राष्ट्रियसभामा काँग्रेस, माओवादीप्रति प्रतिस्पर्धा, एमालेलाई साथ

khabarwave
२६ फाल्गुन २०८०

काठमाडौं । माओवादीको भर पर्दा एमालेसँगको सहकार्य तोडेको काँग्रेसले राष्ट्रियसभामा भने एमालेप्रति सद्भाव देखाउने भएको छ । सत्ता गठबन्धन परिवर्तन भएसँगै नेपाली कांग्रेसले राष्ट्रिय सभा अध्यक्षमा कृष्णप्रसाद सिटौलालाई उम्मेदवार नबनाउने भएको छ। आगामी २९ गते राष्ट्रिय सभा अध्यक्षको चुनाव हुँदै छ। माओवादीसहित गठबन्धन हुँदा कांग्रेसबाट सिटौलालाई अध्यक्ष बनाउने सहमति जुटेको नेताहरुले दाबी गरेका थिए। उनलाई अध्यक्ष बनाउनकै लागि राष्ट्रिय सभामा निर्वाचित गरिएको नेताहरुले बताएका थिए। तर, फागुन २१ गते कांग्रेससहितको ८ दलीय गठबन्धन टुटेर एमाले–माओवादीसहितको पाँच दलीय नयाँ बनेको छ।राजनीतिमा आएको नाटकीय परिवर्तनपछि हार्ने चुनावमा सिटौलालाई नउठाउने निष्कर्षमा कांग्रेस पुगेकोे सभापति शेरबहादुर देउवानिकट एक नेताले जानकारी दिए। यसबारे आइतबारसम्म पार्टीले औपचारिक निर्णय गर्ने उनले जानकारी दिए। राष्ट्रिय सभामा नयाँ गठबन्धनको स्पष्ट बहुमत छ। अध्यक्ष माओवादी केन्द्र र उपाध्यक्ष एमालेलाई हुनेगरी बाँडफाँटको सहमतिमा हस्ताक्षर गरेका छन्। गठबन्धन तोडेर एमालेसँग मिसिएको भन्दै कांग्रेसका नेताहरु प्रधानमन्त्री प्रचण्डसँग रुष्ट छन्। कांग्रेसहितको गठबन्धन तोडेर माओवादी, एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, जसपा र नेकपा एकीकृत समाजवादी पार्टीले फागुन २३ गते नयाँ मन्त्रिमण्डल बनाएका छन्। कांग्रेसका अर्का नेताले माओवादीले दिएको धोकाको बदला लिन पनि उम्मेदवार उठाउने बताए। १८ सांसद रहेको माओवादी राष्ट्रिय सभामा ठूलो दल हो। त्यसपछि १४ सांसद रहेको कांग्रेस दोस्रो ठूलो दल हो। एमालेको १०, एकीकृत समाजवादीको ८ र जसपाका ३ सांसद छन्। माओवादी, एमाले, एकीकृत समाजवादी र जसपा मिल्दा ३९ सांसद पुग्छन्। ५९ सदस्यीय राष्ट्रिय सभामा अध्यक्ष निर्वाचित हुन २९ सांसदको मत आवश्यक हुन्छ। अहिले सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने एक सिट रिक्त छ। कांग्रेस र लोकतान्त्रिक समाजवादी, राष्ट्रिय जनमोर्चा मिल्दा जम्मा १६ सांसद मात्र हुन्छन्। त्यसो त कांग्रेसले एमालेको पनि साथ पाउने विश्वास गरेको छ। त्यसका लागि उसले उपाध्यक्षमा एमाले उम्मेदवार विरुद्ध उम्मेदवारी नदिने भएको छ।

Loading spinner