औषधि लिमिटेडको महाप्रबन्धकमा ६ जनाबीच प्रतिस्पर्धा, २८ गते सिफारिश हुने

khabarwave
१९ मंसिर २०७७

काठमाडौं । उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल औषधि लिमिटेडको रिक्त महाप्रबन्धक पदका लागि मंसिर २८ गते व्यवसायिक कार्ययोजना प्रस्तुतिकरणका लागि मिति तोकेको छ । आवेदन दिएका उम्मेदवारहरुमध्ये ६ जनाको नाम सर्ट लिस्टिङ गरिएको छ ।

यिनै छ जनालाई व्यवसायिक कार्ययोजना प्रस्तुतिका लागि मन्त्रालयले २८ गतेको मिति तोकेको हो । यसअघि मंसिर १९ गतेका लागि मिति तय गरिएको थियो । लिमिटेडको रिक्त महाप्रबन्धक पदमा विकास सुवेदी, मोहमद सफी उल्लाह, भुपेन्द्रप्रसाद अर्याल, बाबुराम हुमागाई, अर्जुन अर्याल, राजकुमार थापा सर्ट लिस्टिङमा परेका हुन् ।

यिनै छ जनाले २८ गते व्यवसायिक कार्ययोजना प्रस्तुत गर्ने र एक पदका लागि तीन जनालाई सिफारिश गर्ने मन्त्रालयको तयारी छ । त्यही तीन जनामध्येबाट एक जनालाई मन्त्रिपरिषद्ले महाप्रबन्धकको जिम्मेवारी दिनेछ । बाबुराम हुमागाई औषधि व्यवस्था विभागबाट अवकाश पाएका पूर्व कर्मचारी हुन् ।

अहिलेको सत्ता निकट समेत रहेका कारण हुमागाई महाकप्रबन्धक बन्ने बलियो सम्भावना रहेको मन्त्रालय स्रोतको दाबी छ । रिक्त महाप्रबन्धक पद नियुक्तिका लागि मातृका यादव उद्योगमन्त्री हुँदै प्रक्रिया अगाडि बढाइए पनि अहिलेसम्म सो प्रक्रियाले पूर्णता पाउन सकेको छैन ।

मन्त्रालयका सहसचिवलाई औषधि लिमिटेडको कामकारबाही हेर्ने गरी जिम्मेवारी तोकिएको छ ।

Loading spinner