जन सम्पर्क समिति
विभिन्न कारणबाट विदेशिने नेपालीहरू आफ्नो राजनीतिक आस्थाबाट बिमुख हुन नपरोस् भनेर नेपालका बिभिन्न राजनीतिक दलहरूले विदेशमा आफ्ना संगठनहरू खोलेका हुन्छन्। यसै प्रसंगमा नेपाली कांग्रेसले पनि जन सम्पर्क समितिको नामबाट विभिन्न देशमा आफ्नो संगठन खोलेको पाईन्छ।नेपाली कांग्रेसको विधान २०७५ को दफा ४ को उपदफा (१२)मा विदेश स्थित जन सम्पर्क समितिको ब्यबस्था गरिएको छ।
त्यस्तै दफा १४ को उपदफा(१) मा उल्लेख भए वमोजिम नेपाली कांग्रेसको उद्देश्य र आदर्श प्रति प्रतिवद्ध र समर्थित रहने विदेश स्थित नेपाली नागरिकले यो समिति गठन गर्न सक्ने ब्यबस्था भए वमोजिम विभिन्न देशमा जन सम्पर्क समिति गठन भएको पाईन्छ। विदेशिएका नेपालीले देशको भूगोल छाडे पनि देशको कला, संस्कृति, परम्परा आदिलाई भुल्न नसके जस्तै देशको राजनीतिमा समेत चासो रहने गर्छ। नेपालमा जे जति राजनीतिक विचार अस्तित्वमा छन् त्यही अनुरूपका विचारमा आवद्ध नेपालीहरू विदेशमा समेत रहेका छन्।
यस्ता विभिन्न राजनीतिक दलहरू मध्ये नेपाली कांग्रेस संग सम्बद्ध विचार वाहक नेपालीहरूलाई जन सम्पर्क समिति नामक संस्थाले समेट्ने प्रयाश गरेको छ। नेपाली कांग्रेसको विधानको दफा १४ को ब्यबस्था बमोजिम यो संस्था गठन हुन पुगेको भए पनि औपचारिकताका लागि यो संस्था सम्वन्धित देशको गैर सरकारी संस्थाको रूपमा दर्ता भएर मात्र आफ्ना गतिविधि सन्चालन गर्न पाऊछ। किनभने आफ्नो सीमाना भन्दा वाहिर कुनै पनि देशका राजनीतिक दलले आफ्ना गतिविधि सन्चालन गर्न मिल्दैन।
जन सम्पर्क समितिको ईतिहांस हेर्दा राजनीतिक कारणले नेपाली कांग्रेसले आफ्ना गतिविधि देश भित्र गर्न नपाएको बेलामा छिमेकी देश भारतमा बसेका नेपाली कांग्रेस संग आबद्ध नेपाली नागरिकहरूले भारतबाटै यो संस्थाको नाम बाट राजनीतिक गतिविधि गर्न थालेको पाईन्छ। किनभने नेपाली कांग्रेस प्रतिबन्धित अबस्थामा हुदा भारतलाई आश्रित बनाएर आफ्ना गतिविधी सन्चालन गर्ने गर्दथ्यो।यसरी भारतबाट शुरू भएको नेपाली जन सम्पर्क समितिहरु अहिले विश्वका अधिकांश देशमा फैलिएका छन्।
देशमा राजनीतिको नामबाट गरिएका आन्दोलनहरू हत्या, हिंसाका रूपमा फैलिदा यसबाट यूवाहरू विदेशिने वातावरण बन्यो र खासगरी २०५२ साल पछि नेपालमा माओवादका नामबाट गरिएका गतिविधीहरूले नेपाली समाज बढी आतंकित हुन पुग्यो। करीब १७ हजार नेपालीको ज्यान जाने गरी माओवादीले चलाएको आन्दोलनले नेपाली यूवाहरू विभिन्न देशमा आश्रय लिन पुगे र यही जन सम्पर्क समितिले यिनीहरूको संरक्षण पनि दियो। यो कारणले पनि यस संस्थाको अस्तित्वलाई जायज मान्न सकिन्छ। नेपाली कांग्रेसको विधानको दफा १४ (४) को खण्ड (क),(ख) र (ग) मा जन सम्पर्क समितिबाट नेकाको महाधिवेशनमा सहभागिता जनाउन महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यको संख्या तोकिएको छ। यसरी तोकिने सदस्यहरू कृयाशील सदस्य संख्याको आधारमा हुने जनाईएको छ।
देशमा राजनीतिक चेतना भएका र पढे लेखेका यूवाहरू समेत अध्ययनका लागि विदेशिनु पर्ने र तिनीहरूमा देशको राजनीति प्रति चासो र चिन्ता हुनु स्वभाविकै हो। विदेशिनु परेको कारणले मात्र देशको राजनीतिबाट कुनै पनि यूवा यूवति वन्चित हुन नपरोस् भनेर नेपालका प्रमुख राजनीतिक दलहरूले आफ्नो संगठन विदेशमा समेत विस्तार गरेका छन्। यसै अनुरूप नेपालको सब भन्दा पुरानो पार्टी नेपाली कांग्रेसले पनि जन सम्पर्क समिति मार्फत राष्ट्रियता, लोकतन्त्र र समाजवाद प्रति निष्ठावान नेपालीलाई आवद्ध गर्ने प्रयास गरेको पाईन्छ।
कतिपय देशमा बसेका नेपालीले त्यो देशले तोकेका आधारहरू पूरा गरेर त्यो देशको नागरिकता पनि लिएका हुन सक्छन्। यस्ता नेपालीहरूलाई नेपालको राजनीतिक दलको सदस्यता लिन सम्बन्धित विधानले मिल्ने देखिदैन। नेपाली कांग्रेसको विधानको दफा ४ (१) ले नेपाली नागरिकका लागि मात्र आफ्नो पार्टीको सदस्यता लिन पाउने गरी ब्यबस्था गरेको हुदा जन सम्पर्क समितिका सदस्यहरूको हकमा पनि त्यो ब्यबस्था लागू हुन्छ। त्यसैले अन्य देशको नागरिकता नलिएका नेपालीहरू यस समितिमा आवद्ध हुन सक्छन्। यसरी मुलुक भित्र रोजगारीका अवसरहरू र अध्ययनका अवसरहरू पाउन नसकेर विदेशिनु परेका नेपालीहरूले नेपालको राजनीतिमा सहभागी हुन पाउने ब्यबस्थाले नेपाल र नेपाली बीचको सम्बन्ध टुट्न नपाउने ब्यबस्था गरेको छ।
विदेशमा वस्ने नेपालीको हक हितका लागि समेत भनेर सरकारले आवासीय वा गैर आवासीय राजदूत पठाउने गर्छ तर यिनीहरू त्यो देशको राजधानीमा बसेर केही सरकारी सेवाहरू मात्र दिनुलाई आफ्नो उपस्थितिको ध्येय ठान्छन्।त्यसैले विदेशमा बस्ने नेपालीहरूको सुखदु:खमा साथ दिने भनेर गैर आवासीय नेपालीको संगठन पनि रहेको छ तर यो संगठन नेपालीको हक हितका लागि भन्दा उनीहरू नेता हुने उद्देश्यलाई मात्र केन्द्रित गरेका हुन्छन्। बरू यस्तो काममा बिभिन्न स्टेटमा बनाईएका नेपालीका संगठनले नेपालीको सुख दु:ख मा मात्र हैन नेपालको संस्कृतिको संरक्षण समेतमा सकारात्मक भूमिका खेलेका छन्।
नेपालीका यस्ता संगठनहरुले स्थानीय राजदूतावास र स्थानीय नेपालीहरू बीच सेतूको काम पनि गरेका हुन्छन्। यस अर्थमा यस्ता स्थानीय संगठनहरू बढी उपयोगी देखिएका छन्। राजनीतिक संगठनको रूपमा गठन भएका जन सम्पर्क समिति जस्ता संस्थाले आफ्ना सदस्यहरूलाई आफ्नो मातृ पार्टी संग जोड्ने कोशिस गर्छन्। तर जुन तवरबाट सेवा उपलब्ध गराउनु पर्ने हो, त्यो तवरबाट सेवा उपलब्ध गराउन यस्ता संस्था पनि सक्षम देखिएका छैनन्। यिनीहरूले चुनाव गराउन र सदस्यता रकम उठाउन मात्र आफ्नो काम ठानेका हुन्छन्। यी संस्थाहरू पार्टीको भातृ संस्था जस्ता देखिन्छन्। खासमा यिनीहरू पार्टी कै शाखा हुन न कि भातृ संस्था। पार्टीले पनि यी संस्थाहरूलाई आर्थिक साधनको श्रोत र विदेश बिभागको आतिथ्यताको माध्यमको रूपमा मात्र लिने गरेको पाईन्छ।
जुनबेला देश भित्र बहुदलीय राजनीतिक गतिविधी गर्न नपाईने अवस्था थियो त्यति बेलाको प्रजातान्त्रिक चौतारीको रूपमा काम गरेको जन सम्पर्क समितिलाई खुला परिवेशमा थप र नयां जिम्मेवारी विधानत: दिलाउनु पर्ने देखिन्छ। नेपालीहरू विदेशमा बसेका कारणले मात्र नेपाल सरकारबाट प्राप्त हुने सेवा सुविधामा भेदभाव गरिनु हुदैन। बरू यिनीहरूको सीप र आम्दानीलाई नेपालको विकासमा लगाउन बढी सहज र सरल बनाउनु पर्छ। नेपालको एयरपोर्टमा पुगे पछि निज संग गरिने ब्यबहार परिवारमय हुनु पर्छ। यस्ता कामको समन्वय यस्ता जन सम्पर्क समिति र गैर आवासीय नेपालीको संस्थाले गर्न सक्नु पर्छ। यसरी विदेशमा वसेर पनि नेपालको ममतालाई नजिकबाट अनुभूति गर्न सक्ने माध्यमको रूपमा यस्ता संस्थालाई कृयाशील गराउन सके यी संस्थाको स्थापनाको औचित्य रहन्छ।