एसिड आक्रमण गर्नेलाई कारबाही गर्न कडा कानुन बनाउन अध्यादेश ल्याउने मन्त्रिपरिषदकाे निर्णय,अध्यादेशमा जन्मकैदसम्मकाे प्रस्ताव

khabarwave
९ आश्विन २०७७
काठमाडौं । सरकारले एसिड आक्रमण गर्नेलाई कारबाही गर्ने कडा कानुन बनाउन अध्यादेश ल्याउने भएको छ ।बिहीबार बसेको मन्त्रिपरिषद बैठकले एसिड आक्रमण सम्बन्धी अध्यादेश ल्याउने निर्णय गरेको हाे  ।यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले अमानवीय र जघन्य अपराधका दोषीमाथि कारबाही गर्न अध्यादेशमार्फत् तत्काल नयाँ कानुन बनाइने बताएका थिए । मन्त्रिपरिषदले १५ दिनभित्र कानूनको मस्यौदा तयार गरिसक्न कानूनमन्त्री र सम्बद्ध निकायलाई निर्देशन दिएकाे छ ।

भदौ २५मा  एसिड आक्रमणमा परेकाहरुसँग भएको छलफलमा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिवद्धता अनुसार नयाँ कानूनको मस्यौदा तयार पनि तयार भइरहेको छ ।नयाँ कानूनको मस्यौदामा एसिड आक्रमणको कारण मृत्यु भएमा आक्रमण गर्नेलाई जन्मकैदको सजाय तोकिएको छ । आक्रमणबाट मुख्य अंगहरु आँखा, कान, मुख, छाती र यौनाङ्गमा क्षति भएमा २० वर्ष तथा अन्य अंगमा घाउचोट लागे १५ वर्षको कैद सजाय तोकिन लागेकाे स्राेतले जानकारी दिएकाे छ ।

२५ भदौमा एसिड आक्रमणमा परेकाहरुको पीडा सुनेपछि प्रधानमन्त्री ओलीले आक्रमण गर्नेहरुलाई कडा सजायदेखि पीडितको निःशुल्क उपचार गर्नेसम्म व्यवस्था गर्ने बताएका थिए । त्यसअनुसार मन्त्रिपरिषद्ले कानूनको मस्यौदा १५ दिनभित्र बनाउने निर्णय गरेको छ भने उपचारका लागि चार अस्पताल तोकेको थियाे । त्यसै अनुरूप बिहीबार बसेको मन्त्रिपरिषद बैठकले एसिड आक्रमण सम्बन्धी अध्यादेश ल्याउने निर्णय गरेको हाे ।

सन् २०१८ मा बनेको फौजदारी संहितामा एसिड आक्रमण गर्नेलाई पचास हजारदेखि पाँच लाख रुपैयाँसम्म जरिवाना र तीन वर्षदेखि आठ वर्षसम्म सजायको व्यवस्था थियो । फौजदारी संहितामा व्यवस्था गरिए अनुसार पीडकलाई जरिवाना गरिएको रकम पीडितलाई क्षतिपूर्ति बापत दिने व्यवस्था भएपनि सुस्त न्याय प्रणालीका कारण पीडितले उपचारका लागि तत्काल पैसा पाउन सकेका थिएनन् ।

 

 

 

Loading spinner