विदेशिएका यूवाहरूको आवश्यकता

khabarwave
२३ माघ २०७७

काम गरेर नै देशको विकास हुने रहेछ। काम सृजना गरेर देशवासीलाई ब्यस्त गराउन राज्य सक्षम हुन पर्ने रहेछ।काम सानो वा ठूलो भन्ने नहुने रहेछ र कामको ईज्जत र सम्मान गर्न जान्न र सक्नु पर्ने रहेछ। श्रम बजारमा आउने हरेक जनशक्तिलाई रोजगार दिन सक्षम सरकार मात्र सफल हुने रहेछ। रोजगारीका सबै उपायहरू र बिकल्पहरू राज्यले मात्र दिन्छु भनेमा राज्य सफल नहुने रहेछ।

जति मात्रामा निजी क्षेत्रलाई चलायमान गराउन सक्यो उती मात्रामा रोजगारीका क्षेत्रहरू बढ्ने रहेछन् र यसरी बढ्ने क्षेत्रले रोजगारीको बजारमा आउने जनशक्तिलाई सम्बोधन गर्न सक्ने रहेछ। यसरी सृजना भएको बजार र बजारको खोजीमा आउने जनशक्तिले तिर्ने करले राज्य संचालन हुने रहेछ। तर नेपाल र नेपाल जस्ता बिकासोन्मुख देशले देशमा रोजगारी सृजना गर्नुको सट्टा श्रम नै निर्यात गरेर आफ्ना देशका जनशक्तिको श्रम र पसिना विदेशी भूमिमा बेच्न बाध्य पारेको छ र त्यहाबाट भित्रिने विप्रेषण(Remittance)बाट मुलुक चलाउने प्रयास गरिरहेको छ। विगतमा नेपालमा भएको माओवादी द्वन्दले नेपाली यूवाहरूलाई वन्दूक बोकाएर राज्य बिरूद्ध आन्दोलन गर्यो ।

यो आन्दोलनले नेपाल भरखर टुसाउन थालेको निजी क्षेत्र र देशका विकासका संरचना ध्वस्त पार्ने सिवाय केही गर्न सकेन। यस्तो परिस्थितिमा नेपालको यूवा शक्तिले माओवादी जनयुद्ध वा बिदेश पलायन दुई मध्ये एक विकल्प रोज्न वाध्य पार्यो। कुनै पनि देशमा राजनीतिक स्थायित्व भयो भने त्यो देश उपर अन्तर्राष्ट्रिय रूपमा मान्यता र विश्वास रहन्छ। यही विश्वासका आधारमा देशमा अन्तर्राष्ट्रिय सहयोग प्राप्त हुन्छ। यसरी प्राप्त हुने सहयोग र देश भित्रको आन्तरिक साधन र श्रोतको उपयोगबाट देश भित्र रोजगारी सृजना हुन सक्छ।

यसरी सृजना हुने रोजगारीले देश भित्रै श्रम बजार खुलाउछ र बर्षेनी श्रम बजारमा आउने जन शक्तिले काम पाउछ तर नेपालको राजनीतिले करीव हरेक दश वर्षमा आफ्नो बाटो फेरी रहदा राजनीतिक स्थीरता भएको पाईदैन। राजनीतिक परिवर्तनका नाममा विभिन्न आन्दोलन हुने गरेका छन् तर त्यस्ता आन्दोलन देश र देशवासीको हितमा नभएर कथित नेताहरू र तिनीहरूका आसेपासेको हितमा मात्र भएको देखिएको छ। हाल नेपालबाट करीव ८० लाख यूवाहरू बाहिरिएको अवस्था छ।

यो संख्याको अभावले मुलुकको बिकास त छांयामा परेकै छ तर त्यो भन्दा पनि ठूलो समस्या राजनेताको खडेरी परेको छ। मुलुकलाई सजिलै संचालन गर्न सक्ने राजनेताहरू र राजनीतिज्ञहरू समेत सो भेलबाट बाहिरिएको अवस्था हुदा नेपालमा सही राजनीति स्थापना हुन सकेको छैन। नेपालको राजनीति शरीर र मनबाट बिक्षिप्तहरू ब्यक्तिहरूको हातमा पर्न गएको छ जुन नेपाल र नेपालीको लागि अन्धकार भविष्यको द्योतक हो। अब भविष्यको नेपाल बाट विदेशिएका यूवा को साथ र सहयोग विना समृद्ध हुन संभव छैन। यसको निम्ति ती यूवाहरू नेपालमा आउने वातावरण बनाईनु पर्छ।

विगतमा यी यूवाहरू जे जस्ता कारणले विदेशिएका भए पनि यो अवधीमा उनीहरूले निश्चित रूपमा आधुनिक ज्ञान र सीप प्राप्त गरेका छन्। ज्ञान सीप का साथै देश विकासको अवधारणा समेतबाट उनीहरू विज्ञ भै सकेका छन्। यिनीहरूले कामको महत्व बुझेका छन् , श्रमको ईज्जत गर्न जानेका छन् , कानूनको शासनको ईज्जत गर्न जानेका छन् ,नागरिक स्वतन्त्रताको मर्म बुझेका छन् , अधिकार मात्र नचाहेर कर्तब्य गर्नु पर्छ भन्ने पनि बुझेका छन् ।यस किसिमबाट सचेत र प्रशिक्षित यूवाहरूको उपयोगबाट मात्र देशको राजनीतिक, आर्थिक एवं सामाजिक विकास सम्भव छ।

Loading spinner