प्याजको मूल्य बढाउने व्यापारी बल्खुमा समातिए

khabarwave
३१ भाद्र २०७७

काठमाडौं । भारतले प्याज निर्यातमा रोक लगाएसँगै नेपालमा प्याजको जथाभावी मूल्य बढाउन थालिएको छ । प्याजको जथाभावी मूल्य असुलेको अभियोगमा बुधबार बल्खु बजारबाट एक जना व्यवसायी पक्राउ परेका छन् । काठमाडौं महानगरपालिकाको अनुगमन टोलीले सुनिल केसीलाई बढी मूल्यमा प्याज विक्री गरेको अवस्थामा फेला पारेर नियन्त्रणमा लिएको हो ।

टोलीले कानुनी कारबाहीका लागि केसीलाई महानगरीय प्रहरी वृत्त, कालिमाटीको जिम्मा लगाएको छ । उनको पसलबाट दुई सय ४० बोरा प्याज पनि बरामद गरिएको छ । अनुगमनका क्रममा वाणिज्य विभागले अन्य ७ वटा पसललाई हाजिर भएर जरिवाना तिर्न भन्दै पूर्जी काटेको छ । उनीहरुले एक सय ३० रुपैयाँ प्रतिकिलोमा प्यास विक्री गरेको पाइएको छ । सोमबारसम्म प्याजको मूल्य प्रति किलो ७६ रुपैयाँ थियो ।

Loading spinner