होम आइसालेशनमा दिनचर्या र खानपान

khabarwave
१५ भाद्र २०७७

कोभिड—१९ को वैश्विक महामारीले आज विश्व नै अक्रान्त छ । यो लेख तयार पार्दासम्म हाम्रो देशमा ३८५६१जना कोरोना ले संक्रमित भइसकेका छन्, जसमध्ये १७७३९जति सक्रिय केसहरु अहिले पनि विभिन्न आइसोलेशन केन्द्र, अस्पताल आदिमा उपचाररत छन् भने कतिपय होम आइसोलेशनमा बसेका छन् तथा २२१ जना आर.टी. पि. सि. आर. पोजेटिभ व्यक्तिहरुको मृत्यु भएको सरकारी आँकडा छ । आर.टी. पि. सि. आर. पोजेटिभ व्यक्तिहरुकोे संख्या दिनानुदिन बढ्दै गइरहेको स्थिति छ ।

दैनिक रुपमा बढ्दै गइरहेको कोरोना संक्रमितहरु को अत्यधिक संख्या हाल उपलब्ध स्वास्थ्य संरचनाले थाम्न सक्ने स्थिति देखिदैँन । कोरोना संक्रमितहरु मध्ये ८० प्रतिशत केसहरु लक्षण रहित भए पनि लक्षणयुक्त संक्रमितहरुको संख्या बढिरहेको देखिन्छ । कडा खालको लक्षणयुक्त बिरामीहरु को संख्या बढ्न थालेको स्थिति तथा अन्य जटिल रोगका बिरामीहरुले अस्पतालहरुमा शैया पाउने सुनिश्चित्ताको लागि नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लक्षण नभएका वा सामान्य लक्षण भएका कोभिड —१९ संक्रमित व्यक्तिहरुको लागि घरमै आइसोलेशनमा बसि आवश्यक सावधानी अपनाई स्वास्थ्यकर्मीहरुको निगरानीमा बस्ने निर्देशिका जारी गरेको छ ।

घरमा आईसोलेशनमा बस्दा यस बाट बच्न पटक पटक साबुन पानीले हात धुने, व्यक्तिगत तथा भौतिक दूरी कायम गर्ने तथा मास्क को प्रयोग गर्ने तथा नेपाल सरकारले जारी गरेको निर्देशिकाहरुको पालन तथा हितकर आहार, विहार आदिको सेवन तथा विभिन्न औषधयुक्त वनस्पत्तिहरुको प्रयोगले रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्नु नै आजको आवश्यकता हो । यहाँ होम आइसोलेशनमा बस्दा परिपालन गर्नुपर्ने दिनचर्या, रात्रिचर्या, पथ्य, अपथ्य आदिको वर्णन गर्न खोजिएको छ ।

घरमा आइसोलेशन बस्दा पालन गर्नुपर्ने सामान्य निर्देश
(१) पर्याप्त प्रकाश आउनेर हावा खेल्ने छुट्टै कोठामा बस्ने,
(२) उपचार अवधिभर घर बाहिर ननिस्किने, आवश्यक सामाग्रीहरु परिवारका सदस्यहरु बाट मगाउने ।
(३) खानपानिमा विशेष सावधानी अपनाइ पर्याप्त मनतातो पानी, झोलिलो र पोषिलो खानेकुराहरू खाने ।
(४) आफुले प्रयोग गरेका भाँडाकुँडाहरु सुरक्षित रुपले आफै सफा गरि राम्रो संग पुछेर मात्र पुनः प्रयोग गर्ने ।
(५) स्नानघर र शौचालयको छुट्टै व्यवस्था मिलाउने र सामूहिक रूपमा प्रयोग गर्नुपर्ने अवस्थामा संक्रमितले प्रयोग गरेपछि सरसफाई मा प्रयोग हुने डिस इन्फेक्टले राम्रो साँग सफा गरे पश्चात मात्र अन्य सदस्यले प्रयोग गर्ने ।
(६) हात धनुे बेसिनहरु संक्रमणको श्रोत हनुसक्ने भएकोले दाँत माझ्ने लगायतका समानहरु बेसिन बाहेक छुट्टै स्थानमा राखेर प्रयोग गर्ने,
(७) ढोका, ढोकाका ह्यान्डल, टेबल तथा अन्य समानहरु जुन धेरै व्यक्तिहरूले चलाउने वा छुने सम्भावना रहन्छ ती समानहरु डिसइन्फेक्टेन्ट प्रयोग गरी नियमित सफा गने,
(८) घरमा हातधनुे साबनु र पानीको पर्याप्त व्यवस्था गरी सबै सदस्यहरूले समय समयमा पटक पटक हात सफा गर्ने,
(९) भाँडाकुँडा र कपडा धुदाँ सकेसम्म पंजा लगाएर धुने वा मेसिनमा छुट्टै धनुे र राम्रोसंग घाममा सुकाएर मात्र पुनः प्रयोग गर्ने,
(१०) संक्रमितको हेरचाहको लागेको वा प्रत्यक्ष सम्पर्कमा रहने व्यक्ति र संक्रमितले अनिवार्य रुपमा मेडिकल वा सर्जिकल मास्कको अनिवार्य प्रयोग गर्ने ।
(११) घरमा बढी जोखिममा रहने समूहहरू (जस्तै : दीर्घ रोगीहरू, ६० वर्ष माथिका जेष्ठ नागरिकहरू, गर्भवति तथा सत्ुकेरी महिलाहरू) लाई संक्रमितको सम्पर्क बाट टाढा राख्ने,
(१२) संक्रमितको दिनमा कम्तीमा ३ पटक ज्वरो जााँच गरी रेकर्ड राख्ने ।
(१३) संक्रमित स्वंयले वा निजको हेरचाहमा संलग्न परिवारको सदस्यले संक्रमितलाई श्वासप्रश्वासमा कठिनाई भएमा, वा छाती दुखेमा वा भारी भएमा वा ओठ तथा अनुहार निलो भएमा वा होस हराएमा वा अन्य कुनै जटिल अवस्था भएमा तुरुन्त सम्बन्धित स्वास्थ्यकर्मीलाई सम्पर्क गर्ने ।

घरमा आइसोलेशनमा बस्दा अपनाउनु पर्ने दिनचर्या
आयुर्वेद र्सहिताहरुमा दिनचर्या, रात्रिचर्या, ऋतुचर्या आदिको विस्तृत वर्णन गरिएको पाइन्छ । दिनचर्या, रात्रिचर्या, ऋतुचर्याको उचित परिपालनले वात, पित्त, कफ दोषहरुलाई, रसरक्तादि धातु, मलमूत्रादिलाई सम्यक् अवस्थामा राखि हामिलाई स्वस्थ्य बनाई राख्दछ । महामारीको यो समयमा दिनचर्या, रात्रिचर्या, ऋतुचर्या को उचित परिपालन तथा पथ्य आहार विहारको सेवन र अपथ्य आहार विहारको परित्याग अवश्यम्भावी हुन्छ । दिनचर्या भन्नाले विहान सवेरै उठेदेखि रातिहुन्जेल सम्म गरिने आहार, विहार, व्यायाम आदिलाई बुझिन्छ । त्यसै गरि रात्रिचर्यामा साँझ परेदेखि राति सुत्ने समयसमेतलाई बुझाउछ । ऋतुचर्या भन्नाले ऋतु अनुसार गरिने आहार, विहार आदिलाई बुझाउछ । शरीरमा रोग प्रतिरोधि क्षमतालाई मजबूत गर्न स्वस्थ्यकर तथा सन्तुलित खानपान, उपयुक्त दिनचर्या, ऋतुचर्या आदिले भूमिका खेल्दछ । योग, ध्यान आदिको नियमित अभ्यासले समेत शरीरको रोग प्रतिरोधात्मक क्षमता अभिवृद्ध हुन्छ ।
कोभिड—१९ को यस महामारीमा आयुर्वेद तथा वैकल्पिक चिकित्साको भूमिकालाई मध्येनजर गर्दै नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड—१९ को व्यवस्थापनकोलागि आयुर्वेद तथा वैकल्पिक चिकित्साका सम्बन्धि निर्देशिका समेत जारी गरेको छ । सो निर्देशिकामा उल्लेखित विभिन्न औषध द्रव्यहरुको प्रयोग गरि राष्द्रिय आयुर्वेद अनुसन्धान तथा तालीम केन्द्र, कीर्तिपुर समेतले त्यहाँको आइसोेलेशनमा आयुर्वेद औषधिहरुको परिक्षण प्रयोग गरिरहेको छ । जसबाट संक्रमित व्यक्तिहरुलाई चाँडै संक्रमण मुक्त हुन मदत भएको प्रारम्भिक अध्ययनले देखाएको छ । साथै नेपाल स्वास्थ्य अनुसन्धान परिषद् समेतले यष्टीमधु र त्रिकटु चूर्णको समिश्रणको क्लिनिकल द्रायल गर्ने भएको छ ।

दिनचर्या  
विहान : जहिले पनि सकभर ब्रम्ह मुहुर्तमा (विहान ४ बजे देखि ५ बजे भित्र), नसके कमसे कम सुर्य उदय हुनु भन्दा ४५ मिनट पहिले उठ्ने, त्यसपछि नित्य कर्म गर्ने ।

दैनिक रुपमा तपसील बमोजिमको योगासन वा चिकित्सीय योगाभ्यासहरु गर्ने
– सूर्य नमस्कार, धनुरासन, गोमुखासन, ऊष्ट्रासन, भुजङ्गासन, सेतुबन्धनासन, पद्मासन कम्तीमा १० मिनट ।
– प्राणायाम (अनुलोम–विलोम, कपालभाति, भस्त्रिका र भ्रामरी ) वा श्वासप्रश्वास व्यायाम (कुर्सीमा गरिने श्वासप्रश्वास व्यायाम, हात बाहिर तथा भित्र गरि गरिने श्वासप्रश्वास व्यायाम) कम्तीमा १० मिनटसम्म ।
– शिथिलीकरण व्यायाम (मेरुदण्ड तथा अन्य जोर्नीहरु गतिशील पार्ने व्यायाम) १० मिनट सम्म ।
– ध्यान (ओम्कार उच्चारण, ध्यान, संगीत उपचार) १५ मिनट सम्म ।
– त्यस पछि एक चिम्टि नून र एक चिम्टि बेसार १ ग्लास मनतातो पानीमा हालेर कुल्ला गर्ने ।
– १ ठूलो चम्चा खाने तेल मुखमा राखेर मुख भरि हल्लाउने र मुखमा कमसे कम ५ मिनट राख्ने र पछि फाल्ने, त्यस पछि मनतातो पानीले कुल्ला गर्ने ।
– १ लीटर पानीमा पुदिना र तुलसीको पात प्रत्येक ३ देखि ४ वटा सम्म र ३ देखि ५ ग्राम बेसार हालेर उमालेर त्यसको वाष्प ५ देखि १० मिनेटसम्म दिनको एक वा दुइ पटकसम्म वाफ लिने।
– जल नेति गर्न सक्नेहरुले यो क्रिया विहान सवेरै गर्दा नाक तथा नेजोफ्यारिंग्समा भाईरल लोड कम गर्न मदत गर्दछ ।
– नाकको दुवै प्वालमा दुइ दुइ थोपा सरसो वा तिलको तेल हाल्ने ।
– विहान ७ बजे देखि ९ बजे सम्मको घाम ताप्ने ।
– स्नान : मनतातो पानीले नभए समान्य तापक्रमको पानीले नियमित स्नान गर्ने । भोजन लगतै स्नान गर्न हुदैन ।

आहार
– विहान खाली पेटमा १ चम्चा च्यवनप्राश मनतातो पानी संग
– ४/५ वटा तुलसीको पात, २ सलाईस अदुवा, २ दाना मरिच, १ वटा अलैची, एउटा सानो टुक्रा दालचिनि, ३ दाना कालो किसमिस हालेर पकाएको चियामा कागतीको रस निचोरेर वा रेडिमेड तुलसी चिया वा गुडुची चिया वा बुढि औला आकारको लगभग १.५ इन्च गुर्जो ( लगभग १०ग्राम) थिचेर लगभग १ ग्लास पानीमा उमालेर आधा पारी चिया जस्तै खाने ।
– सुन्तला, अंगूर, अमला आदि साइट्रस (साइट्रस फ्रुट्स) फलफूल
– ड्राइ फ्रुट्स ।
– खानामा हल्का सुपाच्य सात्विक आहार ः रातो शालीको चामल, मंगको दाल, मौसमी तरकारी र सागसब्जी, पुदिना, टिमूर हालेको चटनी ।
– मनतातो पानी पटक पटक प्रयोग ।
– फ्रिजमा हालेको खानेकुरा सकभर नखाने ।
– खाना लगतै टन्न पानी नखाने, खाना खाएको ४५ मिनट पछि पानी खाने ।
– खाना खाएपछि सकभर १० मिनट बज्रासनमा बस्ने ।
– बढि फ्राइ गरेको, तेल हालेको, बढि पिरो, अमिलो, आदि नखाने ।
– खानामा लसून, अदुवा, धनिया, जिराको मसला प्रयोग गर्ने ।
– दिउँसो नसुत्ने
– दिउँसो रचनात्मक क्रियाकलापमा समय व्यतीत गर्ने ।
– सन्ध्याकालमा नाचगान गर्ने वा योगा र ध्यान गर्ने ।

रात्रिचर्या

– रात्रिकाल मा हल्का भोजन गर्ने, राति ८ बजे भित्र खाना खाइसक्ने ।
– रात्रीकालको भोजन पश्चात केहिबेर कोठामा वरिपरि घुम्ने र खाना खाएको २ घण्टा पछि मात्र सुत्ने ।
– राति सुत्नु भन्दा अघि १ चम्चा बेसार हालेको मनतातो दूध खाने ।
– १० मिनेट फुट वाथ – नून वा टंकण भस्म हालेका मनतातो पानीमा खुट्टा भिजाउने । त्यसपछि राम्ररी सफा कपडाले खुट्टा पुछ्ने ।
– नाकको दुवै प्वालमा दुइ दुइ थोपा सरसो वा तिलको तेल हाल्ने ।
– ७ देखि ८ घण्टा सुत्ने ।

घरमा आइसोलेशनमा बस्दा अपनाउनुपर्ने केहि थप उपायहरु
– शूण्ठी जल – २ ग्राम शूठो १ लीटर पानीमा पकाइ तयार भएको जल आवश्यकता अनुसार पटक पटक सेवन गर्ने ।
– चित्रकादी वटी : २ वटी बिहान बेलुका मनतातो पानी संग ।
– सुख्खा खोकी वा घाँटी खसखस भएको खण्डमा १ ग्राम ल्वांङ्गको धूलो मह वा मिश्रीसंग मिसाएर २ देखि ३ पटक सेवन गर्ने ।
– च्यवनप्राश १ ठूलो चम्चा (१० ग्राम) बिहान खाली पेटमा सेवन गर्ने वा ताजा अमला वा अमला चूर्ण ६ ग्राम बिहान बेलुका मनतातो पानीसंग दैनिक रुपमा खाली पेटमा सेवन गर्ने । (मधुमेहका रोगीले चिनीरहित च्यवनप्राशको उपयोग गर्ने)
– चित्रक हरीतकी १ चम्चा (३ देखि ६ ग्राम) बिहान बेलुका मनतातो पानी वा मनतातो दूधसंग सेवन गर्ने ।
– यष्टीमधु चूर्ण १ चम्चा (२ देखि ४ ग्राम) मनतातो पानीसंग दिनको दुइ पटक सेवन गर्ने ।
– महासुदर्शन चूर्ण (३ देखि ६ ग्राम) वा काढा पकाएर ४० मि.लि. बिहान बेलुका । विशेषतः ज्वरो आएमा ।

पथ्य अपथ्य
पथ्य भन्नाले शरीर तथा मनको लागि हितकर र अपथ्य भन्नाले शरीर तथा मनको लागि अहितकर भन्ने बुझिन्छ । पथ्य आहार, विहारको सेवनले स्वस्थ्य व्यक्तिको स्वास्थ्य रक्षा गरि दिर्घायु बनाउँछ र रोगी व्यक्तिको रोग शमन गर्न मदत गर्दछ भने अपथ्य आहार, विहारको सेवनले रोगीहरुमा रोग जनित उपद्रव उत्पन्न गर्दछ भने स्वस्थ्य व्यक्तिहरुलमा दोषहरुको संचय गरि रोग उत्पन्न गर्दछ । आयुर्वेद सिद्धान्त अनुसार कोभिड—१९ को संक्रमणलाई कफवात सन्निपातज व्याधि संग तुलना गर्न सकिन्छ, जसमा ज्वर, तृष्णा, कास (खोकी), उरःशूल (छाती दुख्ने), श्वास (दम बढ्नु), अतिसार आदि लक्षणहरु देखिन्छन् । हालसम्मको आँकडा अनुसार मुटु रोग, मधुमेह, दम, मृगौला रोग जस्ता दीर्घ रोगीहरुमा कोरोनाको संक्रमण बढी हुने तथा यिनीहरुमा जोखिम पनि बढी हुनेहुन्छ । यिनै कुरालाई मध्येनजर गर्दै यहाँ यस्तै रोगहरुमा आयुर्वेद अनुसार वर्णन गरिएका पथ्य अपथ्यहरु उल्लेख गर्न खोजिएको छ ।

ज्वरमा पथ्य
– पुरानो चामल (सम्भव भए साठी चामल वा शाली चामल), मंूग, मुसुरो, गहत वा चनाको दाल,
– परवल, करेला, सहिजन, बेथे, चौलाई, जीवन्ती साग,
– किसमिस, दाख, कपित्थ, अनार
– मण्ड, पेया, यवागू, खिचडी, मिश्री ।
– मनतातो पानी ।

ज्वरमा अपथ्य
– अति व्यायाम, मल—मूत्रको वेग धारण, दिउँसो सुत्ने, राती जाग्ने,
– विष्टम्भी, विदाही आहार सेवन, दहि, तरबूजा, बडहल, तिलकूट, तिल पिष्टी,
– तारेको तथा फ्राई गरेको पदार्थ, अंकुरित अन्न ।
– पहिले खाएको खाना नपच्दै पुनः खाना खानु,

श्वास—कासमा पथ्य
– पुरानो चामल (सम्भव भए साठी चामल वा शाली चामल), गहुँ, गहत, जौ,
– पुरानो घ्यू, मह, दुग्ध (सम्भव भए बाख्रीको दूध, नभए गौ दुग्ध)
– बेथे, लुडँै, जीवन्ती, कलिलो मूला आदिको साग
– परवल, तिलकोर, लसून, कागती, उष्ण जल, दाख, अंगूर, सुकमेल, अलैची, पोहकरमूल, हर्रो, कण्टकारी, वासा, त्रिकटु ।
– राम्ररी पकाएको मासु (खसी वा कुखुराका) र मांसरस ।

 श्वास—कासमा अपथ्य ः
– माछा, जिमीकन्द वा ओल, सरसोको साग, माष, निष्पाव, रुक्ष अन्न, तारेको वा फ्राइ गरेको खाद्य पदार्थ, विष्टम्भी वा विदाही (सजिलै नपच्ने तथा दाह उत्पन्न गर्ने खानेकुरा) ।
– वेग विधारण (मल, मूत्र आदिको वेग रोक्नु)
– रात्रि जागरण, दिवा स्वपन, ।

मधुमेह रोगको लागी पथ्य
– गहुँ, षष्टिक शाली (साठी रशाली चामल), कोदो, कंगु, मधुलिका, समा, मकै, चना, अरहर, गहत, मूँग, मसूरो ।
– कुभिण्डो, करेला, परवल, बरेला(कर्कोटिक)
– सहजन, भन्टा, विम्बी, इन्द्रवारुणी, प्याज, लसुन, तितेलौकी, घिरौला काँचो केरा
– लोनिका, सहजनको पात, द्रोणपुष्पीको पात, गुर्जोको पात, काकमाची पत्र,
– खजुर, आरु, कपित्थ, जामुन, डुम्री, तरबूजा,
– सरसोको तेल वा तोरीको तेल, तिलको तेल
– तक्र (मोही), परेवा, तितिर आदि पँक्षीको मासु, कमल कन्द, खयर, अन्य तितो पदार्थ
– व्याम, योग, उबटन

मधुमेह रोगको लागी अपथ्य आहार र विहार
– जतिखेर पनि खाइ रहने बानि। नयाँ अन्न सेवन, दहि। उखु, घिउ सिमी, मिष्ठान्न, अत्यधिक जलसेवन
– बढी गुलियो, अमिलो पदार्थको सेवन
– विरुद्ध अन्नपान – विरुद्ध अन्नपान भन्नाले दुइ वा दुइ भन्दा बढी आहार द्रव्यको मिश्रण जसले हानिकारक प्रभाव उत्पन्न गर्दछ । जस्तै दूध र माछा एकसाथ सेवन गर्नु ।
– मल, मुत्रको वेग धारणा गर्नु, धुम्रपान
– मद्दपान
– दिउँसो सुत्नु ।

ह्रदय रोगमा पथ्य
– मूंग, गहत, चना को दाल, रहरको दाल, जौ, गहुँ, कोदो, कंगु, पुरानो चामल,
– अमला, कपित्थ फल, बेल, सुन्तला, बिजौरा निम्बू, दाडिम वा अनार, कागती, बयर,
– मही, बेसार युक्त गाईको दूध,
– अलस, सरसो वा तोरीको तेल,
– मरिच, दालचिनि, लसून, धनियाँ, जीरा, मेथि, शूठो आदि मसला
– मह, सैन्धव ।
– उबटन, स्नान, हल्का व्यायाम, योग,

ह्रदय रोगमा अपथ्य
– दही, क्षार, कांजी, शुक्त, ड्राइ मिट, पोर्क मिट, बिफ, ब्ल्याक ग्राम, बिन्स, अंकुरित बीज, शुष्क शाक,
– मैदाबाट बनेका खाद्य पदार्थ, पत्रु खाना वा जंक फुड, नयाँ अन्न, कालो तिल,
– आलु, सख्खरखण्ड, मद्यपान, धूम्रपान,
– अति भोजन सेवन, शारीरिक व्यायाम बिल्कुलै नगर्नु, दिउँसो सुत्नु, ।

सारांश
होम आइसोलेशनमा बस्दा नेपाल सरकारले जारी गरेको दिशा निर्देशहरु पालन गर्नु अपरिहार्य हुन्छ, साथै स्वास्थ्यकर्मीको नियमित सम्पर्कमा बस्नुपर्दछ । साथै घरमा आइसोलेशनमा बस्दा शरीरमा रोग प्रतिरोधि क्षमतालाई मजबूत गर्न स्वस्थ्यकर तथा सन्तुलित खानपान, उपयुक्त दिनचर्या, ऋतुचर्या आदिले भूमिका खेल्दछ जसले गर्दा कोभिड—१९को संक्रमण बाट बच्न तथा संक्रमणलाई जित्न सहज हुन्छ । योग, ध्यान आदिको नियमित अभ्यासले समेत शरीरको रोग प्रतिरोधात्मक क्षमता अभिवृद्ध हुने कुरा आधुनिक अध्ययन अनुसन्धान समेतले पुष्टि गरिसकेको छ । यस्तो रोग प्रतिरोधि क्षमता वृद्धि गर्ने कार्यमा औषधजन्य वनस्पतिहरु तथा भान्सामा प्रयोग हुने विभिन्न मसलाहरुले पनि महत्वपूर्ण भूमिका खेल्दछ । साथै पथ्यको सेवन र अपथ्यको त्याग गर्नुपर्ने हुन्छ जसले रोगलाई जित्न मदत गर्दछ ।

कोभिड १९का कुनै खास औषधि हाल सम्म पत्ता नलागिसकेको अवस्था तथा भ्याक्सिनहरु पनि परिक्षण कै क्रममा रहेकोले यस बाट बच्न आयुर्वेद संहिताहरुमा वर्णित औषध द्रव्यहरुको प्रयोग र यसको प्रभावकारिता बारे केहि प्रारम्भिक अध्ययनहरुले सकारात्मक परिणाम देखाएको छ । राष्द्रिय आयुर्वेद अनुसन्धान तथा तालीम केन्द्र, कीर्तिपुर समेतले त्यहाँको आइसोेलेशनमा आयुर्वेद औषधिहरुको परिक्षण प्रयोग गरिरहेको छ । जसबाट संक्रमित व्यक्तिहरुलाई चाँडै संक्रमण मुक्त हुन मदत भएको प्रारम्भिक अध्ययनले देखाएको छ । साथै नेपाल स्वास्थ्य अनुसन्धान परिषद् समेतले यष्टीमधु र त्रिकटु चूर्णको समिश्रणको क्लिनिकल द्रायल गर्ने भएको छ । यसरी हजारौ वर्षदेखि प्रचलनमा रहेको आयुर्वेद चिकित्सा ग्रन्थमा वर्णित विधि तथा साधनहरु समेतको प्रयोग गरि कोभिड—१९ जस्ता महामारी विरुद्ध लड्नु आजको आवश्यकता हो ।

 

Loading spinner