आजै ३९६ स्थानीय तहमा आधारभुत र ७ प्रदेशमा सरुवा राेग अस्पतालको एकैदिन शिलान्यास

khabarwave
१५ मंसिर २०७७

काठमाडौँ । सरकारले स्थानीय तहसम्म स्वास्थ्य सेवा पुरर्याउने उद्देश्यले सोमबार एकैसाथ ३सय ९६ स्थानीय तहमा अस्पताल भवन र सातवटै प्रदेशमा सरुवा रोग अस्पताल भवनको शिलान्यास गर्ने भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पहिलो चरणमा अस्पताल नपुगेका ३सय ९६ स्थानीय तह पाँचदेखि १५ श्ययाको अस्पताल बनाउनका लागि प्रक्रिया थालेको हो ।स्थानीय तहमा बन्ने अस्पताल भवनको सङ्घीय सांसद र स्थानीय तहका प्रमुखले पनि शिलान्यास गर्नेछन् । यसअघि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहलाई अस्पतालको भवन शिलान्यास गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ । ७५३ स्थानीय तहमध्ये ६४९ स्थानीय तहमा अस्पताल नै रहेका छैनन् । तीमध्ये पहिलो चरणमा ३९६ स्थानीय तहमा अस्पतालको भवन शिलान्यास गर्न थालिएको हो ।

प्रदेश नं १ मा ३२ स्थानीय तहमा, प्रदेश नं २ मा २० स्थानीय तह, वाग्मती प्रदेशमा १९ स्थानीय तह, गण्डकी प्रदेशमा ५३ स्थानीय तह, लुम्बिनी प्रदेशमा ६० स्थानीय तह, कर्णाली प्रदेशमा २८ स्थानीय तह र सुदूरपश्चिम प्रदेशमा ३४ स्थानीय तहमा अस्पताल बनाउनका लागि भवन शिलान्यास गरिनेछ । अर्थ मन्त्रालयबाट पहिलो चरणमा ३९६ स्थानीय तहलाई पाँचदेखि १५ श्ययाको अस्पताल बनाउनका लागि रु ६४ अर्ब नौ करोड बजेट पठाइसकिएको हो ।

यस्तै पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालबाट इलामका तीन स्थानीय तहमा अस्पताल भवनको शिलान्यास भएकाे छ ।  खनालबाट सूर्योदय नगरपालिका, माई नगरपालिका र सन्दकपुर गाउँपालिकामा बन्ने अस्पतालको शिलान्यास भएकाे हाे ।

यस्तै स्वास्थ्यमन्त्री भानुभक्त ढकालले चितवनको भरतपुरमा बन्न थालेको सरुवा रोग अस्पताल भवनको शिलान्यास गरेका छन । सरकारले यसै आर्थिक वर्षमा सातवटै प्रदेशमा सरुवा रोग अस्पताल बनाउने घोषणा गरेको थियो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्नालयकाअनुसार  सोमबार सातवटै प्रदेशमा ५० श्ययाको सरुवा रोग अस्पतालको भवनको शिलान्यास हुने छ। सरुवा रोगका बिरामीले प्रदेशमा सेवा पु¥याउने उद्देश्यले सरकारले यसै आर्थिक वर्षमा अस्पतालका लागि बजेट विनियोजन गरेको हो । अहिले सङ्घमा एकमात्र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल रहेको छ । पाँच शैयाकाे अस्पतालका लागि रु ७० लाख, १० शैयाकाे लागि रु ८५ लाख र १५ श्ययाका लागि रु एक करोड पठाइसकिएको छ ।

Loading spinner