स्वदेशी उद्योगपतिहरुलाई सबल बनाउनुपर्छ- प्रधानमन्त्री

khabarwave
११ मंसिर २०७७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले भन्दा धेरै काम निजी क्षेत्रले गरेको बताएका छन् । र, निजी क्षेत्रको सफलता नै सरकारको सफलता भएको उनले बताएका छन् । प्रधानमन्त्री ओलीले कोरोनाका कारण देशको अर्थतन्त्र निकै नराम्रो अवस्थामा पुगेको र यसको पुनरुत्थानमा निजी क्षेत्रको भूमिा निकै महत्वपूर्ण हुने बताए । धेरै देशहरुले कोरोना पछि निजी क्षेत्रका लागि निकै आकर्षक राहत दिए पनि नेपाल सरकारले आर्थिक अवस्थाका कारण दिन नसकेको उनले स्वीकारेका छन ।

बालुवाटारमा बिहीबार नेपाल उद्योग वाणिज्य महासंघको ५४ औँ साधारणसभाको उद्घाटन प्रबिधिकाे प्रयाेग गर्दै प्रधानमन्त्री ओलीले निजी क्षेत्रले सरकारको भन्दा धेरै काम गरेको भन्दै प्रशंसा गरेका छन । प्रधानमन्त्री ओलीले भने, ‘पायोनियरका रुपमा निजी क्षेत्रले कामहरु सरकारले भन्दा राम्रो गरेको छ । नयाँ कारोबार क्षेत्र पत्ता लगाउने र त्यसलाई अघि बढाउने काम निजी क्षेत्रले गरेको छ ।’

निजी क्षेत्रको सफलता नै सरकारको सफलता भएको बताउँदै प्रधानमन्त्री ओलीले अगाडि भने, ‘यहाँहरुलाई सफलता बनाउन सरकारले सहयोग गर्छ ।’तर सरकार धनको गरिब भए पनि मनको गरिब भने नभएको बताउँदै प्रधानमन्त्री ओलीले भने, ‘उद्योगी व्यवसायी साथीहरुले कुरा उठाउनु भएको छ । कतिवटा देशले उद्योगको पुनरुत्थानका लागि धेरै पैसा दियो नेपाल सरकारले किन दिएन रु भन्ने कुराहरु उठेका छन्’ प्रधानमन्त्रीले भने, ‘यो सरकार मनको गरिब होइन, फाइनान्सियल अवस्था तपाईहरुलाई थाहा नै छ ।’

उद्योगीहरुलाई सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले निजी क्षेत्रलाई सवल बनाउन ऐन, नियम बनाउने लगायतका सहयोगका कामहरु सरकारले गर्ने बताए । उनले सरकारसँग धेरै बचत नभएका कारण चाहेर पनि धेरै सहयोग गर्न नसकेको बताए ।

‘सरकारले गच्छे भन्दा एक कदम अगाडि बढेर तपाईहरुलाई साथ सहयोग गर्न हात बढाउनेछ, हामीसँग रिजर्भ सेभिङ्ग छैन’ प्रधानमन्त्रीले भने, ‘हामीले फेरि पनि साझा प्रयासबाट हाम्रो अर्थतन्त्रलाई अघि बढाउनुपर्छ । हाम्रा प्रयासहरु यसमा केन्द्रित छन् ।’

प्रधानमन्त्री ओलीले दलाल पुँजीवाद र पुँजीवादको समेत चर्चा गर्दै राष्ट्रका निम्ति उत्पादन गरिहेका, राष्ट्रका निम्ति रोजगारी दिइरहेका र कर तिरिरहेका सबै उद्योगी व्यवसायीहरु राज्यका लागि समान हुने बताए ।प्रधानमन्त्री ओलीले स्वदेशी उद्योगपतिहरुलाई सबल बनाउनुपर्ने बताए । उनले भने, ‘हाम्रालाई सबल बनाउन सकेको भए बाहिरका खोज्नुपर्ने थिएन । यसकारण हामीले हाम्रा उद्यमीहरुलाई ठूला ठूला आयोजनाहरुमा लगानी गर्न सक्ने गरी त्यस स्तरमा विकास गर्नुपर्छ ।’

हामी विदेशी पुँजी आमन्त्रण गरिरहेको र यसका लागि सहुलियत दिइरहेको बताउँदै प्रधानमन्त्री ओलीले नेपाली उद्यमीहरुलाई विदेशमा लगानी नलैजान आग्रहसमेत गरे ।बिहीबारदेखि सुरु भएको नेपाल यद्योग वाणिज्य महासंघको साधारण सभा शनिबारसम्म चल्ने छ ।

Loading spinner