टीआरसी विधेयकमा सहमति जुटाउने प्रयास

khabarwave
२१ फाल्गुन २०८०

काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी विधेयक टीआरसीमा सहमति जुटाउन आज बिहानै संसदीय समितिको बैठक बोलाइएको छ । प्रतिनिधि सभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान पौने आठ बजे बस्दैछ । बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संसोधन गर्न बनेको विधेयकसम्बन्धी मस्यौदा प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची रहेको छ । हिजो बसेको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा पनि यो विधेयकबारे छलफल भएको थियो । हिजै विधेयक पास गर्ने गरी बोलाइएको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले समय मागेपछि स्थगित भएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हिजो टीआरसीमा सहमति जुटाउन प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छुट्टाछुटै छलफल गर्नुभयो । यसैबिच प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले नेपालमा विस्तृत शान्ति सम्झौताबाट शुरु भएको शान्ति प्रक्रियाको औपचारिक यात्राले पुर्णता पाउन थालेको बताउनुभएको छ । उहाँले वर्तमान सरकार सरोकारवाला सबै पक्षलाई साथमा लिएर टीआरसीलार्ई तार्किक निष्कर्षमा पुर्‍याउन खटिरहेको बताउनुभएको छ ।

Loading spinner