नेपालमा सवारी दुर्घटना र रोकथामका उपायहरू

khabarwave
२५ मंसिर २०७७

आज नेपालका टेलिभिजनका बिभिन्न च्यानल तिर आंखा डुलाउदै जाॅंदा जनता टेलिभिजनको सडक दुर्घटना सम्बन्धी समाचारले ध्यान आकर्षण गर्यो। हुन त नेपालमा हरेक दिन भने जस्तो सडक दुर्घटना सम्बन्धी समाचार र त्यसबाट भएका दर्दनाक घटनाहरू सुन्न र हेर्न सकिन्छ तर पनि चाडपर्व र बर्षाद्का बेला यस्ता समाचारहरूले अखवारका पाना भरिने गर्छन् तर सडकमा भै रहेका यस्ता दुर्घटनाहरू अब त जुनसुकै समय र अबधिमा पनि समाचार बन्न थाले। २०१६ को तथ्याॅंक अनुसार नेपालमा करीब २७,००० किमी सडकमा करीब २० लाख सवारी साधनहरू गुड्छन्।

सडक दुर्घटनाको तथ्याॅंक हेर्ने हो भने आर्थिक वर्ष २०१७/१८मा १०,९६५ वटा घटनामा ४,१४४ जना सख्त घाईते र २,५४१ जनाको मृत्यु भएको पाईन्छ।यसरी हाल दैनिक ७ जना भन्दा बढी ब्यक्ति सडक दुर्घटनाका शिकार भएको पाईन्छ। यसरी दैनन्दिन यसको संख्या डरलाग्दो तवरवाट बृद्धी भै रहेको पाईन्छ जुन हालको कोरोना बाट हुने मृत्यु भन्दा निकै भयाभह रहने गरेको छ। नेपालमा हुने सडक दुर्घटनाका कारणहरू हाल सम्म पत्ता नलागेको भन्न मिल्दैन तर पनि कारणहरूको निदान संगै यिनीहरूको संबोधन हुन सकेको देखिएन।संबोधन भएको भए यसरी हुने दुर्घटनामा अबश्य पनि कमी आउने थियो तर त्यसो भएन।

नेपालमा सडक दुर्घटना कारणहरू:- (१)तीव्र गति (Over Speeding)- नेपालका पिच सडकमा औसत रूपमा ४० किमी/घण्टाको गति तोकिएको छ तर यसको अनुगमन प्रभावकारी तवरले भएको पाईदैन। सवारी चालकहरू आफूलाई मन परेको ठाउमा आवश्यक भन्दा बढी समय खर्च गर्छन् र त्यो बसेको समय पूर्ति गर्न बाॅंकि ठाउमा तीब्र गतिमा सवारी चलाउछन् जुन जोखिम हुन्छ। त्यसरी नै कच्ची सडकमा १५/२० किमी प्रति घण्टाका दरले कुदाउनु पर्ने साधन सो भन्दा बढी गतिमा चलाएको पाईन्छ जुन दुर्घटनाको कारण बन्दछ।

(२) क्षमता भन्दा बढी यात्रु(Over passengers) नेपालमा सिट क्षमता भन्दा बढी यात्रु राखेर यात्रुबाहक बसहरू सन्चालन हुने गर्छन्। चाड पर्वका अवसरमा त यस्ता घटना सामान्य मानिन्छन्। यसरी बस भित्र कोचाकोच गरेर मात्र नपुगेर बसका छतमा समेत बस नै छोपिने गरी यात्रु राखिन्छ। यसरी बढी यात्रु राख्नु स्वयं यात्रुका लागि पनि अस्वस्थकर हुदै हो त्यस माथि पनि बसको भारवहन क्षमतालाई नै च्यालेन्ज हुने गरी यात्रु राख्नाले दुर्घटनालाई थप बल पुग्ने स्पस्टै छ। त्यसैले यसरी सिट भन्दा बढी यात्रु राख्नु आफैमा जोखिम मोल्नु हो।

(३)मादक पदार्थ सेवन (Drunken Driving) मादक पदार्थ सेवन गरे पछि त्यसको अशर रगतमा हुदै दिमाग सम्म पुग्छ र सोच्ने र अन्दाज गर्ने शक्तिलाई अशर पार्छ। सवारी चालकहरूले बढी संयमित भएर सवारी साधन चलाउनु पर्छ तर यदि मादक पदार्थ सेवन गरेर गाडी चलाएमा निजले संयमता त गुमाउछ नै त्यस माथि निजले गलत निर्णय गर्न पुग्छ र दुर्घटना हुन पुग्छ। नेपालमा सडक को निश्चित दूरीमा हुने होटल,रेष्टुरेन्टमा खुल्लम् खुल्ला स्थानीय रक्सी सहजै पाईन्छ जहाॅं चालकहरूले छोटो समयमा हतार हतारमा रक्सी पिएर गाडी चलाउछन्। फेरि मादक पदार्थको अशर कम पार्न रक्सी पिउने अबधी लामो हुनु पर्छ तर चालकहरूले हतार हतार मा पिउने हुदा यसले झन् अशर गर्छ र दुर्घटना हुन पुग्छ।

(४) अन्य चालक संग प्रतिस्पर्धा(Unfair Competition) नेपालमा बस स्टेशनबाट छुटेर गन्तब्यमा पुगेर मात्र रोकिने गाडी भेटाउन मुस्किल हुन्छ। बीचमा चढाएका यात्रुहरू संग भाडा उठाउने तर टिकट नदिने गर्नाले सो रकम कण्डक्टर र चालकले बाॅंडेर लिन पाउछन्। यसैका लागि अगाडिको गाडीमा चढ्न सक्ने यात्रुलाई आफ्नो गाडीमा चढाउन पाईने हुदा अगाडिको गाडीलाई उछिन्न खोज्छन् जसका कारण दुर्घटना हुन पुग्छ।

(५) सडक संकेत नहुनु वा प्रभावकारी नहुनु(Lack of Traffic lights and signs) शहर बजारमा समेत सडक बत्तीहरू राख्न नसकिरहेको अबस्थामा ग्रामीण सडकहरू जस्ले सवारी साधनलाई निर्धारित गतिमा गुड्न सहयोग गर्छन, तिनिहरूको ब्यस्थापन गर्न सकिएको छैन। शहर बजारमा त सीमित रूपमा भए पनि ट्राफिक प्रहरी राखिएको हुन्छ तर ग्रामीण सडकमा भने प्रहरी जनशक्तिको सर्बथा अभाब रहन्छ। सडक दुर्घटना कम गराउन राखिने सडक संकेतको कमीले दुर्घटना निम्त्याउछ।

(६) सरक्षा कवचहरू प्रयोग नगर्नु( Not Using safety measures) गाडीमा राखिने सुरक्षा साधनहरूको प्रयोगले अबश्य पनि दुर्घटनाबाट हुने क्षति घटाउछ। तर चालक र यात्रुले सिट बेल्ट नलगाउने र मोटर साईकल चालक र यात्रुले हेलमेट नलगाउदा दुर्घटना हुन सक्छ।

(७) पुराना सवारी साधनको प्रयोग( Use of expired Vehicles) नेपालका अधिकाॅंश ग्रामिण सडक र कतिपय जिल्ला सदरमुकाम सम्म चल्ने गाडीहरू प्राय: सेकेण्ड वा थर्ड ह्याण्डेड हुन्छन्। यिनीहरूका ईन्जीन र बडी कमजोर हुन्छन्।यस्ता सडकमा चल्ने गाडीको संख्या कम हुने हुदा यात्रुको चाप बढी हुन्छ। थोत्रा गाडी र बढी यात्रु आफैमा दुर्घटनाका कारण हुन्छन्।

(८) सिकारू चालक( Learner Drivers) नेपालमा रोजगारीको क्षेत्रमा यातायात क्षेत्रको भूमिका महत्वपूर्ण छ। बिद्यालय छोडेका र घरबाट हेपिएका युवाहरूको रोजगारीको क्षेत्र यही ब्यबसायमा केन्द्रित छ। सहयोगीको रूपमा काम गर्दा गर्दै सवारी चालक हुनु यिनीहरूको उद्देश्य हो। यसैले यिनीहरूको तालीम स्थल पनि यो क्षेत्र हुन्छ। यसरी सिक्ने क्रममा यिनीहरूले चलाएका गाडीहरू दुर्घटनामा पर्न सक्छन्।

(९) साॅंघुरो बाटो र घुम्तीहरू(Narrow Roads and Sharp modes) नेपालको ८३% भू -भाग पहाडी छ। यस्तो धरातलीय स्वरूपमा सडक बनाउनु गार्हो हुन्छ तर पनि विकासको मेरूदण्डको रूपमा रहेको सडकमा ग्रामीण जनसंख्याको पहुच पुर्याउनु सरकारको दायित्व हो।यसकारण पहाडी राजमार्गहरू प्राय: साॅंघुरा र घुम्तीयुक्त छन्। यस्ता सडकहरूआफैमा जोखिम युक्त हुन्छन्। यिनै साॅंघुरा र घुम्तीयुक्त सडकका कारण भएका दुर्घटनाबाट बर्षेनी ठूलो धनजनको क्षति हुने गरेको छ।

सडक दुर्घटना रोकथामका उपायहरू

(१)अनुगमन तथा निरीक्षण कार्यलाई प्रभावकारी बनाउनु सवारी दुर्घटना कम गराउन हाल विद्यमान नीति, नियम र निर्देशनहरू पालना भए नभएको अनुगमन तथा निरीक्षण कार्य प्रभावकारी हुन सकेको पाईदैन। यसको कारण कार्यान्वयन र अनुगमनमा एउटै निकाय नेपाल प्रहरी हुनु हो। यसको निम्ति यातायात ब्यबस्था कार्यालयहरुलाई अनुगमनमा सक्रीय तुल्याउनु पर्छ। क्षमता भन्दा बढी यात्रु बोकेका, तीब्र गतिमा चलाएका, मादक पदार्थ पिएर गाडी चलाएका, ट्राफिक नियम उल्लंघन गरेका, पुराना सवारी साधन प्रयोग गरेका, सुरक्षा कवच प्रयोग नगरेका, विना लाईसेन्स गाडी चलाएको पाईएमा ठाऊॅंको ठाॅंऊ कारवाही गर्ने ब्यबस्थालाई प्रभावकारी बनाउन सके वर्तमान दुर्घटनाको दर निश्चय पनि घटाउन सकिन्छ।

(२)पुराना सवारी साधन हटाउने हाल ग्रामीण क्षेत्र तिर संचालन हुने यात्रुवाहक सवारी साधन निकै पुराना र जीर्ण छन् जसका कारणले सवारी दुर्घटना हुन पुगेको छ। निर्धारित अवधि पुगेका सवारी साधन लिलामीमा लग्ने कानूनी ब्यबस्था गरी सो का ठाउमा ब्यबसाय गर्न चाहने ब्यबसायीलाई सस्तो ब्याजदरमा ऋण उपलब्ध गराउने प्रभावकारी ब्यबस्था गर्नु पर्ने देखिन्छ।

(३) सडक मर्मत बिगतमा निर्बाहका लागि खोलिएका ट्र्याक र वान वे सडकहरूलाई बिस्तार गरेर कम्तिमा दुई लेनको बनाउन जरूरी छ र त्यसै गरी घुम्तीहरू पनि कम गराउन पर्ने देखिएको छ। सरकारले हाल यस किसिमको अभियानको थालनी गरेको सुनिएको छ तर यसलाई द्रूत गतिमा अगाडि बढाउन जरूरी छ।

(४) सडक संकेत र ट्राफिक लाईट बढाउने सडक दुर्घटनालाई न्यून गर्न सडकमा राखिने सूचनाहरू, सडक संकेत र सडक बत्ति को महत्वपूर्ण भूमिका रहन्छ। त्यसैले स्थानीय निकायको समन्वयमा यसको ब्यबस्था गर्नु पर्ने देखिन्छ।

ट्राफिक लाईटका लागि बिद्युत पर्याप्त नभएको ठाउमा सौर्य शक्तिको उपयोग गर्न सकिन्छ। यसरी दुर्घटनाका हिसावले दक्षिण एशियामा सबभन्दा अग्र स्थानमा रहेको नेपाललाई सुरक्षित गन्तब्य बनाउन सके अन्य कुराका अतिरिक्त नेपालको अर्थतन्त्रको मेरूदण्डको रूपमा रहेको पर्यटन ब्यबसायलाई समेत प्रबर्द्धन गर्न सकिन्छ।

Loading spinner