राष्ट्र बैंकका कर्मचारीलाई पनि कोरोना संक्रमण

khabarwave
२८ श्रावण २०७७

काठमाडौं। नेपाल राष्ट्र बैंकका कर्मचारीमा पनि संक्रमण भएको छ। राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागमा कार्यरत सहायक तहको कर्मचारीमा बुधबार कोरोनाको संक्रमण पुष्टि भएको हो। कोरोना पुष्टि भएसँगै उक्त विभागका कार्यरत सबै कर्मचारीहरुको पीसीआर परीक्षणका लागि स्वाव संकलन गरिएको राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले जानकारी दिए। केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारीमा संक्रमण पुष्टि भएपछि बैंकले अत्यावश्यक कर्मचारीलाई मात्र कार्यालयमा उपस्थित हुन भनेको छ। सकेसम्म घरबाटै काम गर्नेगरी कार्ययोजना बनाइएको भट्टले बताए।

यसअघि राष्ट्र बैंकले आलोपालो प्रणालीमा कर्मचारी व्यवस्थापन गरी वित्तीय सेवा दिन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको थियो। कर्मचारीको समूह बनाएर आलोपालोमा कार्यालय उपस्थित हुने र अन्य दिनमा घरबाट काम गर्ने व्यवस्था गर्न निर्देशन दिएको हो। कोभिड—१९ को संक्रमण बढ्दै गएकाले बैंकहरुलाई व्यवसाय निरन्तरता सम्बन्धी योजना बनाउन समेत निर्देशन गरेको छ।
यसैगरी प्रदेश सरकार, स्थानीय तह र स्थानिय प्रशासनसँग समन्वय गरी शाखा संचालन गर्न र वैकल्पिक रुपमा आलोपालो गरी शाखा खोल्न र विद्युतिय कारोबारमा प्रोत्साहन गर्न पनि राष्ट्र बैंकले निर्देशन दिएको छ।

Loading spinner