वडाध्यक्ष होडाले गरे जनमुखी घोषणा, हेल्पडेस्कसहित बिहानैबाट कार्यालय खुल्ला

khabarwave
१८ जेष्ठ २०७९

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. ७ का नवनिर्वाचित वडाध्यक्ष विमल होडाले जनमुखी कार्यको शुरुआत गरेका छन् । एक समारोहकाबीच मंगलबार पद बहाली गर्दै अध्यक्ष होडाले कार्यालय समय बिहान ८ बजेदेखिनै सञ्चालनमा ल्याउने घोषणा गरेका छन् । सोही घोषणाबमोजिम बुधबार बिहान ८ बजेदेखि वडा कार्यालयले सेवा ग्राहीहरुलाई सेवा दिइरहेको छ । अन्यत्र काम गर्न जानुपर्ने सेवाग्राहीहरुलाई सहजताका लागि कार्यालय समय अगाडि सारिएको र अबदेखि वडा कार्यालय बिहान आठ बजेदेखि बेलुकी ५ः३० बजेसम्म सेवा दिने अध्यक्ष होडाले बताउनुभयो । त्यसैगरी पदबहाली लगत्तै बसेको वडा कार्य समितिको बैठकले वडाध्यक्षको उक्त योजनालाई अनुमोदन गर्दै अन्य निर्णयहरु समेत गरेको छ । कार्यालयमा सेवाग्राहीहरुका लागि हेल्प डेस्क स्थापना, कार्यालयभित्रै सेवाग्राहीलाई आवश्यक पर्ने पर्ने सेवाहरु फोटोकपी, प्रिन्टर, इन्टरनेट लगायतका सेवाहरु समेत निःशुल्क रुपमा प्रदान गरिने भएको छ । सो सेवा बुधबारबाट लागू भइसकेको छ । विश्व धूमपानरहित दिवसका दिन पद बहाली गरेका अध्यक्ष होडाले वडा कार्यालयलाई धूमपान निषेधित क्षेत्र समेत घोषणा गर्नुभएको छ । आगामी दिनमा वडा भित्रका भीडभाड युक्त स्थानमा धूमपान निषेधित क्षेत्र बढाउँदै लाने र विस्तारै वडाभरि नै उक्त कार्यक्रम सञ्चालन गर्ने अध्यक्ष होडाको योजना रहेको बुझिएको छ । नेपाल अर्वुद रोग निवारण संस्थाका महासचिव समेत रहनुभएका अध्यक्ष होडा सूर्तिजन्य पदार्थ नियन्त्रण र नियमनका लागि लामो समयदेखि अभियन्ताका रुपमा रहँदै आउनुभएको छ ।

Loading spinner