एसएलसी परीक्षा उहिले र अहिले

khabarwave
२४ श्रावण २०७८

सदा झै यस वर्ष पनि दस कक्षाको परीक्षा (SEE) को नतिजा प्रकाशन आज भयो। विश्वमा महामारीको रूपमा फैलिएको कोरोना प्रकोपका कारण गत वर्ष जस्तै यस वर्ष पनि विद्यालयले लिने आन्तरिक परीक्षालाई नै आधार मानेर यस पटकको नतीजा प्रकाशन भएको जनाईएको छ।उच्च शिक्षाको प्रवेशको लागि यो परीक्षालाई थ्रेस होल्ड मानिन्छ। राष्ट्रलाई आवश्यक पर्ने जन शक्ति उत्पादनका लागि यो परीक्षाले प्रतिभावान् र योग्य विद्यार्थी छनौट गर्ने माध्यमको रूपमा यो परीक्षालाई लिईएको छ। नेपालको शैक्षिक ईतिहासलाई हेर्दा सन् १९३४ बाट यो परीक्षा लिन थालियो। राणा का सन्तानलाई शिक्षा दिन शुरू भएको यो परीक्षा दरवार हाई स्कुलमा शुरू गरिएको थियो। यो परीक्षालाई २०७२ साल भन्दा अगाडि एस.एल.सी. परीक्षा भनिन्थ्यो। सर्व साधारणले १९९० साल भन्दा अगाडि यो परीक्षा भारतबाट दिनु पर्दथ्यो।

त्यति बेला एसएलसी परीक्षालाई फलामे ढोका पनि भनिन्थ्यो। हुन त कुनै पनि परीक्षा उत्तीर्ण गर्ने काम सजिलो त कहां हुन्छ र! तै पनि यो परीक्षा उत्तीर्ण गर्न ज्यादै गार्हो हुने भएकोले यसलाई फलामे गेट भनिएको हुनु पर्छ। परीक्षार्थीको संख्या कम हुने हुदा यो परीक्षाका केन्द्र जिल्ला भर १ वा २ वटा मात्र हुन्थे जसले गर्दा परीक्षाको सन्चालन र नियन्त्रणमा निकै कडाई हुन्थ्यो। परीक्षा सन्चालन गर्ने सुपरिन्टेन्डेन्ट केन्द्रबाट खटिन्थे। परीक्षाको मर्यादामा हुने अलिकति पनि कमजोरी क्ष्याम्य हुदैनथ्यो। परीक्षाको उत्तीर्णांक ३० प्रतिशत हुन्थ्यो तर ९०० पूर्णांकमा २८८ नम्बर वा औसतमा ३२ % नआए असफल भईन्थ्यो।

परीक्षा नियमित र एक्जेम्प्टेड गरी दुई किसिमको हुन्थ्यो।नियमित परीक्षामा असफल हुने परीक्षार्थीले दिने परीक्षालाई एक्जेम्प्टेड परीक्षा भनिन्थ्यो। नियमित परीक्षा माघमा हुन्थ्यो भने त्यस पछि मात्र एक्जेम्टेड परीक्षा हुन्थ्यो। परीक्षा नियन्त्रण कार्यालयले लिने यो परीक्षाका अतिरिक्त गोपाल पांडे द्वारा सन्चालित प्रवेशिका परीक्षाले पनि एसएलसी सरहको मान्यता पाउदथ्यो। यसको परीक्षा केन्द्र बीरगन्जमा थियो। यसमा अंग्रेजी ऐच्छिक थियो तर एसएलसीमा भने अंग्रेजी अनिवार्य थियो।

त्यसैले यता अंग्रेजीमा असफल हुनेहरू गोपाल पांडेको प्रवेशिका परीक्षा दिन जान्थे। नयां शिक्षाको आगमन संगै यो प्रवेशिका परीक्षाको अन्त्य भयो।एसएलसीको परीक्षाको नतीजा जेष्ठको दोश्रो हप्तामा हुन्थ्यो।बोर्ड फर्स्ट देखि दस नम्बर सम्म आउनेहरूको नाम नम्बर रेडियोले सुनाउथ्यो तर अरूको नतिजा गोरखा पत्रमा निस्कन्थ्यो।त्यो बेलामा गोरखापत्रको नियमित मूल्य एक मोहर वा पचास पैसा मात्र थियो तर यसको रिजल्ट भएको दिन यसको मूल्य ब्ल्याकमा रू.१०/- सम्म पुग्दथ्यो।काठमाडौको भूगोल पार्क जहा गोरखापत्रको प्रधान कार्यालय हो त्यहा गोरखापत्र किन्नेको भिड लाग्दथ्यो।

राजधानी बाहिर त गोरखापत्र पुग्न एक हप्ता भन्दा बढी लाग्दथ्यो। यसरी एस एल सीको नतीजा हेर्नु पर्दथ्यो। टेलिफोनको असहजताले समय मै नतिजा सुन्न पाईदैनथ्यो। रिजल्ट चाहीं जिल्ला तिर प्रथम श्रेणीमा उत्तीर्ण हुनेहरूको संख्या एउटा हातको औंलामा गन्न सकिन्थ्यो। तृतीय श्रेणी ल्याउने केही ले त विज्ञान पढ्ने ल्याकत पनि राख्दथे। उहिलेको एसएलसी हेरी अहिले त सहज मान्नु पर्ने हुन्छ। परीक्षा प्रणाली लगायत ब्याक पेपर समेत दिन पाउने हालको ब्यबस्थाको त त्यति बेला कल्पना मै थिएन।

अहिलेको परीक्षा प्रशासन पनि पहिलेको भन्दा सहज मान्न सकिन्छ। जति सहजता बढ्दै गयो उती गुणस्तरमा ह्रास आईरहेको अनुभूति गरिदैछ। पहिले पहिले एसएलसी परीक्षामा प्रवेश गर्नु पहिले जिल्ला स्तरीय टेष्ट परीक्षा हुन्थ्यो, जुन एसएलसी स्तरकै हुन्थ्यो। यो टेष्ट पास हुनेहरू अधिकांशले एसएलसी उत्तीर्ण गर्दथे। त्यसैले यसरी लिईने कक्षा १० को परीक्षा एसएलसीको मानक मानिन्थ्यो। तर केही वर्ष यता आएर विद्यालयहरूले लिने आन्तरिक परीक्षामा स्तर कायम हुन सकेको देखिदैन।

विद्यार्थीहरू र शिक्षकहरू समेतमा मेहनत गर्ने बानीमा क्रमश: ह्रास हुदै गएको पाईन्छ। देशको शिक्षा नीतिले हाम्रो शैक्षिक आवश्यकतालाई संबोधन गर्न सकेको पाईदैन। त्यसैले हाम्रो शिक्षानीति, हाम्रो पाठ्यक्रम, हाम्रो समाज, हाम्रा नीति निर्माताहरूले हाम्रो देश र हामी नेपालीहरूको खांचोलाई परिपूर्ति गर्न सकेको पाईदैन। यसरी लिईने परीक्षाहरूले परीक्षार्थीको स्तर मापन गर्नुको सट्टा आफ्नो वार्षिक क्यालेण्डर पल्टाउने सिवाय केही गरेको पाईदैन। अवको शिक्षा ग्लोवल भै सकेको छ।

त्यसैले हाम्रो देशको शिक्षा पनि प्रतिस्पर्धी हुन जरूरी छ। हाम्रो शिक्षा गुण स्तरीय र प्रतिस्पर्धी हुन नसकेमा हाम्रो आन्तरिक जनशक्ति समेत बाहिर अध्ययन गर्ने जनशक्तिले प्रतिस्थापन गरिदिन सक्छ। हामीमा शैक्षिक बेरोजगारी बढ्ने छ। यसले आन्तरिक द्वन्द बढाउने सम्भावना देखाउछ। यी र यस्ता शैक्षिक विसंगतीलाई सुधार्न अब ढिलो हुदैछ।यस तर्फ शिक्षाविद्ले आवश्यक सोची शिक्षा नीतिमा सुधार गरी अगाडि बढ्न समय घर्की सकेको छ।

Loading spinner