गन्तब्य नमिल्ने संगको यात्रा

khabarwave
४ फाल्गुन २०७८

गन्तब्यमा लक्षको महत्वपूर्ण भूमिका रहन्छ। त्यसैले समान लक्ष्य लिनेहरू संगको यात्रा सहज मानिन्छ। नेपालको राजनीतिका पात्रहरू पनि विभिन्न किसिमको गन्तब्य राखेर हिडेका छन्। निर्दलीय ब्यबस्था कालका राजनीतिक पात्रहरूले दक्षिणको छिमेकीलाई आश्रय गरेर आफ्ना गतिविधि सन्चालन गर्दथे।

खासगरी बहुदलीय प्रजातन्त्रका लागि नेपाली कांग्रेसले देश भित्र वा बाहिर रहेर पनि आफ्ना गतिविधि गरी रह्यो र राजालाई संविधान भित्र सीमित गरेर जनताका प्रतिनिधिबाट शासन चलाउने किसिमको संसदीय प्रजातन्त्रको लक्ष लिएर हिडेको नेपाली कांग्रेसले २०१५ सालमा नेपालको शासन ब्यबस्था आफ्नो हातमा लिन सफल भयो तर संविधान भित्र बस्न नचाहने राजाको आकांक्षालाई भारतले साथ दिदा १८ महिना मै राजाले कू गरेर निर्दलीय शासन ब्यबस्था लागू गरे।

प्रजातन्त्रका विरोधीहरु क्रमशः राजा र कम्युनिष्टहरू एक भएर ३० वर्ष सम्म प्रजातन्त्रलाई ढिम्किन दिएनन् र भारतमा पनि अनुदार सरकार हुनाले बहुदलीय प्रजातन्त्र ओझेलमा पर्यो। नेपाली कांग्रेसका प्रणेता तथा महामानव विपी कोईरालाले भन्ने गर्नु हुन्थ्यो कि प्रजातन्त्रको आन्दोलनमा कहिल्यै पनि प्रजातन्त्र विरोधीलाई साथ लिएर आन्दोलन नगर्नु र झन् कम्युनिष्टहरू संग त बिर्सेर पनि संगत नगर्नु।

किन कि यिनीहरूको गन्तब्य प्रजातन्त्र हैन । उदाहरणको लागि २०३६ सालको जनमत संग्रहमा कम्युनिष्टहरू संगै जान खोज्दा बहुदलको विरोधमा यिनीहरू लाग्नाले बहुदलीय ब्यबस्थाको जित हुन सकेन। २०४६ को आन्दोलन सॅसदीय ब्यबस्थाको पुनर्स्थापना र संवैधानिक राजतन्त्रको लागि भएको थियो तर यो माग कम्युनिष्टहरुको थिएन। यति हुदा हुदै पनि यो आन्दोलन सॅयुक्त रूपमा हुन पुग्यो र आन्दोलनका मागहरू पूरा भए। नेपालमा संवैधानिक राजतन्त्र र बहुदलीय शासन ब्यबस्थाको पुनर्स्थापना पनि भयो।

यसमा नेकपा एमालेले आफूलाई बहुदलीय ब्यबस्थामा समाहित गरेर संसदीय ब्यबस्थालाई मान्ने गरी बहुदलीय जनवादको नामबाट राजनीति गर्ने भयो तर जन मोर्चाको नामबाट आएको कम्युनिष्ट पार्टीलाई यो ब्यबस्था रूचेन र माओवादको नाममा संसदीय प्रजातन्त्रको विरोध गर्दै भूमिगत भयो। करीव १७ हजार नेपालीको हत्या गर्दा पनि उसको माग पूरा भएन र आखिर संसद मै फर्किन वाध्य भयो तर पनि उसले आफ्नो राजनीतिक गन्तब्य उही १८ औं शताब्दीको जनवादलाई लिएको छ जसमा व्यक्तिगत स्वतन्त्रता, मानव अधिकार जस्ता लोकतन्त्रीय अवधारणा हुदैनन्। नेपाली कांग्रेस जुन प्रजातन्त्र र लोक तन्त्रको पर्याय हो यो आफैले राम्रो भूमिका खेल्न नसक्नाले निकट विगतमा भएको निर्वाचनबाट बनेको संसदमा उल्लेख्य उपस्थिति जनाउन सकेन।

कम्युनिष्ट एक भएर चुनाव लड्दा त नेकाले सामान्य प्रतिपक्ष पनि उभ्याउन सकेन। राजनीतिमा स्थायी शत्रु र स्थायी मित्र हुदैनन् भन्दै बेलाबखतमा नेपाली कांग्रेसले यिनीहरू संग कार्यगत एकता र संयुक्त सरकार पनि बनाउन प्रयास गर्छ तर यिनीहरू लाज र नैतिकता नै त्यागेर बीच मै कांग्रेसलाई धोका दिदै आएका पनि छन्। यति हुदा हुदै यस पटक पनि एमाले विरोधी कित्तामा उभिएर केही कम्युनिष्ट घटक संग मिलेर संयुक्त सरकारको नेत्तृत्त्व नेपाली कांग्रेसले गरी रहेको छ तर जब लोकतान्त्रिक मूल्य र मान्यता कायम राख्ने अवस्था सिर्जना हुन्छ अनि यिनीहरूले आफ्नो रूप देखाउन खोज्छन्।

राजनीतिमा स्थायी शत्रु र स्थायी मित्र हुदैन भन्नुको अर्थ यो क्षेत्रमा अवसरवाद र धोकाधडीले प्राथमिकता पाउछ भन्न खोजिएको हो। यिनीहरू एउटै गन्तब्य हुनेहरू संग त मिल्न नसकेर तमासा देखाउछन् भने फरक वाद र फरक गन्तब्य संग मिल्नु भनेको केवल धोका हो। नेपाली राजनीतिको ईतिहास फरक हुन सक्थ्यो जब नेपाली कांग्रेसले केवल आफ्नो गन्तब्यलाई लक्षित गरेर राजनीति गरेको भए तर अहिलेको राजनीति खिचडी भएको छ। यस्तो राजनीतिले मुलुकलाई अस्थीर र काम चलाऊमा परिणत गरेको छ। अझै पनि नेकाले आगामी निर्वाचनमा अन्य पार्टी संग तालमेल गरेर आफ्नो कमजोरी देखाउन खोज्दै छ। नेपाली कांग्रेस आफ्नो पहिचान लिएर जनता समक्ष जानु पर्दा आफू एक्लै जान सक्षम छ। त्यसैले भविष्यका दिनमा नेपाली कांग्रेस अन्य गैर प्रजातान्त्रिक पार्टी संग तालमेल नगरेर आफू मात्रै निर्वाचनमा जाओस्, शुभकामना छ।

Loading spinner