नेताको चाकडी नगर्न प्रहरी अधिकृतहरूलाई निर्देशन

khabarwave
२८ फाल्गुन २०८०

काठमाडौँ । गृह मन्त्रालयको जिम्मेवारीमा दोस्रो पटक पुगेका गृहमन्त्री रवि लामिछानेले प्रहरी अधिकृतहरूलाई कुनै पनि नेताको चाकडी नगर्न निर्देशन दिएका छन्। आइतबार प्रहरी प्रधान कार्यालय नक्सालको निरीक्षण गर्ने क्रममा लामिछानेले भने, प्रहरी कर्मचारी गैरव्यावसायिक क्रियाकलापमा संलग्न रहेको प्रमाणित भए हदैसम्मको कारबाही गरिने छ। र त्यसबेला कुनै शक्तिले भनसुन गरेर जोगाइदिन्छ भन्ने अपेक्षा विल्कुल नराख्नुहोला। कानूनअन्तर्गत रहेर गर्ने हरेक कामको जिम्मेवारी आफूले लिने र चुनौती पनि बेहोर्ने बताए। उनले भने, ‘तस्कर, गुण्डा र अपराधीसँग प्रहरी उभिएको र हात मिलाएको दृश्य देख्नु नपरोस्, कुनै नेताको चाकडी गरेको देख्न र सुन्न नपरोस्। उनले राजनीतिक हस्तक्षेपका कारण संगठन र त्यसको नेतृत्वले वृत्ति विकासको सुनिश्चितता गर्न नसक्दा सरूवा बढुवाका लागि शक्ति केन्द्र धाउनुपर्ने विद्यमान अवस्थाको अन्त्य गर्न चाहेको पनि उनले बताए। आफू पहिलो पटक गृहमन्त्री हुँदा डीआईजी र एसएसपीहरूको सरूवाका गरेको सन्दर्भ पनि उनले उल्लेख गरेका थिए। कुनै कर्मचारी सरुवा बढुवाका लागि कतै धाउनुनपर्ने अवस्था बनाउन नीति र विधि आवश्यक पर्छ। त्यसको योजना बनाएर ल्याउनुस्, कसरी–के गर्नुपर्छ, गर्नेछु, उनले भने, म कुनै व्यक्ति विशेषको सरूवा बढुवा गर्ने र त्यसबापत लाभ लिएर पेट पाल्ने उद्देश्य पूरा गर्न गृह मन्त्रालय आएको होइन। केही फरक गर्ने चाहना, नीति–विधि स्थापित गर्ने हुटहुटी र प्रणालीको विकास एवं बेथितिको अन्त्यको दृढसंकल्प बोकेर आएको हुँ। त्यसमा तपाईंहरूको सहयोग मिल्नेछ भन्ने ठानेको छु। आफ्नो शक्ति राजनीतिक नेतृत्वलाई नसुम्पिन पनि लामिछानेले अनुरोध गरे। निर्धक्क भएर आफ्नो अधिकारको प्रयोग गर्न र आफूले हस्तक्षेप नगर्ने तर अन्य व्यक्तिहरूले नै संगठन चलाउने अवस्था आए आफूले हस्तक्षेप गर्ने उनको भनाइ थियो।

Loading spinner