थापाथलीको सुकुम्बासी बस्ती खाली गर्न प्रधानमन्त्रीको निर्देशन

khabarwave
१० बैशाख २०८३

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले थापाथली क्षेत्रको सुकुमबासी बस्ती खाली गर्न सुरक्षा प्रमुखहरूलाई निर्देशन दिएका छन्। बुधबार साँझ सुरक्षा निकायका प्रमुखहरूलाई सिंहदरबारमा बोलाएर प्रधानमन्त्रीले आउँदो शनिबार र आइतबार थापाथली क्षेत्रको सुकुम्बासी बस्ती हटाउन निर्देशन दिएका हुन्।
नेपाल प्रहरीका आईजीपी दान बहादुर कार्की, सशस्त्र प्रहरीका प्रमुख राजु अर्यालसहित सबै सुरक्षा निकायका उच्च सुरक्षा अधिकारी सिंहदरबार पुगेका थिए। थापाथली क्षेत्रको बागमती खोला किनारको सुकुम्बासी बस्ती खाली गराउन प्रधानमन्त्रीबाट निर्देशन प्राप्त भएको छलफलमा सहभागी सुरक्षा अधिकारीले बताएका छन्। यस विषयमा सुरक्षा अधिकारीहरूले काठमाडौँका प्रमुख जिल्ला अधिकारीसँग पनि छलफल गरेर बस्ती हटाउन सुरु गर्ने तयारी छ। बालेन काठमाडौँ महानगरको मेयर हुँदा नै काठमाडौँका खोला किनारका सुकुमबासी बस्ती हटाउने प्रयास गरेका थिए। त्यतिबेला सुकुम्बासीहरूले गरेको प्रतिवादका कारण सफल भएको थिएन। अहिले भने संघीय सरकारको नेतृत्वमै पुगेपछि बालेनले फेरि सार्वजनिक क्षेत्र अतिक्रमण गरेर बसेका बस्ती हटाउन सुरु गरेका हुन्। सरकारले देशैभरिबाट अतिक्रमित बस्ती हटाउने तयारी गरेको छ। त्यसको सुरुवात काठमाडौँ उपत्यकाबाट गर्न प्रधानमन्त्रीले निर्देशन दिएका हुन्।

Loading spinner