प्रचण्डका घरवेटीको ५ करोड जफत गर्दै सरकार

khabarwave
२१ भाद्र २०७७

काठमाडौं। सरकारले आम नागरिकमाथि बेइमानी गरेका दुई ठेकेदार कम्पनीमाथि कारबाही गर्दै १० करोड रकम जफत गर्ने भएको छ । गत पुसमै ठेक्का लिएर भदौ लाग्दासम्म किसानसमक्ष मल नपुर्‍याउने दुईवटा ठेकदार कम्पनीको ५/५ करोड रुपैयाँ धरौटी सरकारले जफत गर्ने भएको हो । यी दुवै कम्पनीलाई कालोसूचीमा राख्नका लागि समेत कृषि मन्त्रालयले सिफारिस गर्ने भएको छ । आइतबार कृषि सामग्री कम्पनी लिमिटेडको बैठक बसेर दुवै ठेकेदारको धरौटी जफत गर्न लागेको बताइएको छ । संस्थानले गत पुसमा वर्षायामको मल आपूर्तिका लागि शारदाप्रसाद अधिकारीको शैलुङ कन्स्ट्रक्सन कम्पनी र होमनाथ कोइरालाको होविको मल्टीपल कम्पनीलाई मल आपूर्तिको ठेक्का दिने निर्णय गरेको थियो ।

उनीहरूले मल आपूर्ति गर्नुपर्ने अन्तिम डेटलाइन सकिइसकेको तर अहिलेसम्म आपूर्ति गर्न नसकेका कारण दुवै कम्पनीलाई कारबाही गर्न लागिएको स्रोतले बतायो । मलको ठेक्का हात पार्ने शैलुङ कस्ट्रक्सनका शारदाप्रसाद अधिकारी नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का घरबेटी हुन् । उनले माओवादीको प्रभाव प्रयोग गरेर ठेक्काहरू हात पार्ने गरेको र मलमा पनि त्यस्तै प्रभावको प्रयोग भएको स्रोतको दाबी छ । त्यसैगरी अर्को होविको मल्टिपल कम्पनीका होमनाथ कोइराला नेपाली कांग्रेस निकट ठेकदार मानिन्छन् ।
यसैबीच, शनिबार विप्लव समूहका प्रवक्ता प्रकाण्डले एक वक्तव्य जारी गरेर शारदाप्रसाद अधिकारी र होमनाथ कोइरालालाई सरकारले कारबाही नगरे आफ्नो पार्टीले कारबाही गर्ने चेतावनी दिएका थिए । विप्लव समूहको चेतावनी आएको भोलिपल्टै प्रचण्डका घरबेटीसहितका ठेकदारलाई सरकारले कालोसूचीमा राख्न लागेको हो ।

Loading spinner