एकतर्फी प्रेमले निम्त्याएको अपराध

khabarwave
५ चैत्र २०८०

काठमाडौँ । तारेभिरको जङ्गलमा हात मात्र देखिएको स्थान उत्खनन गर्दा फेला परेकी सुष्मा लामाको हत्या छिमेकीले एकतर्फी प्रेमको कारण गरेको प्रहरीले खुलायो। कक्षा १२ मा पढिरहेकी सुष्मा माघ २२ गते विद्यालय गएपछि फर्किएर आएकी थिइनन्। हराएको भन्दै उनको परिवारले प्रहरीमा जाहेरी दिए पनि उनी फेला परिनन्। सुष्माको शव घरबाट पैदल हिँड्दा बढीमा १९ मिनेट लाग्ने दुरीमा गाडिएको अवस्थामा भए पनि फेला परेको थिएन। उनी हराएको भोलीपल्ट उनको फेसबुक अकाउन्टमा विवाह गरेको तस्बिर सार्वजनिक भएको थियो। फेसबुकमा तीन चार दिनपछि आउने भनेर लेखिएको थियो। तर बेहुलाको अनुहारमा इमोजी राखिएकाले चिनिने अवस्था थिएन। माघ २५ गते परिवारले प्रहरी वृत्त बौद्धमा जाहेरी दिएका थिए। उनले जाहेरी दिएपछि सुष्माको दिदीको मोबाइलमा सुष्माको मोबाइल नम्बरबाट, किन प्रहरीमा रिपोर्ट दिएको, मेरो पेटमा बच्चा भइसक्यो होला। अब म आउन्न भनेर मेसेज आएको थियो। त्यसपछि उनको मोबाइल नम्बर पनि बन्द भयो। फेसबुक पेज डिएक्टिभेट भइसकेको थियो। परिवारका सदस्यहरू विवाह गरेर भागी भनेर बसेका थिए। करिब एक महिनापछि फागुन २५ गते जङ्गलमा घाँस काट्न गएका स्थानीयले मानिसको हात देखेपछि प्रहरीलाई खबर गर्दा शव उत्खनन गर्दा बीभत्स अवस्थामा शव फेला परेको थियो। शवको हातखुट्टा बाँधेको अवस्थामा फेला परेको थियो। शवसँगै फेला परेको चाबीका आधारमा सो शव सुष्माको भएको खुलेको थियो। प्रहरीले चैत ४ गते सुष्माको हत्यामा संलग्न रहेको आरोपमा स्थानीय रुपेन्द्र लामालाई पक्राउ गरेर सार्वजनिक गर्यो।
प्रहरीले आइतबार सार्वजनिक गरेको विवरण अनुसार दीपेन्द्र सुष्माकै छिमेकी हुन्। २१ वर्षका उनी र सुष्मा कहिलेकाहीँ सँगै घाँस काट्न जाने अनि बाख्रा चराउन जाने गर्दै आएका थिए। करिब आठ महिना अगाडिबाट उनले सुष्मालाई एकोहोरो माया गर्न थालेका थिए। उनले सुष्मालाई पटक पटक प्रेम प्रस्ताव राख्दा उनले आफू १२ कक्षा सकाएर विदेश जाने भन्दै अस्वीकार गर्दै आएपछि उनले हत्याको योजना बनाएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका डिएसपी अनिल घिमिरेले जानकारी दिए। घटनाको आठ दिन अगाडिबाटै उनले सुष्माको हत्याको योजना बनाएको प्रहरीको दाबी छ। हत्या योजना अनुसार उनले सात दिनसम्म सडकमा कुर्दा कहिले सुष्मा विद्यालय नगएको र कहिले साथीहरूसँग जाँदा उनी जोगिएकी थिइन्। उनले हत्या गरेर शव लगेर गाड्ने स्थान पहिल्यै हेरेको र हत्या गरेर शव गाड्ने योजना अनुसारै कुटो लिएर बस्ने गरेको प्रहरीको दाबी छ। घटनाको दिन सुष्मा एक्लै विद्यालय हिँडेकी थिइन्। बाटोमा ढुकेर बसेका रुपेन्द्रले उनको बाटो रोकेका थिए। उनले प्रेम सम्बन्ध स्वीकार गर्ने कि नगर्ने भन्दा सुष्माले नमानेपछि पछाडिबाट लक लगाएर सास फेर्न नसक्ने बनाएर बेहोस बनाएपछि शव बोकेर जङ्गलमा लगेर कुटोले खाल्डो खनेर पुरेको प्रहरीको दाबी छ। उनले सुष्माको हात बाँध्न उनकै विद्यालयको टाइको प्रयोग गरेका थिए। हत्या गरेर शव गाडेपछि उनले सुष्माको किताब र मोबाइल बोकेर घर आए। घर आएर इन्टरनेटमा विवाह गरेको असम्बन्धित व्यक्ति फोटो तानेर दुलहीको अनुहारमा सुष्माको अनुहार म्यानुपुलेट गरेर दुलाहाको अनुहार नचिनुन् भनेर इमोजी राखेर सुष्माको मोबाइलबाट उनको फेसबुक पेजमा अपलोड गरिदिए। त्यसको केही समयमै फेसबुक पेज डिएक्टिभेट गरे। पछि सुष्माको परिवारले प्रहरीमा निवेदन दिए। निवेदन दिएको गाउँमा हल्ला भएपछि परिवारका सदस्यलाई सुष्मा विवाह गरेर भागेको भान पार्न उनको मोबाइलबाट दिदीको मोबाइलमा मेसेज गरेपछि मोबाइल अफ गरेर राखेका थिए। शव फेला परेपछि प्रहरीले परिचितबाटै उनको हत्या भएको शङ्काको आधारमा गाउँमा भएकाहरूमाथि निगरानी गर्दा उनी शङ्कामा परेका थिए। प्रहरीले उनको कोठाको तलासी लिँदा सुष्माको किताब र मोबाइल फेला परेको प्रहरीको दाबी छ।

Loading spinner