क्यानले राष्ट्रविरोधी कुनै सम्झौता गर्दैन : अध्यक्ष चन्द

khabarwave
७ मंसिर २०७७

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपिएल) टी २० क्रिकेट प्रतियोगिताको व्यवस्थापकीय जिम्मा भारतीय कम्पनी एसथ्री स्पोर्टस् कम्पनीलाई दिने प्रारम्भिक सम्झौता गरिसकेको छ । विगत १० महिना अघि नै क्यानका अध्यक्ष र महासचिवले प्रारम्भिक सम्झौतामा हस्ताक्षर गरिसकेका छन् । क्यानको विज्ञ टोली र पदाधिकारीहरुले अध्ययन गरेर उक्त कम्पनीलाई व्यवस्थापनको जिम्मा दिने सम्झौतामा हस्ताक्षर गरेका हुन् । अन्तिम सम्झौताका लागि क्यानको वार्षिक साधारणसभाबाटै निर्णय गरेर दिने तयारी स्वरुप क्यानको मंसिर ३ गते सम्पन्न भर्चुअल साधारणसभाले उक्त कम्पनीसँग सम्झौता गर्ने प्रक्रिया अगाडि बढाउन क्यानको केन्द्रीय कार्य समितिलाई जिम्मेवारी दिइसकेको छ ।
साधारणसभाले दिएको सुझावलाई कार्यान्वयन गर्दै उक्त कम्पनीसँग साधारणसभाले दिएका रचनात्मक सुझावसहित एसथ्री कम्पनीसँग प्रस्ताव माग गर्ने पक्षमा क्यान रहेको क्यानका केन्द्रीय अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिनुभयो । उहाँले खबरवेभसँग कुरा गर्दै भन्नुभयो, साधारणसभाले दिएको सुझावलाई कार्यान्वयन गर्ने सर्तमा मात्र उक्त कम्पनीसँग सम्झौता प्रक्रिया अगाडि बढाउँछौं । क्रिकेट खेलाडीहरु, क्यान र समग्र राष्ट्र हित अनुकुल हुने भए मात्र सम्झौता प्रक्रिया अगाडि बढ्ने भएको हुँदा साधारणसभाले दिएको सुझाव विपरित कुनै सम्झौता नहुने कुरामा ढुक्क हुन चन्दले आग्रह गर्नुभएको छ ।
प्रारम्भिक सम्झौता भएको कम्पनीले खेलाडीहरुलाई दिने पारिश्रमिकको ग्यारेन्टी, क्यान र राष्ट्रलाई हुने आर्थिकलगायत फाइदा लगायत सबै कुराको सुनिश्चितता भएपछि मात्रै उक्त कम्पनीसँग अन्तिम सम्झौता गर्ने पनि उहाँको प्रतिबद्धता छ । अहिले उठेका आशंकाहरु मेट्ने कामको ग्यारेन्टी भएपछि मात्रै हामी प्रक्रिया अगाडि बढाउँछौं, उहाँले प्रष्ट पार्नुभयो । लिग आयोजना हुँदा व्यवस्थापकीय जिम्मा लिने कम्पनीले क्रिकेट खेल अनुशासित ढंगबाट खेलाउने ग्यारेन्टी र खेल मिलेमतो नहुने सुनिश्चितता लगायतका शर्तहरुको पालना गर्नुपर्ने चन्दको भनाई छ ।
साधारणसभाले दिएका सुझाव लगायतका विषयवस्तुलाई समेटेर प्रिमियर लिगको व्यवस्थापन गर्ने कम्पनीसँग अन्तिम सम्झौताका लागि क्यानले प्रक्रिया अगाडि बढाएको छ । कम्पनीसँग अन्तिम सम्झौता भएपछि सन् २०२१ भित्र पहिलो लिग आयोजना हुनसक्ने क्यानको विश्वास छ । प्राकृतिक प्रकोप लगायतका अन्य विपत्ति नआएको अवस्थामा प्रत्येक वर्षको मध्यमा लिग आयोजना गर्न १० वर्षका लागि उक्त कम्पनीलाई व्यवस्थापकीय जिम्मा दिन लागिएको हो । लिगको व्यवस्थाकीय जिम्मा लिएबापत १० वर्षमा ४२ करोड रकम क्यानलाई बुझाउनु पर्ने शर्तसहित सम्झौता गर्न लागिएको हो ।

Loading spinner