कठै हामीले चुनेका नेता !

khabarwave
८ पुष २०७७

कुनै पनि देशको विकासमा राजनीतिक चिन्तनको महत्वपूर्ण भूमिका हुन्छ। चिन्तन सैद्धान्तिक हुन्छ यसलाई प्राण दिन वा यसलाई जीवन दिन वा कृयाशील तुल्याउन एक सबल चिन्तकको आबश्यकता हुन्छ, त्यो चिन्तकलाई नेता वा राज नेता भनिन्छ। तर नेता एउटा विचार बोकेको ब्यक्ति हो भने राजनेता कुनै एउटा दल वा बिचार भन्दा माथि उठेर पूरा राज्य कै नेता हुने क्षमता राख्ने संस्था हो।

विश्वमा राजनीति गर्ने चिन्तन मुख्य रूपमा २ वटा छन्, ती मध्ये एउटाले नागरिकको स्वतन्त्रतालाई ध्यानमा राखी बहुलबादलाई सम्मान गर्दै बजारमुखी अर्थतन्त्रको प्रयोगमा निजी क्षेत्रको सहयोग र सहभागितामा देश विकासको कल्पना गरेको हुन्छ भने अर्को चिन्तनले नागरिकको स्वतन्त्रता , बहुलबाद र बहु बिचारलाई नियन्त्रण गर्दै निजी क्षेत्र र वजारमुखी अर्थतन्त्रको सट्टा राज्य नियन्त्रित अर्थ तन्त्रलाई देश विकासको माध्यमको रूपमा मान्यता दिएको पाईन्छ।यी दुई किसिमका ब्यबस्थालाई आफ्नो देश अनुकूल बनाएर कतै राष्ट्रपतीय,कतै प्रधानमन्त्रीय,कतै संबैधानिक राजतन्त्रात्मक वा कतै सकृय राष्ट्र प्रमुखको रूपमा राज्य सन्चालन हुदै आएको छ।

विश्वमा आएको विज्ञान प्रविधिको विकास र नागरिकहरूमा आएको चेतनाले राज्य नियन्त्रित अर्थ ब्यबस्थाको बिकल्प खोजिरहेको सन्दर्भमा ९० को दशकमा देखापरेको राजनीतिक परिवर्तनले प्रजातान्त्रिक वातावरणले आफ्नो आकार फैल्याउन थाल्यो र साम्यवादको सपना देख्ने र सो बाटोमा हिडेका देशहरूमा परिवर्तनका लहरहरू देखा पर्दै गए र जन चाहनामा आएको प्रजातान्त्रिक लहरलाई आत्मसाथ गर्नका लागि कतिपय साम्यवादी विचारका वाहक नेता र देशले रातारात आफ्नो अस्तित्वका लागि आफ्नो धारणामा बहुदलीयता र बजारमुखी अर्थ तन्त्रलाई समावेश गर्न थाले।

यस प्रकार नेपालमा पनि बहुदलीय जनवाद अंगीकार गर्दै कम्युनिष्टहरू प्रजातान्त्रिक धार समात्न थाले तर केही पुरातन धारका कम्युनिष्टहरू विश्वबाटै हराएको दर्शनलाई समात्न खोजेर जंगल तिर लागे तर विश्वबाट हराउदै गएको कम्युनिजम् जंगलमा कहाॅं पाईन्थ्यो र ! यसैले करीब दश वर्षको अलमलबाट आफू शंकटमा परे पछि आफ्नो अस्तित्व जोगाउन त्यही प्रजातान्त्रिक धार बोकेको कम्युनिष्ट संग यी जडवादी कम्युनिष्टहरू मिसिएर संसदीय चुनाव लडेर हाल संसदमा बलियो उपस्थितिमा यिनीहरू रहेको अबस्था छ।

गरीबी र अभावलाई संबोधन गर्छु भनेर हावाका गफ लगाएर जनमत आफ्नो पक्षमा पार्न सफल नेकपाको सरकार संग अहिले देखिएको अभाव भनेको नेत्तृत्वको हो। यिनीहरूले चस्मा लगाएका छन् साम्यवादको तर वातावरण छ प्रजातान्त्रिक। यिनीहरू अहिले बिना भिजनका जमात जस्ता देखिएका छन्। नाममा यिनीहरू कम्युनिष्ट तर ब्यबहारमा भ्रष्टाचार, नातावाद, कृपावादको पर्याय बनेर देशलाई छोटो समयमा अधोगति तिर धकेली रहेका छन्।

अर्को तिर प्रजातान्त्रिक धार बोकेको राजनीतिक दल पनि नेका को नामबाट अस्तित्वमा छ तर यसले संसदीय ब्यबस्थालाई दुरूपयोग गर्ने नक्कली प्रजातान्त्रिक शक्तिलाई समय मै पहिचान गर्न नसकेको मात्रै हैन विगतमा अनुचित सहकार्यका नाममा आफ्ना मूल्य र मान्यतालाई नै बिर्सेर यिनीहरू संगै लहसिन पुग्दा आफ्नै अस्तित्व शंकटमा पारेको अनुभूति हुदैछ।

अहिले सत्तामा रहेका नेकपाका नेता समस्त राष्ट्र वा समस्त नेपालीको नेत्तृत्व लिन त परैको कुरा आफ्नै पार्टीको पनि नेत्तृत्व लिन नसकेर आफ्नो समूह वा गुटलाई मात्र बोकेर हिडेको आरोप खप्न बाध्य छन्।

यो पार्टीका नेताहरू यो वा त्यो भनेर छुट्याउन मिल्ने देखिदैन। किनभने यिनीहरूको स्कुलिंग एउटै हो। अहिले यिनीहरूको विचारमा स्खलन आएको भनेर होला सि जि पिंग को स्कुलबाट पुन: प्रशिक्षित हुदै छन्। अब यिनीहरू कता जाने हुन भोलीका दिनले बताउला तर पनि यिनीहरूमा लोपोन्मुख कम्युनिजम् को ह्याॅंग ओभरले छोड्न नसकेको प्रतीत हुदैछ। जुन संसदलाई खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने स्थलको रूपमा मानेका हुन् त्यसैमा बसेर शासन गर्न यिनीहरूलाई कम्ता गार्हो परेको छैन।

यिनका नेताले आफूलाई अनुकूल हुदा संसदको उपयोग गर्ने र अनुकूल नपर्दा संसद बन्द गरेर अध्यादेशबाट मुलुक चलाउने धृष्टता गरेका छन्। यिनीहरूको गन्तब्य र बाटो भन्दा अहिलेको ब्यबस्था र संविधान बिलकूल फरक रहेकोले यिनीहरूको गति शून्य छ।यसरी शून्य गतिशिलताको परिणाम के हुन्छ , सहजै अनुमान गर्न सकिने विषय हो।

जसरी मरेको सिनोमा गिद्धहरूको भीड लाग्छ त्यसरी नै देशको साधन र श्रोत लुटन मात्र यिनीहरूको भिड लाग्ने गरेको छ। देशमा देखा परेको संकट र देश विकासका विभिन्न पक्षमा एक अर्काको टाउकोमा दोष थोपरेर उम्कने प्रयास यिनीहरूको रहेको छ।

राष्ट्रको संरक्षक भै रहनु पर्ने पदलाई समेत बेला बेलामा बिबादमा ल्याउने, सो पदमा रहने ब्यक्ति स्वयंले कुनै विवेक प्रयोग गर्न नसक्ने जस्ता विसंगति देखा परेका छन्।
त्यसै गरी राज्यलाई नियन्त्रण र सन्तुलनमा राख्न खडा भएका अंगहरू समेत कार्यपालिकाका छायाॅंका रूपमा देख्नु परेको छ भने स्थायी संयन्त्रका रूपमा रहेको राज्यको कर्मचारी तन्त्रलाई समेत दुरूपयोग गरेर राज्यलाई तहस नहस पारेको देखिदै छ।

विदेशीको चलखेललाई आफ्नो सत्ता लम्याउने नाममा दुरूपयोग गरी कुटनीतिक सन्तुलनलाई खल्बल्याएको अवस्था समेत विद्यमान छ अहिले। देशको अर्थतन्त्र घाटामा छ, संघीयताका कारण राज्यको ढुकुटीबाट पालिनेको संख्याले सीमित राजस्वको ८५% ओगटेको छ।

विकासको नाममा गरिने खर्च नाम मात्रको छ। विदेशी सहयोग लिन दाताहरूको विश्वास छैन, नागरिक संग जन्म दर्ता र मृत्यु दर्ता बाट उठाएको रकमले साधारण खर्च समेत थेग्न गार्हो छ। नेतालाई मात्र नभएर यिनका श्रीमती,श्रीमान, छोराछोरी, ईष्टमित्र समेतलाई राज्यले पालिदिनु पर्ने अवस्था छ। यिनको स्वास्थोपचार, सवारी साधन, घरभाडा समेतमा राज्यको कोषको दुरूपयोग भएको छ। यस्तो स्थितिमा नेपाल असफल राष्ट्रको पंक्तिमा दरिन धेरै समय कुर्नु पर्दैन।

अन्त्यमा गतिला नेता परे भने देश ऊभो लाग्न धेरै समय लाग्दैन भन्ने कुरा मलेसियाका महाथिर मोहम्मदलाई हेरे पुग्छ।यस किसिमका नेता विश्वका अन्य देशमा पनि थिए र छन् जसलाई त्यहाॅंका जनताले आजीवन सम्झन्छन् तर दुर्भाग्य नेपालीको।

कुनै पनि मुलुकको राजनीतिक ब्यबस्था त्यो देश विकासको लागि मार्गदर्शक हो तर ब्यबस्था जतिबटा फेरे पनि देशको विकास राजनीतिक ब्यबस्थालाई संचालन गर्ने गतिलो राजनेताको भिजनले दिने रहेछ।नेपालको राजनीतिक ईतिहाॅंस हेर्दा यस किसिमका राजनेताको कोटीमा बिपीलाई राख्न सकिन्छ तर त्यति बेलाको राजतन्त्रले आफ्नो भूमिका छायाॅंमा पर्ने डरले करीब १८ महिनाको शासनकाल मै यिनलाई राजकाज मुद्दामा थुनामा राखेर तानाशाह लाद्ने कोशिस गर्यो। त्यस पछिका दिनमा देखा परेका जुन सुकै नेताले आंफूलाई राजनेताको कोटीमा उभ्याउन सकेनन् जुन हाम्रो दुर्भाग्य हो।

Loading spinner