सरकारी निकायको ब्यबहार एउटा सेवाग्राहीको आँखामा

khabarwave
२० भाद्र २०८०

यो अनुभव एयर पोर्टमा राखिएका डेस्कका आधारमा तयार गरिएको हो र यो विशुद्ध मेरो अनुभवमा आधारित छ।
काठमांडौको अन्तर्राष्ट्रिय विमान स्थल सांघुरो भएकोले त्यही स्थानबाट नै सबै निकायका काम गर्नुको बिकल्प हाल देखिदैन। यसै अनुरूप बढ्दो भिडभाडलाई समेत सम्बोधन गर्दै यहाका सेवा ग्राही उपर सेवा प्रवाह गरिनु पर्ने हो तर यहा देखाईएका ब्यबहारहरू बेला बेलामा चर्चामा आउने गरेको पाईन्छ।
आज म स्वयंले गरेको अनुभवलाई यहा पस्कने जमर्को गरेको छु जस्ले सम्बन्धित निकायको ध्यान आकृष्ट गर्ने छ भन्ने अपेक्षा गरेको छु।
अध्यागमन डेस्कहरूबाट दिएका सेवा सुविधाहरूमा खासै प्रश्न उठाउन पर्ने नदेखिदा नदेखिदै पनि सांघुरो स्थानबाट सेवा लिई रहेका सेवा ग्राहीहरूले देखाउनु पर्ने कागजातको जानकारी लाईनमा बस्नु अगाडि नै हुन सकेको पाईएन। यसको लागि पम्प्लेट बनाएर सेवाग्राहीलाई दिन सक्दा डेस्कमा पुग्नु अगाडि कागजहरू लिएर लाईनमा प्रतिक्षा गर्न सजिलो हुने देखिन्छ र यात्रामा चाहिने डकुमेण्टहरु कुनै पनि ट्रान्जिटमा देखाए पछि स्वचालित रूपमा सबै ठाउबाट हेर्न मिल्ने बनाउन सकिन्छ।
यसरी हेर्दा अध्यागमनका कर्मचारीहरूको सेवाग्राहीहरू उपर गरिएको ब्यबहारलाई औसत रूपमा अन्यथा मान्न पर्ने देखिदैन।
जव हामी अध्यागमनको प्रकृया सकेर भन्सार डेस्कमा प्रवेश गर्छौ त्यहाको ब्यबस्थापनले सरकारको अनुहार उदांगो पारेको पाईयो।
समस्त यात्रुहरूलाई लाईनमा खडा गरेर शरीरलाई धातु मुक्त बनाउने भनी सेवाग्राहीलाई नांगेझार पारिन्छ तर त्यहा ब्यबस्था मिलाउने जिम्मेवार कर्मचारी कोही देखिदैनन् । सेवाग्राहीहरु आफै तछाड मछाड र धक्का मुक्का गर्दै सामानहरू डेस्कमा राख्दै क्यामरा तर्फ धकेल्दै थिए, कोही लाईन मिचेर अगाडि आएर आफ्ना लुगाफाटा,घडी, अन्य गरगहना ट्रे मा हाल्दै धकेल्दै थिए, कतिले आफ्ना बहुमूल्य सामान हराएको गुनासा गर्दै थिए, पब्लिकहरू आफै लुछाचुडी गर्दै अरूका समानहरू उपर समेत दावा गर्दै थिए तर त्यहा जिम्मेवार कर्मचारी कोही थिएन। विश्वका विभिन्न ठाउका ट्रान्जिटको ब्यबस्थापन हेर्दै भोग्दै आएका पैसेन्जरहरू यहा पम्ठे जोरी खेल्दै संघर्ष गर्दै थिए। यदि सिसीटिभी फुटेज अर्थ मन्त्रालयमा जस्तो मुसाले काटेको छैन भने उसकै महत्वपूर्ण निकायको रूपमा रहेको यस ठाऊको भन्सारको क्लिप मगाएर हेरे हुन्छ।
खासगरी सुरक्षा चेकजाचको झल्को बिर्साउने गरी यहा भएको यो ब्यबहारले सेवा प्रदायकको रूपमा सरकारको अनुहार निकै उदांगिएको अनुभव भयो। यस किसिमको चेक जाचले त्रि वि भन्सार कार्यालयको राजस्वमा कति योगदान पुग्यो त्यो उनीहरूलाई थाहा होला तर यिनीहरूको यो ब्यबहारले एउटा नेपालीले आफ्नै संरक्षक भनिएको सरकारको यो अंगका कारण आफूलाई नै लज्जावोध भएको पाए।
जसरी शरीरमा अनुहारको महत्व हुन्छ त्यसै गरी नेपालको अनुहार नेपाल प्रवेश गर्ने पहिलो स्थानले दिन्छ। नेपाल प्रवेश संगै भोगिने यस्ता ब्यबहारले विप्रेषणका श्रोत वैदेशिक रोजगारी गर्नेहरूले आफ्नो देशको मुहार कस्तो देख्लान्रु
नेपालीहरूको सहने बानीलाई दुरूपयोग गरेर गरिने यस्ता ब्यबहार तुरून्त सुधार गर्नु पर्ने देखिन्छ। बहुमूल्य पहेलो धातुको अवैध पैठारी रोक्न यस्तो ब्यबहार गरिएको हो भने सो दिनको ब्यबहारले देशमा कति राजस्व थप भयोरु जबाफ दिनु पर्छ सम्बन्धित निकायले। विगतमा ३३ किलो सुनको कथा पनि यही स्थानले निर्माण गर्यो, हात्ती छिराउन सक्ने प्वालको कथा पनि यसैले बनायो भने यस किसिमका कथाहरूको रचनाकार यो कार्यालयले आफ्ना सेवा ग्राहीहरू उपरको ब्यबहारमा सुधार ल्याउन ढिला नगरोस् यही मेरो र म जस्ता उपभोक्ताको आग्रह छ।

Loading spinner