कृषि जागरणमा राष्ट्रिय खाद्य बैंक अघि बढ्दै

khabarwave
१५ जेष्ठ २०७९

काठमाडौं । ‘आजको आवश्यकता परिपूर्ति गर्न र भोलिको भावि पुस्ताहरुका लागि खाद्य सम्प्रभुता संरक्षण गर्न पोसिलो आहारका लागि दिगो कृषि उत्पादन हाम्रो अभियान’ भन्ने मुल नाराका साथ राष्ट्रिय खाद्य बैंक लिमिटेड विभिन्न क्षेत्रका ५९० जनाको लगानीमा स्थापना भएको हो । स्थापनाको छोटो समयमा यसको लोकप्रियता बढ्दै गएको छ । कृषिसँग सम्बद्ध विज्ञहरु र यस क्षेत्रमा केही गरौं भन्ने जोशिला निजी क्षेत्रका उद्यमी तथा व्यक्तिहरुको संलग्नतामा २ अर्ब रुपैयाँ रकमबाट केन्द्रीय कार्यालय काठमाडौं बानेश्वरबाट शुरु गरिएको उक्त बैंकले शाखा खोज्ने क्रमलाई तिव्रता दिएको छ । नेपालको पहिलो खाद्य बैंकको रुपमा रहेको यस बैंकले राज्यले परिकल्पना गरेको समृद्ध नेपाल बनाउनका लागि विशेष भूमिका खेल्ने दाबी लगानीकर्ताहरुको छ । कोभिड महामारीका बेला गरिएको बन्दाबन्दीको अवस्थामा शुरु गरिएको उक्त बैंकले सात जिल्लामा आफ्नो शाखा विस्तार गरी सेवा प्रवाह गर्दै आइरहेको र बाँकी जिल्लाहरुमा पनि शाखा खोल्ने तयारी भइरहेको बैंकका अन्तर्राष्ट्रिय विभाग प्रमुख एवं लगानीकर्ता आङतेम्बा शेर्पाले बताउनुभयो । अन्तर्राष्ट्रिय जगतमा विश्व खाद्य बैंक लगायत अन्य राष्ट्रहरुसँग सहकार्य गर्नका लागि बैंकका अन्तर्राष्ट्रिय विभाग प्रमुख शेर्पा केही दिनमै विभिन्न देशको भ्रमणमा जाँदै हुनुहुन्छ । खासगरी युरोप, अमेरिका, एसिया लगायतका देशमा हुन लागेको उहाँको भ्रमणका क्रममा बैंकको चेन विस्तार गर्ने विषयमा छलफल हुने बताइएको छ । बैंकले विदेशी लगानी भिœयाउन र चेन विस्तारका लागि भूमिका खेल्न शेर्पालाई जिम्मेवारी दिएको हो । आफ्नो विदेश भ्रमणपछि बैंकले दिएको जिम्मेवारी पूरा हुने अपेक्षा आफूले राखेको शेर्पाले बताउनुभयो । लगानी वृद्धिका लागि बैंकले केही समयभित्र सर्वसाधारणका लागि शेयर जारी गर्ने तयारी भइरहेको बताइएको छ । अग्र्यानिक कृषि उपजहरु उत्पादन गर्दै परनिर्भरता घटाउँदै आत्म निर्भर हुनका लागि बैंक स्थापना गरिएको हो । यसैगरी कृषि उपज खरिद गर्दा बाहिर जाने रकमलाई देशभित्रनै राख्न, रोजगारि श्रृजना गर्न, कृषि पर्यटनलाई बढावा दिन तथा राष्ट्रिय उत्पादकत्व बढाउनु पनि बैंकको उद्देश्य रहेको छ । शेर्पाकाअनुसार, इकोसिस्टमलाई बचाउँदै, बाताबरणको संरक्षण गर्ने, कृषिको लागि चाहिने जनशक्ति उत्पादन गर्दै ब्यबस्थापन गर्ने तथा स्वदेशमा खाध्य माग पुरा भएपछि कृषि उपजहरुलाई अन्तराष्ट्रिय बजारमा बिक्रि गरेर आम्दानी गर्ने लक्ष्य बैंकले लिएको छ ।
कृषि बिज्ञ, प्राबिधिक, सहकारी संस्थाहरु, कृषिमा लगानी गर्न इच्छुक ब्यक्तिहरुको लगानीमा शुरु भएको उक्त बैंकले देशको ७७ जिल्लामा र ७ सय ५३ वटा स्थानिय तहमा काम गर्ने, कृषि उत्पादन, भन्डारण, बिक्री वितरण समेत लक्ष्य लिएको छ । पाइलट प्रोजेक्टको रुपमा राष्ट्रिय खाद्य बैंक आफैंले किसान, सहकारी एवं समुहहरुसँग मिलेर कृषि उत्पादन गरिरहेको छ ।

 

Loading spinner