खुलामञ्चको निःशुल्क भोजन अब थापाथलीबाट

khabarwave
३ मंसिर २०७७

काठमाडौं । काठमाडौं महानगरपालिकाले खुलामञ्चको सट्टा  परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथली नजिकै निःशुल्क भोजन गराउने कार्य सुरु भएको  जनाएको छ ।
कोरोना संक्रमणका कारण लामो लकडाउन गर्दा रोजगारी गुमाएका र गरिब तथा असहायलाई हाम्रो टिम नेपालले बिहानमा र हन्ड्रेड ग्रुप नामको संस्थाले साँझको खाना खुलामञ्चमा निःशुल्क खुवाउँदै आएका थिए ।

काठमाडौं महानगरपालिकाले खुलामञ्चमा निःशुल्क भोजन गराउँदै आएका संस्थाहरु र महानगरपालिकाबीचको सहमति अनुसार नै थापाथलीमा निःशुल्क भोजनको व्यवस्था गरिएको बताएकाे छ ।खुलामञ्चमा खाना खुवाउँदा अशोभनीय देखिएको भन्दै महानगरपालिकाले निःशुल्क खाना खुवाउने काम बन्द गर्न यसअघि चेतावनी दिएको थियो । तर जनस्तरबाट विरोध भएपछि महानगरपालिकाले सुरक्षाका मापदण्ड अपनाएर बन्द स्थानमा खाना खुवाउन सकिने विकल्प दिएको थियो ।काठमाडौं महानगरपालिकाले महानगरपालिका क्षेत्रभित्र रहेका असहाय, अशक्त तथा शारीरिक रुपमा काम गर्न नसक्नेहरुलाई मानव सेवा आश्रममा खान, बस्न तथा स्वास्थ्य उपचारको सुविधा उपलब्ध गराएको भन्दै त्यस्ता नागरिकलाई नजिकका वडा कार्यालय वा सीधै मानव सेवा आश्रममा सम्पर्क गर्न अपिल समेत गर्दै आएको छ ।

 

Loading spinner