नातीलाई जन्म दिनको शुभकामना

khabarwave
२० मंसिर २०७७

२००९ जनवरी को तेश्रो हप्ता अमेरिका जाने कार्यक्रम बन्यो।अमेरिकाको न्यू योर्कको रिजउड भन्ने ठाऊमा मेरो सानो छोरा र छोरीको बसाइ थियो। डिसम्बर ५ , २००८ मा छोरी तर्फको नाती जन्मेको थियो, खासगरी नयाॅं पाहुना नातीलाई र सुत्केरी छोरी भेट्नलाई अमेरिका जाने कार्यक्रम बनेको हो।कार्यक्रम बने संगै एक अमेरिकी डलरलाई नेपाली रू ६३/- तिरेर केही डलर पनि साटें। दुई तर्फी जहाजको टिकट लिए।

क्याथी प्यासिफिकको प्लेनबाट हंगकंग ट्रान्जिट हुदै जे.एफ. के. जानु पर्ने हुदा सोही बमोजिमको ब्यबस्था भयो। काठमाडौं छोडेको करीब २६ घण्टा पछि न्यू योर्क पुगे, अध्यागमनको काम र लगेज संकलन गरेर मलाई लिन आउने सानो छोराको प्रतीक्षा गरें। करीब २ घण्टाको प्रतीक्षा पछि छोरा संग भेट भयो। एउटा ट्याक्सी लिएर हामीहरू रिजउड तर्फ लाग्यौ। छोराले भिडियो क्यामराले मेरो अमेरिका आगमनको तस्वीर लिदै मेरो विदेश यात्राको अनुभव समेत क्यामरामा कैद गर्दा गर्दै हामी निवासमा पुगियो। नातीले रूवाई संगै स्वागत गर्यो, छोरी संग भेट भयो।

झोलाहरू थन्क्याएर बस्न खोजेको छोरालाई हामी आएको ट्याक्सीको अफिसबाट फोन आउदा पो थाहा भयो कि मेरो बिबरण लिदै गरेको छोराको क्यमरा त ट्याक्सी मै बिर्सिएको रहेछ।भोलीपल्ट पुन: एयरपोर्ट गएर क्यामरा लिईयो। यो थियो अमेरिकाको पहिलो ईमान्दारिता। हामी बसेका घरबेटी नेपाली रहेछन्। उनको घरमा बस्दा अमेरिका छु भन्ने फिल नै भएन।

त्यस माथि रिजउडमा त नेपाली छ्यापछ्याप्ती भेटिदा रहेछन् जुन मेरो लागि त्यो पनि सकारात्मक नै भयो। करीव दुई महिनाको नाती देख्न पाउदा ज्यादै खुसी लाग्यो। एउटै देश,एउटै समस्या लिएर अमेरिका पढ्न आएका नेपाली विद्यार्थीहरू सुख दु:ख,घन्च मन्च गरेर बस्ने चलन हुदो रहेछ। शुरूमा छ महिनाको लागि फि बुझाएर अमेरिका प्रवेश गरेका नेपाली विद्यार्थीहरूले कलेजको बाॅंकी फि आफै काम गरेर बुझाउनु पर्ने हुदा बसाइ अली कन्जस्टेड नै हुने रहेछ।

कलेजको पढाई र कामको समय तालिका मिलाउनु पर्दा रूम पार्टनरहरू कोही कामबाट आई रहेका हुने, कोही काम तिर गै रहेका हुने, कोही खाना खादै हुन्छन् भने कोही सुती रहेका र कोही पढी रहेका हुने रहेछन्। पहिलो पटकको अमेरिका भिजिट अन्यत्र जान अनुकूल नपरे पनि न्यूयोर्कको लिवर्टी स्ट्याचु, स्टिमरको यात्रा, अमेरिकाको राजधानी डिसी र त्यहाॅंका मनुमेन्टहरू, न्यू योर्कको चिडियाखाना, ज्याक्सन हाईट्सको नेपाली समाज र नेपाली स्वादका परिकारहरूको अनुभव संगै करीब २ महिना बितेको पत्तै भएन। हामीले सन्तानलाई विदेशमा पढ्न पठाउछौ तर त्यहा अध्ययन संगै काम गर्नु पर्दा धेरै मेहनत गर्नु पर्ने रहेछ।

यता छोरी पनि काम गर्न खोज्दै छन् तर नातीको केयर गर्नु पर्दा छोरीलाई सहज नभएको बुझेर नाती नेपाल लग्ने कुरो भयो। त्यति सानो नातीलाई कसरी लग्ने, २० घण्टाको प्लेन , हंगकंगमा ७ घण्टाको ट्रान्जिट, ४ महिनाको बच्चा, फेरि बच्चा सिहार्ने बानी नपरेको हजुरबाबु, दुध पनि चम्चाले ख्वाउने बानी रहेछ तै पनि यहाॅंको असुविधा पनि हेर्नै पर्यो। नातीको पासपोर्ट बनाएर न्यू योर्क स्थित नेपाली कन्सुलरबाट भीसा र सिफारिस बनाएर ल्याएं।

मार्चको दोश्रो हप्ता तिरको फर्कने टिकटमा नातीलाई एडजस्ट गराएर नेपाल फर्किने क्रममा जहाज चढें। नातीलाई सुताउन वेसिनेट दिएको थियो, खाशै त्यसमा सुत्न नमान्ने, काखमा पनि बस्न नमान्ने र खाली काखमा बोक्दा मात्र यसो मान्ने , खाली रोएको रोऐ मात्र गर्ने, जहाज हल्लदा उभिन नदिने र उभिन पनि नमिल्ने, यसो दुध ख्वाउन खोज्यो रोई मात्र रहने, सहायद बोल्न नजाने पनि बच्चाले आमा खोजेको होला। एयर होस्टेजले खाना ल्याउछ तर खाना खान पनि नमिल्ने, बच्चा धेरै बेर निदाउदैन , सार्है हत्ते गरे जस्तो भयो ।

यहा सबै अप्ठ्याराहरू भनेर साध्य छैन। करीब १५ घण्टाको उडानबाट हंगकंग पुगेर काठमाॅंडौको काउण्टरमा पुगी नातीलाई दुध दिदै गर्दा अष्ट्रेलियाबाट नेपाल फर्कन लागेकी एक महिला भेटिईन र उनले काखा लिए पछि बच्चा निदायो र मलाई लाग्यो बच्चाको लागि मात्तृत्वको कति महत्व हुने रहेछ। यस प्रकार राती १०.०० बजे काठमाडौ पुग्दा हजुरआमा प्रतीक्षारत् थिईन नाती र मलाई रिसिभ गर्न।

मैले ती महिला जस्ले नातीलाई हंगकंगबाट यहाॅं सम्म ल्याउन सहयोग गरेकी थिईन् उनी प्रति नतमस्तक हुदै धन्यवाद दिएर अध्यागमनको औपचारिकता पूरा गर्न लागे र त्यस पछि नाती लगेर हजुर आमा को जिम्मा लगाए। अहिले नाती अमेरिका मै कक्षा ७ मा पढ्दै छन् । नेपालमा केही वर्ष बसे पनि नेपाली बोल्न खासै आउदैन तर नेपाली भाषा बुझ्न भने सक्छन् । त्यो दिनको नातीलाई आज सबल रूपमा देख्दा अचम्मै खुसी लागेको छ ।संयोगले आज उही नातीको जन्म दिन परेको हुदा नातीलाई जन्म दिनको शुभकामना ।

Loading spinner