सन्निकट चुनावमा राजनीतिक दलहरूको अवस्था

khabarwave
२२ फाल्गुन २०७८

यही बैशाख ३० मा स्थानीय तहको चुनाव हुदैछ र यसरी हुने आवधिक निर्वाचनहरूलाई प्रजातन्न्त्र वा लोक तन्त्रका गहना भनिन्छ। यसले जन प्रतिनिधिहरू चवन गर्छ। यसरी चयन हुने प्रतिनिधिले आफ्ना समाज र स्थानीय जनताका आवश्यकता पूरा गर्छन् भन्ने मान्यता राखिन्छ। गएको निर्वाचनले संघीयतामा स्थानीय तहको महत्वलाई उजागर गरेको छ। यो तहले कोरोना नियन्त्रणमा खेलेको भूमिकाले यो प्रकोपले महामारीको रूप लिन पाएन।

त्यसै गरी प्राकृतिक प्रकोपको रोकथाम र नियन्त्रण, शान्ति सुरक्षा, सार्वजनिक सेवा, विकास निर्माण,वातावरणीय पक्षमा समेत यो तहको भूमिका अद्वितीय रह्यो। यसैले शासनका अन्य तहको तुलनामा संघीयताको उपादेयता यो तहले दियो भन्न हिच्किचाउनु पर्दैन। यस पटक हुन गै रहेको पालिका तहको निर्वाचनको आफ्नै महत्व हुदाहुदै पनि नेपालका राजनीतिक दलले यो अवधिमा खेलेको भूमिका बढी आलोच्य रहेको देखिदा जुन किसिमको उत्सुकता , रौनकता मतदातामा देखिनु पर्ने हो त्यस्तो देखिने छाट छैन। किनभने गएको संघीय चुनावमा नेकपाको नामबाट एक हुन पुगेर संसदमा करीव दुई तिहाई मत ल्याएका कम्युनिष्ट पार्टीले शासन चलाउन नसकेर अहिले तीन टुक्रा भएका छन् र एकले अर्काको उछितो काढेर बसेका छन्।

यिनीहरू मदताता समक्ष जादा मतदाताले पत्याउने र विश्वास गर्ने केही कार्यक्रम लिएर जान सक्ने स्थिति बनेको छैन। ती मध्ये एमालेले जनताको प्रतिनिधि मूलक संस्था प्रतिनिधि सभालाई दुई दुई पटक विघटन गरेर जनमतको कदर गर्न सकेन र पुनर्स्थापित संसदलाई समेत बन्धक बनाएर आफैले विगतमा राखेको ब्रेक तोडेको छ। त्यसै गरी लामो समय सम्म विवादित बनाईएको अमेरिकी सहयोग परियोजनाको न त विरोध गर्यो न त समर्थन नै। यो परियोजना उपर यसले देखाएको ब्यबहारले त यो पार्टीलाई लिंग नछुट्टिएको पार्टी भनेर नामाकरण समेत गरियो।

यस्तो परिस्थितिमा यसका साविकका मतदाताले समेत यो पार्टीलाई कसरी मतदान गर्ने हुन यसै भन्न गाह्रो छ। त्यसै गरी सदैव संसदीय ब्यबस्था र प्रजातन्त्रको बिरोध गरेर नथाक्ने पार्टी माओवादी केन्द्रका पनि आफ्नै कथा र ब्यथा छन् स्थानीय तहको निर्वाचनको मुखमा। सर्व प्रथम संसदीय ब्यबस्था र प्रजातन्त्रका पक्षपाती दल नेपाली कांग्रेसका सभापतिलाई प्रधान मन्त्री भै दिन पर्यो भनेर सगुन लिएर बुढानिलकण्ठ पुगे यिनीहरू। त्यसै गरी आफ्ना कार्यकर्ता र आफूहरू समेत न्वारान देखिको बल लगाएर एम सी सी को बिरोध गरे तर सत्ताको लोभ र अस्तित्वको संकटमा परेर रातारात बोली फेर्दै संसदबाट एम सी सी पारित गर्न अग्रसर भए।

झण्डै दुई तिहाईको बहुमत पाएको नेकपालाई बिभाजन गर्न लागी परेका प्रचण्ड अब कुन मुख लिएर मत माग्न जाने हुन् सोचनीय परिस्थिति बनेको छ। नेकपा बाट सिर्जित २०% वाला तेश्रो दल हो नेकपा एकीकृत समाजवादी। यसको त जन्म भरखरै भएको छ र एक हातले माओवादी केन्द्र र अर्को हातले नेकाको औंला समातेर ताते ताते गर्दै छ। झलनाथको लहै लहैमा लागेको भए यसको अस्तित्व नै खतरामा पर्न लागेको थियो झण्डै तर एम सी सी पारित भै दिनाले कलम बोकेर चुनाबमा जाने भएको छ। यसको हविगत नेमकिपाको भन्दा पनि तल जादै छ।

त्यसैले चुनावी तालमेलको प्रतीक्षामा रहेको छ यो पार्टी। मधेशलाई आधार मानेर खडा भएका पार्टीहरू बढी मतदाता भएका क्षेत्रमा रहेको हुदा यिनीहरूको परिणाम उल्लेख्य हुने देखिन्छ। साविकमा नेपाली कांग्रेसका मतदाता रहेको यो क्षेत्र हाल मधेश केन्दित दलको पकडमा छ। अर्को दल राप्रपा जुन पुरानो पंचायत र राजावादीका अवशेष मिलेर बनेको छ, स्थानीय तहमा कसै संग तालमेल भएमा केही वडा तहमा सीमित जनप्रतिनिधि चुनिने सम्भावना छ। गत विगतका सरकारका कमी कमजोरीलाई नारामा समावेश गरेर मतदाता समक्ष जाने यो पार्टीको निवर्तमान अध्यक्ष कमल थापाको राप्रपा नेपाल संग नै प्रतिस्पर्धा हुने देखिन्छ।

यस पटकको निर्वाचनमा नेपाली कांग्रेसलाई अन्य पार्टीको तुलनामा परिस्थिति सहज बन्दै गएको छ। किनभने विगतमा झै यस पटक पनि नेपाली कांग्रेसले देशको राजनीतिमा देखा परेको विषम परिस्थिति लाई समन्वयका साथ नेतृत्व गर्ने अवसर पायो र यो अवसरलाई सदुपयोग गर्न सफल समेत भयो। यसै गरी निकै लामो समय देखि जवर्जस्त विवादमा ल्याईएको एम सी सी परियोजनालाई सफलता पूर्वक टुंग्याउन सक्यो। यसरी विश्वलाई नेपाल एक विश्वसनीय मुलुक हो भन्ने सन्देश दिन समेत नेपाली कांग्रेस र यसको नेतृत्व सफल भयो।

यी बिभिन्न कारणले गर्दा सन्निकट स्थानीय तहको निर्वाचन मात्र हैन त्यस पछि हुने प्रदेश र संघीय निर्वाचनमा समेत नेपाली कांग्रेसका लागि परिस्थिति अनुकूल बन्ने देखिन्छ तर निर्वाचनमा पार्टी भित्र गुट उपगुटको परिस्थिति बन्ने मौका भने यो पार्टीले दिनु हुदैन। यसरी निर्वाचन आयोगमा दर्ता भएका झण्डै ७ दर्जन पार्टी मध्ये प्रतिस्पर्धामा आउने पार्टीहरू क्रमशः नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र र मधेशवादी दलहरू हुन् र चुनावमा तालमेल हुन सकेमा एकीकृत समाजवादी पनि देखा पर्न सक्छ। जे भए पनि कम्युनिष्टका भोट बैंक एउटै भएकोले नेका, माके र समाजवादी बीच तालमेल भएमा एमालेलाई आगामी निर्वाचनमा अशर पर्न सक्ने देखिन्छ।

Loading spinner