राष्ट्रपतिसमक्ष प्रतिवेदन पेस

khabarwave
२९ मंसिर २०७९

काठमाडौं । निर्वाचन आयोगले मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनको प्रतिवेदन राष्ट्रपति विद्या भण्डारीसमक्ष पेस गरेको छ। प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिक प्रणालीतर्फको प्रतिवेदन निर्वाचन आयोगले बिहीबार राष्ट्रपति भण्डारीसमक्ष पेस गरेको हो। राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राष्ट्रपति भण्डारीलाई प्रतिवेदन पेस गरेका हुन्। प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन परिणामसहितको प्रतिवेदन अन्तिम नतिजा घोषणा भएको सात दिनभित्र राष्ट्रपतिसमक्ष पेस गर्नुपर्ने व्यवस्था छ।
निर्वाचन आयोगले बुधबार निर्वाचनको अन्तिम नतिजा सार्वजनिक गरेको थियो। प्रतिवेदन बुझ्दै राष्ट्रपति भण्डारीले लोकतन्त्रको सुदृढीकरणका लागि निर्वाचन महत्वपूर्ण रहेको बताएकी छन्। प्रतिनिधिसभा र प्रदेससभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा उनले खुशी व्यक्त गरेकी थिइन्। कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त थपलियाले स्वच्छ र भयरहीत वातावरणमा आमनिर्वाचन सम्पन्न भएको बताएका थिए।
यो निर्वाचनबाट प्रतिनिधिसभाका २७५ र प्रदेससभामा ५५० गरी ८२५ जना निर्वाचित भएका छन्। प्रतिनिधिसभातर्फ पुरुष १८४ जना (६६.९० प्रतिशत) र महिला ९१ जना (३३.१ प्रतिशत) निर्वाचित भएका छन्। यस्तै प्रदेससभातर्फ पुरुष ३५० जना (६३.६४ प्रतिशत) र महिला २०० जना (३६.३६ प्रतिशत) निर्वाचित भएका छन्। प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि ८६ वटा राजनीतिक दल दर्ता भएकोमा प्रत्यक्षतर्फ ६१ र समानुपातिकतर्फ ४७ वटा राजनीतिक दल सहभागी भएका थिए।
प्रतिनिधिसभाको प्रत्यक्षतर्फ महिला २२५ र पुरुष २ हजार १८६ गरी २ हजार ४११ जनाको अन्तिम उम्मेदवारी कायम भएको थियो। त्यस्तै समानुपातिक निर्वाचन प्रणालीतर्फ महिला १ हजार १८७ र पुरुष १ हजार १२ गरी २ हजार १९९ जना उम्मेदवारको अन्तिम बन्दसूची कायम गरिएको थियो।
प्रदेससभाको प्रत्यक्षतर्फ महिला २८०, पुरुष २ हजार ९४३ र अन्य १ गरी ३ हजार २२४ जनाको अन्तिम उम्मेदवारी कायम भएको थियो। यस्तै समानुपातिकतर्फ महिला १ हजार ५११ र पुरुष २ हजार १९७ गरी कुल ३ हजार ७०८ जना उम्मेदवारको अन्तिम बन्दसूची कायम गरिएको थियो।
प्रतिनिधिसभा तथा प्रदेससभा सदस्यको प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीका लागि कूल उम्मेदवारको संख्या ११ हजार ५४२ रहेको थियो। निर्वाचनका लागि महिला ८८ लाख ४७ हजार ५७९, पुरुष ९१ लाख ४० हजार ८०६ र अन्य १८५ गरी कुल १ करोड ७९ लाख ८८ हजार ५७० मतदाता कायम रहेका थिए। प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फ १ करोड १० लाख ४७ हजार ३४ (६१.४१ प्रतिशत) मतदान भएकोमा १ करोड ४ लाख ८७ हजार ९५८ मत सदर भएको थियो। प्रत्यक्षतर्फ ५।०६ प्रतिशत मत बदर भएको निर्वाचन आयोगले जनाएको छ।
त्यस्तै यही सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ १ करोड ११ लाख २६ हजार २२६ (६१.८५ प्रतिशत) मतदान भएकोमा १ करोड ५ लाख ६० हजार ८२ मत सदर भइ ५.०९ प्रतिशत बदर भएको छ। प्रदेससभाको प्रत्यक्षतर्फ १ करोड १० लाख ३४ हजार ५ सय (६१.३६ प्रतिशत) मतदान भएको थियो। जसमध्ये १ करोड ५ लाख ८५ हजार ३ सय मत सदर भएर ४.०७ प्रतिशत मत बदर भएको थियो।
यस्तै समानुपातिकतर्फ १ करोड १० लाख २८ हजार ३७६ (६१.३१ प्रतिशत) मतदान भएकोमा १ करोड ३ लाख ६ हजार ११ मत सदर भइ ६.५५ प्रतिशत मत बदर भएको आयोगले जनाएको छ। निर्वाचनको अन्तिम नतिजा आएको ३० दिनभित्र राष्ट्रपतिले संसद बैठक आह्वान गर्ने संवैधानिक व्यवस्था छ। संसदको बैठक आह्वान भएपछि सरकार गठनको प्रक्रिया अगाडि बढनेछ।

Loading spinner