नागरिकताको ब्यबस्थापन र नागरिकता बितरण टोली

khabarwave
२९ कार्तिक २०७७

कुनै पनि देशले आफ्नो सरहद भित्र बस्ने नागरिकलाई दिईने निस्सा वा प्रमाणलाई नागरिकताको प्रमाण पत्र भनिन्छ। नेपालमा नागरिकता तीन किसिमका छन्। क) वंशज:- नेपाली नागरिकका सन्तानलाई वंशज नागरिक भनिन्छ तर आमा नेपाली नागरिक भए पनि बाबु विदेशी भए त्यस्ता नागरिक भने बंशज हुदैनन्। ख) जन्म शिद्ध:-बाबु आमा जुनसुकै देशका नागरिक भए पनि तिनीहरूका सन्तान नेपालमा जन्मेका हुन् भने त्यस्ता नागरिकलाई दिईने नागरिकलाई जन्म शिद्ध नागरिक भनिन्छ।अहिले यस किसिमको नागरिकता प्रदान गरिदैन तर यस्तो नागरिकता पाउनु भन्दा अगाडि जन्म भएका यिनका सन्तान र दाजुभाइलाई पनि बंशज कै नागरिकता दिन खोजिएकोले यो विषय विवादित छ। ग) अंगीकृत:- यस किसिमका नागरिकता ३ किसिमका हुन्छन्।

1. बैबाहिक अंगीकृत

बैबाहिक अंगीकृत नागरिकताको भै रहेको ब्यबस्था माथि लैंगिक कारण देखाई बुहारीहरूलाई जस्तै छोरी ज्वाईहरूलाई पनि नागरिकता दिने पर्पन्च रचिदै छ। अमेरिका जस्तो देशको नक्कल भित्र्याउने हो भने नेपालको भूगोल, जनसंख्या, आर्थिक विकास र हाम्रो साॅंस्कृतिक परम्पराले पनि मान्यता दिनु पर्छ। केही मानव अधिकारवादीको लहडमा लागेर नेपाललाई थप समस्यामूलक बनाउन सकिदैन।

2. अंगीकृत

3. सम्मानार्थ

सरकार जनताका बीचमा जादा कुनै न कुनै सेवा लिएर जान्छ। जिल्ला सदर मुकामबाट टाढा रहेका बासिन्दालाई सदरमुकाम सम्म आएर सेवा लिंदा सेवा खर्चिलो हुने र जनतालाई सास्ती समेत हुने हुदा सरकारले केही सेवाहरू जनता समक्ष लैजान्छ। ती सेवाहरूमा स्वास्थ्य सेवा, अपाॅंग परिचय पत्र वितरण, नावालक परिचय पत्र वितरण, घटना दर्ता, नागरिकता वितरण, शान्ति सुरक्षा सम्बन्धी सेवा आदि हुन्। नागरिकता आफैमा संवेदनशील विषय हो। एक जना मात्र गैर नेपालीले यो सुविधा प्राप्त गर्न सफल भयो भने एक वैध नागरिक आफूले पाउने राजनीतिक ,आर्थिक समेतका अधिकार र बिभिन्न अवसरहरूबाट वन्चित हुन पुग्छ। त्यसैले यसको वितरण सहज बनाउने निहुंमा यसको दुरूपयोगलाई बढवा दिने काम गर्नु हुदैन।नागरिकतालाई राजनीतिक दलहरूले संवेदनशीलताको विषय बनाउनु पर्नेमा राजनीतिक विषय बनाएको पाईन्छ। यसको उदाहरणको रूपमा बेला बेलामा नागरिकता टोली मार्फत बितरण गरिने नागरिकतालाई लिन सकिन्छ। कर्तब्य निर्वाहका सिलसिलामा यो पंक्तिकारलाई नागरिकता वितरणको कार्यमा तराईको जिल्लामा खटिनु पर्यो। नागरिकतालाई राजनीतिक स्वार्थको विषय बनाउछन् राजनीतिक दलहरू।

संबैधानिक परिवर्तनका दिनहरूलाई नागरिकताको लागि आधार वर्ष बनाएर उल्लिखित मितिमा नेपाल सरहद भित्र बसेका जो सुकैलाई पनि नेपाली नागरिक मान्ने गरी दलहरू बीच सहमती हुने गर्छ। नागरिकता सम्बन्धी यी र यस्तै विसंगतिका माझ म पनि खटिए नागरिकता वितरण गर्न। पंचायत कालमा तत्कालीन गा. पं. वा न. पं. का प्रधान पन्चले गरेका सिफारिसका आधारमा नागरिकता प्रमाणपत्र बितरण गर्नु पर्दथ्यो र टोलीलाई वंशज र बैबाहिक अंगीकृत नागरिकता दिने अधिकार थियो। हामी सरासर प्रधान पन्चको मा गएर उसको सिफारिसमा नागरिकता बाॅंड्नु पर्ने तर सिफारिसमा प्रधान पन्चको तजबीजि अधिकार हुन्थ्यो। उ संग विमति राख्नेहरूलाई नागरिक नै भए पनि सिफारिस नदिने र उ संग मिल्ने भारतीय नै भए पनि सिफारिस दिने, प्राय: ज्वाईलाई छोरा भनेर सनाखत गरीदिने, नक्कली तालुकदारको हस्ताक्षरबाट तिरो तिरेको रशीद बनाएर धुवामा राखेर पुरानो बनाई बसोबासको प्रमाण बनाउने जस्ता कार्यहरू गर्ने हुदा नागरिकता वितरण टोलीका सामु कडा चुनौती हुन्थ्यो। कतिपय प्रधान पन्चले त टोलीको नाममा छुट्टै रकम उठाउने गरेको भन्ने समेत सुनिन्थ्यो।

नक्कली विवरण भरेर सिफारिस सहित आएमा पनि उसलाई कानूनी कारवाही गर्न पठाउनका लागि न त टोली संग समय हुन्थ्यो न त श्रोत र साधन नै। त्यस किसिमका कागजात छुट्टै संकलन गरी जिल्ला कार्यालय(हालको जिल्ला प्रशासन कार्यालय) मा बुझाईन्थ्यो। यसरी प्राप्त हुन आएका अनुसूचीहरू र सो साथ संलग्न प्रमाणका आधारमा नागरिकता दिईन्थ्यो। यसरी नागरिकता दिई रहदा नागरिकताको संवेदनशीलतालाई कति ख्याल गरियो? नागरिकताको माध्यमबाट हुने बिदेशीको घुसपैठका सम्बन्धमा राष्ट्रले कति सोच राख्न सक्नु पर्छ ? जस्ता प्रश्नहरूलाई गौण बनाएर नागरिकता दिन मिल्दैन। हाम्रो देशको भू-राजनीतिक अवस्थिति नै समस्यामूलक छ। किनभने देशको तीन तिर खुला सीमाना, दुई देश बीच आवागमन खुला, परम्परागत बिहेबारी, खुला रोजगारी, शिक्षादीक्षा आदि कारणले हामीहरू बीचको आवागमनलाई नियमित र ब्यबस्थित बनाउन गार्हो छ र फेरि भारत र नेपाल बीच भएको सन् १९५० को सन्धीले समेत यी दुई देशका नागरिकहरू सहज तवरले आवागमन गर्न सहज बनाईदिएको छ। यसले बढी जनसंख्या भएको मुलुक भारतलाई त खासै असर परेको छैन तर नेपाल जस्तो भौगोलिक क्षेत्रफलमा भारत भन्दा झण्डै २३ गुणा सानो नेपालले आफ्नै जनसंख्या ब्यबस्थापन गर्न समस्या भै रहेको बेलामा खुला सीमानाको फाईदा लिएर अवैध रूपमा प्रवेश हुने जनसंख्याले नेपाललाई अशर त पार्छ नै।

विश्वमा अन्तर्राष्ट्रिय वसाई सराईले देशको आन्तरिक जनसंख्या अल्पमतमा परेर भित्रिएका विदेशीहरू शासन सत्तामा पुगेका उदाहरणमा फिंजीलाई लिने गरिन्छ। यसरी नै अन्धाधुन्ध रूपमा तीन तिरबाट घेरिएको नेपालको छिमेकका कारण नेपाल कतै दोश्रो फिंजी हुदै त छैन ?नेपालका रैथाने अल्पमतमा पर्दै त छैनन्? कतै नेपालले श्रीलंकाको जस्तो ,रूवाण्डाको जस्तो जातीय संघर्षको सामना गर्दै त छैन भन्ने त्रासले हर नेपाली चिन्तित छन्। सरकारले प्रदान गर्ने सेवाका लागि धेरै प्रकारका सेवाहरू छन् जसको वितरणले राष्ट्रियतामा केही फरक पार्दैनन् तर नागरिकतालाई सस्तो रूपमा हेरिनु हुदैन। यसको वितरणलाई सहज, सरल बनाईनु जरूर पर्छ तर सरलता र सहजताको नाममा दुरूपयोगलाई प्रोत्साहन गरिनु हुदैन। नेपालको नागरिकताका लागि भारतीयहरू किन मरिहत्ते गर्छन् त भन्ने कुरा बुझ्न जरूरी हुन्छ। नेपाली नागरिकता विश्वमा अझै विश्वसनीय छ यद्यपि केही अपराधिक तत्वले यसको दुरूपयोग नगरेका हैनन्। नेपालीहरू ईमान्दार र वीर हुन्छन् भन्ने अवधारणाले विश्वमा मान्यता राख्दै आएको छ।यही कारणले छिमेकी देशका अपराधी पृष्ठभूमिका केही ब्यक्तिहरू सहज तवरले विश्वका कुनाकाप्चामा जान र अपराध गर्न पुग्छन्।

त्यसैले बिभिन्न देशको भ्रमणका क्रममा ईमान्दार नेपालीहरू उपर पनि विभिन्न शंका उपशंकाले हेर्ने गरिन्छ। त्यसै गरी संयुक्त राज्य अमेरिकाबाट बर्षेनी खोलिने डिभी मा कोटा पुगेका कारण भारत, बंगलादेश जस्ता देशले आवेदन दिन पाउदैनन् तर नेपालीको संख्या अझै पनि निर्धारित कोटा भन्दा तलै रहेकोले सो मौकाको फाईदा लिन नेपाली नागरिकता लिई उक्त देशका नागरिकहरूले अवैध बाटो रोज्ने गर्छन् जसले गर्दा नेपाली नागरिकताको दुरूपयोग गरिन्छ। त्यस्तै नेपालमा राजनीतिका बाटाहरू सहज छन् जस्तै नागरिकता लियो ,पार्टी खोल्यो , मधेशका सोझा जनतालाई झुक्यायो सांसद बन्यो। मधेशको गरीबि र अशिक्षाको फाईदा लिदै आन्दोलन गर्यो, राजनीतिक फाईदा लियो। भारतको राजनीति बढी प्रतिस्पर्धी भएकोले नेपालको मधेशमा राजनीति गर्न सजिलो छ। त्यसै गरी नेपालका लागि भारत सरकारबाट प्रदान

गरिने छात्रबृत्तिमा समेत यस्ता नक्कली नेपालीले फाईदा लिएका छन्। आंखाको उपचार, दाॅंतको उपचार जस्ता विशिष्ट उपचार भारतको तुलनामा नेपालमा सहज र सस्तो छ, पार्टीमा संलग्न भए पछि सरकारबाट लिने सेवा सुविधामा पनि सहजता हुने भएकोले नक्कली सनाखतमा नेपाली नागरिकता लिन सक्छन्। अहिले पनि नेपालमा नयाॅं संविधान वमोजिम नेपाल नागरिकता ऐन संशोधनका क्रममा छ, यस्तै विसंगतिहरूलाई सच्याउन खोज्दा नागरिकता ऐन संशोधन हुन ढिला भएको पनि हुन सक्छ। त्यसैले नेपालको नागरिकता वितरणमा हाल देखा परेका र भविष्यमा देखा पर्ने विसंगतिहरू नदोहोरिने गरी नागरिकता ऐनको संशोधन होस् भन्ने चाहना छ नेपाली जनताको।

Loading spinner