कृषिका समस्या पहिल्याउन कृषि विज्ञहरु एकै ठाँउमा

khabarwave
१७ भाद्र २०७७

काठमाडौं । कृषि क्षेत्रका विज्ञहरुले सहुलियतपूर्ण कृषि कर्जाको प्रत्याभूति, न्युनतम समर्थन मूल्य तोकी सरकारबाट बजारको सुनिश्चितता, रणनीतिक सुधार, बाँझो जमिनको सदुपयोग,उपभोग्य वस्तुहरुको बजार पहुँच, लगानी, खेति प्रणालीमा सुधार,सूचना प्रविधि , उच्च प्रविधि, कृषि सामग्रीको उपयोगिता आदि विषयमा सरकारले नीतिगत निर्णय गर्नु पर्नेमा जोड दिएका थिए । कोरानाका कारण कृषि क्षेत्रमा पुगेको क्षति न्युनिकरणका लागि नीतिगत तहबाट आवश्यक कदम चाल्नुपर्नेमा उनीहरुले जोड दिएका हुन ।
नेपाल कृषि अर्थशास्त्र समाजले आयाेजना गरेकाे कोभिड १९ः एग्रिकल्चरल पोलिसिज, प्रोग्राम एन्ड इनिसिएटिभ्स इन नेपाल विषयमा गरिएको भर्चुअल कार्यक्रममा सहभागी विज्ञहरुले यस्तो सुझाव दिएका हुन् ।
कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सदस्य गणेश जोशी, पूर्वमन्त्री टेकबहादुर थापा, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव राजेन्द्र भारी, राष्ट्रिय कृषि अनुसन्धान परिषद्का कामु कार्यकारी निर्देशक दिपक भण्डारी लगायतको सहभागिता थियो । यसैगरी कार्यक्रममा प्रदेश नम्बर १, २, वागमती प्रदेश , प्रदेश नं ५ र कर्णाली प्रदेशका कृषि सचिवहरुले प्रदेशका अवस्था र नीतिकाबारे जानकारी गराएका थिए ।
कार्यक्रमको सभापतित्व बागमती प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव एवं समाजका अध्यक्ष डा. योगेन्द्र कुमार कार्कीले गरेका थिए । डा. कार्कीले आफ्नो प्रदेशको वस्तुस्थितिको जानकारी गराउदै सहभागीहरुका प्रश्नको पनि जवाफ दिएका थिए ।
कार्यक्रम सञ्चालन त्रिविका सह प्राध्यापक थानेश्वर भण्डारीले गरेका थिए भने कार्यक्रमलाई कृषि तथा पशुपन्छी मन्त्रालयका सह सचिव भोजराज सापकोटाले सहजीकरण गरेका थिए । कार्यक्रमका सहभागीहरुलाई समाजका उपाध्यक्ष एबं कृषि तथा पशुपन्छी विकास मन्त्रालयका पूर्व सहसचिव रामप्रसाद पुलामीले धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रममा देशभरका विभिन्न क्षेत्रमा कार्यरत करिव २ सय कृषि अर्थशास्त्रीहरु सहभागी थिए ।
सेमिनारबाट प्राप्त सुझावहरुलाई आगामी कार्यक्रमहरुमा पेश गरिने बताईएकाे छ ।

Loading spinner