राजनीतिक विकल्पको खोजी

khabarwave
१ पुष २०७७

नेपालको राजनीति अहिले तरल अवस्थामा पुगेको छ। यसरी राजनीतिमा तरलता आउनुको पछाडि अरू कोही नभएर स्वयं सरकार र सरकार बनाएको पार्टी नेकपा र संसदमा यसको झण्डै दुई तिहाई उपस्थिति प्रमुख कारण हो। सरकार किन कारण हो भने यसका काम गराई अपारदर्शी र जनताको हितमा काम गर्न नसक्नु हो।करीव आफ्नो कार्यकालको आधा समय बिति सक्दा पनि सरकारले जन हितका नाममा सिन्को सम्म भाॅंच्न त सकेन नै, त्यस माथि जे गर्न खोज्दै छ सबै भ्रष्टाचार उन्मुख काम मात्रै गरिरहेको आभास भै रहेको छ।

सरकार विद्यमान ऐन ,कानून अनुसार चल्नु पर्नेमा संसदलाई जानी जानी बन्द गरेर अध्यादेशका आधारमा मुलुक चलाउन खोजिरहेको छ। त्यसै गरी सरकारले संबैधानिक निकायहरूमा आफनो रूची अनुसारका पदाधिकारीहरू नियुक्ति गरेर विपक्षीहरूलाई तह लगाउन कोशिस गरेको छनक दिई रहेको छ। सरकार न त संविधान, न त प्रचलित कानूनको अधिनमा रहेर कानूनी शासनको प्रत्याभूति दिएको छ न त आफ्नो पार्टीको निर्देशन सुन्ने कोशिस गरीरहेको छ। यसले त “ I am the monarch of all” भन्ने भनाइलाई चरीत्रार्थ गर्दै हिडी रहेको छ।

यसरी हिडी रहेको सरकारलाई नियन्त्रण गर्न यसलाई सरकारमा पुर्याउने पार्टी नेकपा नतमस्तक भएर रहेको छ भने प्रतिपक्षी लगायतका पार्टीहरू पनि तमासे भएर बसेको पाईन्छ। हाल संसद बन्द भएको अबस्था भए पनि विशेष अधिवेशन बोलाएर संसदलाई ट्र्याकमा ल्याउन सकिन्थ्यो, धेरै कुराहरू संसदबाट हल गराउन सकिन्थ्यो तर यस तर्फ कसैको रूची देखिएको पाईएन।

त्यसै गरी सरकार बनाएको पार्टीले जनसरोकारका विषय तिर भन्दा सरकारको बिरोध पार्टीका कार्यकर्ता र आफन्तहरूलाई भाग बण्डामा राजनीतिक नियुक्ति दिन दिलाउन र कुर्सीको भाग बण्डा गर्न केन्द्रित गरेको छ। सरकार भनेको समस्त मुलुकको र जनताको नभएर, नेकपाको मात्र हो, यसले नेकपाका कार्यकर्ताको मात्र काम गर्नु पर्छ भन्नेमा केन्द्रित छ नेकपा। फेरि चुनाव जित्न मात्र भौतिक एकता गरेका एमाले र माओवादीको गन्तब्य एउटै हैन र यिनीहरूको मार्ग र स्कूल पनि एउटै हैन।

यस्ता साधन र साध्य फरक हुनेहरूले जम्मा गरेको मतले प्रजातन्त्रको हिमायती पार्टी अल्पमतमा पर्नाले नेपालमा प्रजातन्त्र छायामा पर्ने वातावरण बन्यो। यसले गर्दा संसदमा प्रजातान्त्रिक आवाजको स्वर सानो हुन पुग्यो। सरकारको चाल हाॅंस न बकुल्लको जस्तो भयो र प्रतिपक्ष पनि मूक दर्शक हुनु पर्ने स्थितिमा गयो।

यस अबस्थामा न सरकारबाट जनताले केही आशा गर्न सकेका छन् न त प्रतिपक्षले आफ्नो आबाज मुखरित गर्न सक्छ भन्ने आश जनतामा छ ।त्यस कारण जनताले यस्तो अवस्था आउनुमा कतै हालको राजनीतिक ब्यबस्था त हैन भनी शंका गर्न थालेको आभास हुदै छ। सरकार बनाएको पार्टी पार्टी कार्यालयमा, सरकार बालुवाटारमा र प्रतिपक्ष खोज्नु पर्ने अवस्थामा हुदा देशमा राजनीतिक रिक्तता बढेको देखिदैछ।

यो राजनीतिक रिक्ततामा हाल पुरातनवादीहरू , उग्र दक्षिणवादीहरू र उग्र वामपन्थीहरूले अभ्यास गरी रहेको पाईएको छ। सत्ता र प्रतिपक्षका केही कार्यकर्ताहरू पनि यी मध्ये कुनै न कुनै कित्ता संग एकाकार हुदै गएको प्रतीत पनि हुदै गएको पाईएको छ।

यसरी हुन गएको राजनीतिक शून्यतामा उत्तर, दक्षिण र पश्चिमाहरूले पनि आफ्नो रूची बाक्लो बनाउदै गएका छन्। यसरी बन्दै गएको वातावरणमा देश भित्रको सवल शक्ति समेत प्रभावमा पर्न सक्ने सम्भावना बलियो हुदै गएको छ। यसरी सबै तत्व र शक्ति एक भएको खण्डमा नेपालमा एक बैकल्पिक शक्तिको उदय भै सो शक्तिले हालको ब्यबस्थाको बिकल्प नदेला भन्न सकिदैन।

Loading spinner