धार्मिक समानताले बढाउँछ सद्भाव

khabarwave
१० पुष २०७९
  • सूर्य बल तामाङ

प्रत्येक वर्षको डिसेम्बर २५ का दिन विश्वभरका ईसाई धर्मालम्बीहरुले क्रिसमस मनाउँदै आएका छन् । ईसाईहरुको सबैभन्दा ठूलो यो पर्व विविध कार्यक्रमका साथ धुमधामका साथ मनाउने गरिन्छ । यो पर्व केवल ईसाईहरुले मात्रै नभएर गैर ईसाईहरुले समेत विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु गरी मनाउँदै आएका छन् । यो अन्तरधर्मको सम्मानमा देखिएको सद्भाव हो । यो पर्वसँग जोडिने विभिन्न किसिमका चिह्न एवं संकेतहरुका कारण पनि यो पर्व सबैको साझा बन्न पुगेको हो ।
नेपाल भौगोलिक हिसाबले विश्व मानचित्रमा सानो देखिए पनि बहुजाति, बहुसांस्कृतिक र बहुधार्मिक आस्था केन्द्रका रूपमा विशाल छ । भौगोलिक बनावट, वातावरण र संस्कृतिमा विविधता यहाँको विशेषता हो । यस्तै विशेषताले गर्दा नेपाल विश्वमा धार्मिक र पर्यटकीय हिसाबले महत्वपूर्ण क्षेत्रका रूपमा परिचित रहँदै आएको छ । अन्तरधर्मको सम्मान नेपाली समाजको अर्को विशेषता र परिचायक हो । नेपाली संस्कृति भन्नेबित्तिकै भेषभूषा, रीतिरिवाज, धार्मिक सद्भाव, पर्व, खानपान, जीवनशैली पर्छन् । सामाजिक रीतिरिवाज र संस्कृति धर्मसँग जोडिएको हुन्छ ।
जननिर्वाचित संविधानसभाबाट निर्मित नेपालको संविधान–२०७२ ले नेपाललाई बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक तथा भौगोलिक विविधतायुक्त मात्र नभनी धर्मनिरपेक्ष राज्य घोषणा गरेको छ । संविधानले धर्मनिरपेक्षताबारे यसरी स्पष्ट पारेको छ– ‘सनातनदेखि चलिआएको धर्म, संस्कृतिको संरक्षण लगायत धार्मिक, सांस्कृतिक स्वतन्त्रता सम्झनुपर्छ ।’ सनातन भनेको शाश्वत या सधैं कायम रहेको भन्ने बुझिन्छ । सनातन धर्म भन्ने बित्तिकै धेरैले हिन्दू धर्म सम्झन्छन् । तर, सनातन धर्म भनेको प्राचीन कालदेखि निरन्तर प्रयोगमा रहँदै आएका सबै धर्म हुन् । नेपालको सन्दर्भमा हिन्दू, किराँत, बौद्ध, इसाई धर्म नै सनातन धर्म हुन् । धर्मनिरपेक्षताले सनातनदेखि चलिआएका सबै धर्म–संस्कृतिलाई संरक्षणको वाचा गर्दै नेपालका सबै धर्म–संस्कृतिलाई धार्मिक, सांस्कृतिक स्वतन्त्रता दिएको छ । संविधानअनुसार धर्ममा आस्था राख्ने धर्मनिरपेक्ष नेपालका प्रत्येक व्यक्तिलाई आफ्नो आस्था अनुसार धर्मको अवलम्बन, अभ्यास, संरक्षण र प्रवद्र्धन गर्ने स्वतन्त्रता रहन्छ । यो उद्देश्यका लागि प्रत्येक धार्मिक सम्प्रदायलाई धार्मिक स्थल तथा धार्मिक गुठी सञ्चालन र संरक्षण गर्ने हक पनि दिइएको छ । यो भन्दैमा धार्मिक स्वतन्त्रताको नाममा कसैले सार्वजनिक शान्ति भंग गर्ने क्रियाकलाप गर्न वा गराउन पाइँदैन । कसैले कसैलाई लोभ, लालच, प्रलोभन या दबावमा आर्थिक लाभको कारण देखाई धर्मान्तरण गर्न तथा धर्ममा खलल पर्ने काम कानून बमोजिम दण्डनीय रहेको छ ।
नेपालमा विविध धर्म, सम्प्रदाय एउटै बगैंचामा फुलेका फुल जस्ता सुन्दर भएर बसेका छन् । धर्म, संस्कृतिका नाममा प्रचलित संस्कारहरू जातजाति, छुवाछुत, भेदभावपूर्ण व्यवहार, महिला तथा बालबालिकामाथिको विभेदको अन्त्य नै सबै धर्मको उद्देश्य हो । नेपालको मौलिक विशेषता भनेकै यस्तै विविधताहरुबीचमा देखिएको एकता हो । विश्वमै धार्मिक सहिष्णुता कायम भएको देश भन्नेबित्तिकै सबैको मानसपटलमा नेपालको नाम अगाडि आउँछ । सामाजिक सद्भाव अभिवृद्धिका लागि धार्मिक सहिष्णुता प्रमुख माध्यम बन्दै आएको छ । यसलाई जीवन्त राख्ने काम यहाँ रहेका धार्मिक सम्प्रदायले गर्दै आएका छन् । कुनै पनि धर्म र संस्कारबिना नागरिक जीवन्त रहन सक्दैन ।
करिब ४ सय वर्षअघिदेखि नेपालमा क्रिसमस मनाउन थालिएको इतिहास भेटिन्छ भने विश्व इतिहासमा रोममा इसा पूर्व ३५४ देखि यो पर्व मनाउन थालिएको हो । उपहार आदानप्रदान, मण्डलीहरुमा सेवा, पारिवारिक तथा सामाजिक जमघट, क्रिसमस सजावट, प्रार्थना, क्रिसमसक्यारोल, संगीतका माध्यमबाट यो पर्व मनाउने गरिन्छ । क्रिसमसले आपसी सद्भाव, एकता र भातृत्व सम्बन्धको विकासलाई पछिल्लो समयमा अझै प्रगाढ बनाउँदै लगेको छ । नेपाल धर्म निरपेक्ष राष्ट्र घोषित भएपछि सार्वजनिक रुपमा समेत क्रिसमस मनाउन थालिएको हो । यसले धार्मिक सहिष्णुतामा वृद्धि गर्नुका साथै अन्तरधर्मावलम्बीहरूबीच एकता कायम गर्न मजबुत भूमिका खेल्दै आएको छ ।
राज्यको कुनै धर्म हुँदैन र हुनुहुँदैन । राज्यले कुनै एक धर्मलाई मात्र प्राथमिकता र प्रवद्र्धन हुने किसिमको मात्रै कार्यक्रम ल्याउनु पनि हुँदैन । सबै धर्मप्रति राज्यको समान दृष्टिकोण र व्यवहार हुनु नै धार्मिक समानता हो । धर्म निरपेक्षता भन्दा पनि धार्मिक समानताले मात्रै सबै धर्मावलम्बीहरूबीचको सम्बन्ध प्रगाढ बनाउँछ । धार्मिक समानताका नाममा धार्मिक अराजकता फैलाउने छूट भने कसैलाई पनि छैन, र दिइनु पनि हुँदैन ।
संघीय संरचना अंगिकार गरेपछि तीन तहका सरकार क्रियाशील छन् । तीनै तहका सरकारले अन्य विषयलाई जोड दिए जस्तै आ–आफ्नो क्षेत्रभित्र मनाइने धर्म संस्कृतिको जगेर्ना र प्रवद्र्धन गर्ने किसिमका कार्यक्रम प्रारम्भिक रुपमा थालिएको छ । यसलाई अझै विस्तार गर्न जरुरी छ । धार्मिक सहिष्णुता कायम राख्दै यसको प्रवद्र्धन गर्न सके नेपाललाई धार्मिक पर्यटकीय क्षेत्र बनाउन सकिन्छ । यसतर्फ सरकार, राजनीतिक दल लगायत सबै धर्म सम्प्रदायका अगुवाहरुको ध्यान जान जरुरी छ । जननिर्वाचित संसद स्थापित भइसकेको छ । मंसिर ४ गते सम्पन्न निर्वाचनपश्चात् नयाँ जनप्रतिनिधिहरु चुनिएका छन् । स्थानीय तह र प्रदेशमा पनि नयाँ प्रतिनिधि आइसकेको अवस्थामा नयाँ सोचको विकास हुन जरुरी छ ।
अन्त्यमा हाम्रो प्रार्थना र सदिक्षा छ, देश समृद्धशाली बनोस्, शान्ति छाओस्, सारा नेपालीहरुकाबीचमा सद्भाव, सहिष्णुताको विकास होस् परमेश्वरसँग हाम्रो यही निरन्तर प्रार्थना छ ।

(लेखक २०१७ सालमा स्थापित भएको मण्डलीहरुको जेष्ठ छाता संगती नेपाल राष्ट्रिय मण्डली सङ्गतिका अध्यक्ष हुनुहुन्छ ।)

Loading spinner