हाम्रा नीतिमा देखिएको विचलन र यसको असर

khabarwave
१३ श्रावण २०७८

हाम्रो संस्कार , समाज र परिवार एक अर्को संग अन्योन्याश्रित छन्। हाम्रो पूर्वीय दर्शनले हाम्रो परिवार र समाजलाई निर्देशित गरेको पाईन्छ। हाम्रा नीति शास्त्रहरूले हाम्रो समाज, परिवार राजनीतिलाई दिएको निर्देशन पालना गर्न सकेमा देश, समाज र परिवार सु- संस्कृत र अनुशासित हुन पुग्छ।हामी संग भएका नीतिहरू यति धेरै छन् कि यिनीहरूको व्याख्या र विश्लेषण एकै ठाउमा गरियो भने अर्को महाभारत बन्न सक्छ। त्यसैले यहा समाज र परिवारमा महत्वपूर्ण भूमिका खेल्ने बालकको सन्दर्भमा बनेको एउटा नीति श्लोकलाई मात्र सान्दर्भिक गरिएको छ।

“लालयेत् पञ्च वर्षाणि दश वर्षाणिताडयेत्।

प्राप्ते तु षोडशे वर्षे पुत्रं मित्रवदाचरेत् ॥”

यहा भनिएको छ कि वच्चालाई ५ वर्ष सम्म माया गर्नु पर्छ, १० वर्ष सम्म नियन्त्रण गर्नु पर्छ र १६ वर्ष पुगे पछि साथीभाई सरह ब्यबहार गर्नु पर्छ। चाणक्य नीतिको यो श्लोकको यो भनाई कति मनोवैज्ञानिक छ, कति वच्चाको शारीरिक विकास संग सरोकारी छ र कति जीवन उपयोगी छ भन्ने कुरा यो श्लोकको मर्मले पुष्ट्याई गर्छ। मनोवैज्ञानिकले वच्चाको गर्भ देखि ५ वर्षको शारीरिक, मानसिक र संवेगात्मक विकासलाई आधार मानेर वच्चाको यो अवधीलाई ज्यादै संवेदनशील मानेको हुदा यो अवधीलाई माया देखाउने अवधि मानेका छन्।

वच्चाको ६ देखि १५ वर्षको अवधि ब्यक्तिको चरीत्र निर्माणको भूमिकामा अती महत्वपूर्ण रहन्छ भन्ने सार यो श्लोकको रहेको पाईन्छ। वास्तवमा गिलो माटोबाट कुम्हालेले समाजको आवश्यकता अनुसारको भाडा वर्तनको सृजना गर्छ।त्यसै गरी वच्चाको ६ वर्षको उमेर देखि १५ वर्षको उमेर सम्मको अवधिलाई कुम्हालेले प्रयोग गर्ने गिलो माटो संग तुलना गर्न सकिन्छ। हाम्रो शिक्षा प्रणाली पनि यही अवधारणालाई आधार मानेर तयार गरिएको पाईन्छ। देश र समाजलाई जुन किसिमको जनशक्ति आवश्यक पर्छ त्यस्तै किसिमको सांचोमा ढालेर कुम्हाले रूपी शिक्षकले जन शक्ति रूपि वर्तन तयार गर्छन्। त्यसै गरी वच्चाको परिवारले पनि वच्चाको यही उमेर अवधिलाई उपयोग गरेर आफ्नो संस्कार, अनुशासन, मर्यादा आदिको प्रशिक्षण दिने गर्छ। यसरी घर परिवार र समाजले बच्चालाई एक दक्ष र संस्कारी बनाउछ यो अवधिमा।

एउटा संस्कारी र नैतिक संरक्षक वा सदस्यले आफ्नो परिवारका सदस्यलाई जसरी योग्य बनाउन सक्छ त्यसै गरी राष्ट्रको एउटा नैतिक र दूर दर्शी संरक्षक वा राजनेताले मुलुक र मुलुकवासीलाई समुन्नत तुल्याउन सक्छ। तर हाम्रो घर परिवार र समाज यो मामिलामा कति सफल भएका छन्? त्यसै गरी यो संवेदनशीलतामा राज्य कति जिम्मेवार छ सोचनीय भएको छ। के हाम्रा नागरिक र युवाहरू चाणक्यको नीतिले कल्पना गरे जस्ता उत्पादन भएका छन् त?

आज हाम्रो घर परिवार र समाज किन असफल हुदै छ? किन जिम्वेवार र असल नागरिक बनाउन राज्य चुकेको अनुभव हुदैछ? हाम्रो वरपरको वातावरण विषाक्त त हुदै छैन? यी र यस्ता प्रश्नको उत्तर जिम्मेवार निकाय वा व्यक्तिले खोज्न ढिला भएको छैन र? आज राज्यले खोजे जस्तो नैतिक र चरीत्रवान नागरिक पाउन सकेको छैन, समाज र घर परिवारले पनि एउटा संस्कारी र जिम्मेवार सदस्यको अभाव महसुस गरीरहेको भान हुदै छ। समाजमा अपराधहरूको बढोत्तरी हुदैछ। राज्य कारागारको आकार बढाउन केन्द्रित छ, न्यायालय न्यायकर्मीको संख्या बढाउन उद्दत भएको पाईन्छ। सुरक्षा निकाय सुरक्षाकर्मी थप्न लागी परिरहेको छ।

के नियन्त्रणात्मक उपायबाट मात्र सामाजिक अपराधमा कमी आउला? यस परिस्थितिमा निदानात्मक उपायहरू तर्फ राज्य र समाजको ध्यान बढाउने हो कि हैन? हामीले यो क्षेत्रमा गरेको लागानीको समीक्षा गर्न कतै ढिला पो गर्यौ कि? अहिले हाम्रो मानवीय बजारमा एउटा राजनेताको अभाव खड्कदा देश र जनताले भोग्नु परेको दूरदशाका हामी प्रत्यक्ष साक्षी छौ, त्यसै गरी एउटा जिम्मेवार र नैतिकवान् नेत्तृत्व भेटाउन नसक्दा हामीले भोगी रहेको असंख्य पिंडालाई बयान गर्न नसक्ने स्थितिमा हामी पुगेका छौ। अहिले हामी हाम्रा बच्चा हाम्रो नियन्त्रणमा राख्न सकेका छैनौ। हामी संग बच्चाहरूलाई नियन्त्रणमा राख्न सक्ने क्षमता समेतमा ह्रास आउदै गएको छ।

वर्तमान समयमा बढोत्तरी हुदै गएको भौतिकताले हाम्रा बच्चाहरू नियन्त्रणमा लिई सक्यो। यसले हाम्रा बच्चाहरूमा मानवीय गुण हराउदै गएको अनुभूति हुदैछ। हाम्रा शिक्षालयहरू ब्यवसायीक हुदै छन्। शिक्षकहरू आफ्नो धर्म निर्वाह गर्न चुकेका छन्। राज्यले आफ्नो भूमिका सत्ता र स्वार्थमा सीमित गरेको छ। यस्तो परिस्थितिमा हाम्रो पूर्वीय दर्शनले अपेक्षा गरे जस्तो जन शक्ति उत्पादन हुन सक्दैन। अन्त्यमा हामी, हाम्रो समाज, हाम्रो परिवार हाम्रो राज्य सबै जिम्मेवार भएर अगाडि नबढ्ने हो भने भोलीको हाम्रो पुस्ताको भविष्य अन्धकार हुदै छ।

Loading spinner