सामाजिक सन्जालमा पस्किने लेखहरू र यसको गुणस्तर

khabarwave
६ मंसिर २०७८

आजभोली सामाजिक सन्जालमा सहज पहुच भएकोले लेख , रचना, विचारहरू प्रसस्तै हेर्न र पढ्न पाईन्छ। मलाई सम्झना छ पहिला पहिला एस एल सी परीक्षाको नतिजा हेर्न हप्तौ कुर्नु पर्ने अवस्था थियो। यसरी विगतमा लामो समय सम्म कुर्नु पर्ने समाचारहरू मात्र हैन अन्य लेखहरू पनि आजभोली हत्केला मै तुरून्त पढ्न पाईन्छ। यस्तो सहजताका लागि विज्ञानलाई धन्यवाद दिनै पर्छ।

कुनै पनि चिज प्राप्त गर्न जति कठिन हुन्छ, त्यसको महत्व त्यति नै बढी हुन्छ। यसको अर्थ यो नलागोस कि विज्ञानको उपलब्धीको महत्व कम रहेको छ। कुनै पनि चिजको महत्व त त्यस भित्र रहने विषय वस्तु र त्यसको गुण, दोषले निर्धारण गर्छ। जे जान्यो त्यही लेख्ने र जे मन लाग्यो त्यही लेख्ने र त्यसलाई सामाजिक सन्जालमा पस्किने बानीलाई राम्रो मान्न सकिदैन।

पाठकका लागि प्रेषित सामग्री पठनीय र मननीय हुनु पर्छ। लेखकलाई मन परेको विषय वस्तु एउटा पक्ष भयो तर त्यो विषय वस्तु पाठकले मन पराउनु पर्छ नै भन्ने हुदैन। कुनै पनि लेखले पाठकको मन कुन हद सम्म छुन सक्यो त्यसै आधारमा लेखको मूल्यांकन हुने गर्छ।त्यसो त अहिलेको पुस्तामा धीर भएर अध्ययन गर्ने प्रवृत्तिमा कता कता ह्रास हुदै गएको हो कि भन्ने पनि छ।

\आजभोलीको खुला बजारमा उपभोक्ताको रूचीलाई महत्व दिईएको पाईन्छ। लेख, रचना आदिले पनि उपभोक्ताको रूचीलाई सम्बोधन गर्न सकेमा त्यसको लाईक र भ्यूज बढ्ने गर्छ अन्यथा त्यो रचना स्थीर रहन्छ। लेख, रचना आदिहरूमा लाईक र भ्यूज बढ्नु मात्रले पनि लेखको मूल्यांकन हुन्छ भन्ने बारेमा पनि समीक्षा गर्न सकिएला तर सामाजिक सन्जालमा गएका लेखहरूमा पाठकको अभाव भयो भने लेखको महत्व कम रहेछ भन्ने बुझ्नु पर्यो।

लेखमा सत्यता हुदा हुदै पनि पाठकको मन छुनै पर्छ भन्ने हुदैन। त्यस्ता लेख रचनाले पाठकको भोक सम्बोधन गर्न सक्यो भने मात्र त्यस्ता सामग्री खपत हुन सक्छन्। त्यस्तै सामाजिक सन्जालमा पस्किने सामग्रीहरूमा कुन र कति मात्रामा सन्दर्भ सामाग्रीहरू प्रयोग गरिएको छ भन्ने कुराले पनि लेखको गहिर्याई र गाम्भिर्यता निर्धारण गर्छ। त्यस्तै विषयबस्तु समसामयीक हुन सकेन भने पनि पाठकको रूची रहेको पाईदैन।तसर्थ प्रस्तुतकर्ताले यस तर्फ ध्यान दिएमा लेख पठनीय हुन सक्छ। फेरि सामाजिक सन्जालको सम्पर्कमा आउने पाठकहरूको रूचीमा हुने विविधताले पनि लेखको लोकप्रियता निर्धारण गर्छ।

सबैको सहज र समान पहुच भएर होला सामाजिक सन्जालमा सबै पुस्ताका पाठकको उपस्थिति रहन्छ। यी सबै पुस्ताको ध्यान एउटै लेखले आकर्षण गर्न नसक्नु स्वभाविकै हो तर पनि प्रस्तुतकर्ताले आफ्ना पाठक पहिचान गरेर सामग्री पस्किन सकेमा त्यसलाई सफलै मान्न सकिन्छ। सामाजिक सन्जालमा मात्र हैन अन्यत्र पनि सामाग्री प्रकाशन गर्दा बिचार गर्नु पर्ने कुरा करीव करीव एउटै हो तापनि सामाजिक सन्जाल भन्दा अन्यत्र प्रकाशित हुने सामाग्रीहरू बढी संग्रहयोग्य हुन्छन् र कालान्तरमा पुस्तकको रूपमा आउछन्।

त्यसैले पनि सामाजिक सन्जालमा समसामयीक विषय वस्तुले स्थान पाउछन्। यसरी प्रकाशन हुने सामग्रीहरुले संबन्धित पक्षलाई समेत प्रभाव पार्न सक्यो भने त्यो सामग्री लक्षित स्थानमा पुगेको मानिन्छ। कतिपय पत्रिकाले यस्ता समाचारहरूलाई बढी स्थान दिन्छन् जसको प्रकाशनले सम्बन्धित पक्षको काम गराईमा सुधार आएको हुन्छ। यसको गतिलो उदाहरण हाल नेपालको परराष्ट्र मन्त्रालयले वितरण गर्न लागेको विभिन्न रंगको ई- पासपोर्टलाई लिन सकिन्छ, त्यस मध्ये हरियो रंगको पासपोर्ट दुरूपयोग भएको विषय छापामा उठेको कुरालाई लिएर अब निस्कने राहदानीमा हरियो रंग हटाएको देखिन्छ।

यसरी भएका कमी कमजोरी हटाउन वा कुनै कुरा सुधार गर्न प्रकाशित लेख वा समाचार सक्षम हुन सक्यो भने त्यसलाई सफल भएको मानिन्छ। समाजका विकृति विसंगतिलाई कम गर्न सफल लेखलाई सकारात्मक रूपले हेर्न सकिन्छ। त्यसै गरी पाठकलाई सकारात्मक मनोरन्जन दिन सक्ने लेखलाई पनि सफल मान्न सकिन्छ। त्यसैले हामीले सामाजिक सन्जाल मार्फत पस्किने सामाग्रीहरू सूचना मूलक, शिक्षामूलक एवं मनोरन्जनात्मक हुन सके त्यसले सबै पक्षमा सकारात्मक सन्देश दिन सक्छ।

Loading spinner