एक वर्षदेखि स्वास्थ्य समूहको सचिव खाली, महामारी नियन्त्रण भएन भनेर मात्रै बजाइयो ताली

khabarwave
१३ मंसिर २०७७

काठमाडौं । विश्व महामारी कोरोना नियन्त्रणमा सरकार सफल भएन निरहँदा स्वास्थ्य क्षेत्रको नेतृत्व सम्हाल्ने स्वास्थ्य समूहको सचिव पद नै एक वर्षदेखि खाली रहँदा त्यसको पदपूर्ति गर्नेतर्फ कसैको ध्यान पुगेको देखिँदैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा स्वास्थ्य समूहको एक सचिव पद रिक्त भएको एक वर्ष पुगिसकेको छ ।

गत मंसिरमै सचिव डा. पुष्पा चौधरीले राजीनामा दिएपछि सो पद रिक्त हुन गएको हो । स्वास्थ्य क्षेत्रकै ११ वा १२औं तहबाट स्वास्थ्य सचिव बनाउने प्रावधान रहे पनि सरकारले चासो दिएको छैन । इतिहासमै पहिलो पटक यति ठूलो स्वास्थ्य चुनौतीसँग स्वाथ्य क्षेत्र लडिरहेका बेला प्रशासनिक समूहबाट मन्त्रालय चलाउन खोज्दा स्वास्थ्य क्षेत्रका चुनौतीहरु बढिरहेका छन् ।

स्वास्थ्यकर्मीहरुसँगको समन्वय, महामारी नियन्त्रणका लागि सरकार र स्वास्थ्य मन्त्रालयले लिनुपर्ने रणनीति लगायतका चुनौतीहरु सामना गर्न मन्त्रालयका प्रशासन समूहका सचिवले नसकिरहेको पृष्ठभूमिमा कसैले पनि स्वास्थ्य समूहको सचिव बनाउनुपर्छ भन्ने आवाज उठाएको सुनिँदैन ।

विगतमा नेपाल चिकित्सक संघको चरणवद्ध आन्दोलनको परिणामस्वरुप सरकारले स्वास्थ्य सचिव स्वास्थ्य समूहकै हुनुपर्ने प्रावधान बनायो । त्यही प्रावधानलाई टेकेर डा. दिर्घसिंह बम, डा. सुधा शर्मा, डा. प्रविण मिश्र, डा. शैलेन्द्र उप्रेती, डा. किरण शर्मा र डा. पुष्पा चौधरी सचिव भइसकेका छन् । अहिले स्वास्थ्य समूहबाटै सचिव बनाउने हो भने डा. रोशन पोखरेल पहिलो नम्बरमा छन् भने स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दिपेन्द्ररमण सिंह दोस्रो नम्बरमा छन् ।

ओम्नी प्रकरणबाट मन्त्रालय फिर्ता बोलाइएका महेन्द्र श्रेष्ठ तेस्रो नम्बरमा छन् । कम सरोकार र चुनौती व्यहोरीरहेका उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय, शिक्षा तथा प्रविधि मन्त्रालय, कृषि तथा पशुपक्षी विकास मन्त्रालय, ऊर्जा तथा जलश्रोत विकास र अर्थ मन्त्रालयमा २÷२ जना सचिव कार्यरत रहेको अवस्थामा विश्व महामारी कोभिड १९ को सामना गर्नुपर्ने चुनौती सामना गर्ने नेतृत्व लिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा स्वास्थ्य समूहकै सचिव नहुनुलाई सरकारको अयोग्यता भन्ने वा स्वास्थ्य क्षेत्रमा सचिव बन्न लायक व्यक्ति नै नभएको भन्ने ? गम्भीर प्रश्न खडा भएको छ ।

Loading spinner