महासंघमा शतप्रतिशत मतदान,सम्भवतः आजै नतिजा

khabarwave
१३ मंसिर २०७७

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं वाषिर्क साधारणसभाअन्तर्गत नयाँ कार्यसमितिका लागि भएको निर्वाचनको मतदान सकिएको छ । बिहान आठ बजेदेखि भएको मतदान अपररान्ह ४ बजे सकिएको थियाे । सम्भवतः आजै नतिजा मतदान सकिएपछि अब छलफलमार्फत मतगणना सुरु गर्ने समय तय हुनेछ । सम्भवतः रातिसम्म महासंघले नयाँ कार्यसमिति पाउनेछ ।

महासंघको नयाँ कार्य समिति चयनको लागि तीन स्थानबाट मतदान गरिएको थियो । महासंघको केन्द्रीय कार्यालय टेकु कार्की व्यांक्वेट बबरमहल र नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा मतदान भएको हो । निर्वाचन समितिका अनुसार निर्वाचनमा शतप्रतिशत मत खसेको छ । जिल्ला नगर, वस्तुगत र एसोसियटतर्फका सबै मतदाताले मतदान गरेको  बताइएकाे छ । महासंघको वरिष्ठ उपाध्यक्ष पदका लागि वर्तमान उपाध्यक्षद्वय चन्द्र ढकाल र किशोर प्रधान प्यानलसहित चुनावी मैदानमा छन् । अहिले वरिष्ठ उपाध्यक्षमा निर्वाचित व्यक्ति अर्को कार्यकालमा स्वतः अध्यक्ष बन्ने भएकाले महासंघको निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पद सर्वाधिक महत्वपूर्ण मानिन्छ ।

महासंघको २ केन्द्रीय सदस्यमध्ये प्रदेश १ बाट राजेन्द्र राउत र द्विराष्ट्रिय उद्योग वाणिज्य संघबाट सन्दीप अग्रवाल निर्विरोध निर्वाचित भइसकेका छन् । बाँकी पदहरुमा चुनाव भएको हो ।

 

Loading spinner