेमवर्कलाई मन्त्रिपरिषद्मार्फत अघि बढाएर आवश्यक प्रक्रिया अघि बढाउने जानकारी दिए । मन्त्री पुनले नेपाली मुलका अमेरिकीहरुले नेपालमा लगानी बढाउने प्रतिबद्धता जनाएको बताए । बैठकका क्रममा तीन वटा मन्त्रीस्तरीय बैठकमा सहभागी भएको जनाउँदै उनले आफ्नो भ्रमण सफल भएको जिकिर गरे । मन्त्री पुनले एमसीसी पदाधिकारीहरुसँग पनि छलफल भएको भन्दै नेपालमा सञ्चालित परियोजना समयमै सम्पन्न हुने विश्वास व्यक्त गरेको जानकारी दिए । उनले बैठकका क्रममा भएका साइडलाइन छलफल र वार्ताहरु पनि निकै सकारात्मक भएको बताए । उनले नेपालको ऊर्जा, कृषि, पर्यटन र सूचना प्रविधि क्षेत्रमा लगानी गर्न आग्रह गरेको पनि जानकारी दिए ।

Loading spinner