पात्र फेरेर सरकार हुन्छ सफल ?

khabarwave
१९ फाल्गुन २०८०

काठमाडौं । सरकारका असफलतामा मन्त्रीको हात रहेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठनको गृहकार्य अगाडि बढाएका छन् । सत्ता गठबन्धनको सबैभन्दा ठूलो घटक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तयार भएपछि प्रधानमन्त्री प्रचण्डले तयारी थालेका हुन् । प्रधानमन्त्रीकै पहलमा कुरा अगाडि बढाएपछि शीर्ष तहमा मन्त्रिपरिषद् पुनर्गठन गर्ने विषयमा सैद्धान्तिक, व्यवहारिक र नीतिगत सहमति बनिसकेको कांग्रेस प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले बताए । नेता विश्वकर्माले हिजो पार्टी सभापति देउवा निवासमा बसेको पार्टीका शीर्ष नेताहरुको बैठकमा पनि मन्त्रिपरिषद् पुनर्गठनको विषयमा छलफल भएको सुनाए । उनले थपे, हिजो मन्त्री बनाउँदा जोसुकैलाई बनाए पनि निकाल्दा असहज हुन्छ । कसरी निकाल्ने, कसरी अरु थप्ने भन्ने कुरा भन्नेबित्तिकै हुँदैन । त्यसका लागि शीर्ष नेताहरु होमवर्क गर्दै हुनुहुन्छ । तर यो सजिलै हुने देखिएको छैन । माओवादी केन्द्रका सचिव गणेश साहले प्रधानमन्त्रीले तयारी गरे पनि राष्ट्रियसभाको अध्यक्षको निर्वाचनअघि सम्भव नभएको दाबी गरे । माओवादीका अर्का एक नेताले अर्थ र गृह कांग्रेस र माओवादीबीच साटफेर गर्ने सहमति नभएको दाबी गरे । प्रधानमन्त्री प्रचण्डले आफ्नो सरकारको कार्यकाल एक वर्ष पुगेकै अवसरमा मन्त्रिपरिषद् पुनर्गठन गर्न चाहेका थिए । तर, देउवा तयार नहुँदा रोकिएको थियो । प्रचण्डले अर्थमन्त्री डा। प्रकाशशरण महतलाई हटाउन चाहेका छन् भने देउवाले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हटाउनुपर्ने पक्षमा छन् । ती नेता थप्छन्, शीर्ष तहमा गृह र अर्थमन्त्रीको विषयमा मतभेद रहँदै आएको छ । अहिले विवादमा आएका मन्त्रीहरुलाई पनि हटाउनुपर्ने दबाब छ । त्यसैले व्यक्ति छानेर हटाउँदा विवाद हुनसक्ने भएकाले प्रधानमन्त्रीले सेट नै फेर्न चाहनुभएको देखिन्छ । तर, कांग्रेस प्रचार विभाग प्रमुख विश्वकर्माले केही मन्त्रीमात्रै फेर्ने कि सेट नै परिवर्तन गर्ने भन्नेबारेमा अहिलेसम्म कुनै सहमति नभएको जिकिर गरे । मन्त्रिपरिषद् पुनर्गठनको विषयमा छलफल भइरहे पनि आजभोलि नै हुने सम्भावना नभएको प्रधानमन्त्री सचिवालयको एक सदस्यले बताए । ती सदस्य भन्छन्, छलफल भइरहेको छ । प्रधानमन्त्री अहिले बाहिरको कार्यक्रममा व्यस्त हुनुहुन्छ । त्यसैले तत्काल हुने देखिएको छैन । नेकपा एकीकृत समाजवादीका सचिव जीवनराम श्रेष्ठले मन्त्रिपरिषद् पुनर्गठनको विषयमा पार्टीमा अहिलेसम्म छलफल नै नभएको दाबी गरे । उनले भने, हिजो पनि पार्टीको बैठक बसेको थियो । यो विषयमा अहिलेसम्म छलफल भएको छैन ।
प्रचण्ड सरकारमा रहेका टेरामक्स प्रणालीमा भ्रष्टाचार गरेको भन्दै अख्तियारले बयान लिएका स्वास्थ्यमन्त्री मोहन बस्नेत, लुम्बिनीको जग्गा लिजमा दिएको प्रकरणमा पर्यटनमन्त्री सुदन किराँती र बालकुमारी घटनामा सरकारी आयोगले नै दोषी देखाएका भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालालाई नहटाएको भन्दै चर्को आलोचना भइरहेको छ । प्रतिनिधिसभाको बैठकमा पनि यो विषयमा चर्को आवाज उठेपछि सभामुख देवराज घिमिरेले पटक पटक जवाफ दिन रुलिङ गर्दा पनि प्रधानमन्त्री उपस्थित भएका छैनन् । आफैं नेतृत्वको सरकारले काम गर्न नसकेको भन्दै प्रधानमन्त्री प्रचण्डले मन्त्रीहरुको कार्यसम्पादनप्रति असन्तुष्टि जनाउँदै आएका छन् ।

Loading spinner