क्यान्सर विरुद्धकाे अभियानका चूनाैती

khabarwave
२३ माघ २०७७

माघ २२ गते बिहीबार (४ फेब्रुअरी) का दिन विश्व क्यान्सर विरुद्धको दिवस नेपालमा पनि विशेष कार्यक्रमका साथ मनाइयाे ।  नेपालमा क्यान्सर विरुद्धको अभियानमा लामो समयदेखि क्रियाशिल नेपाल अर्वुद रोग निवारण संस्थाले दिवसका अवसरमा विविध कार्यक्रमको आयोजना गरेको थियाे । यस वर्षको क्यान्सर दिवसको नारा ‘म हुँ र म गर्छु’ भन्ने रहेको थियाे ।

नेपालमा तीन वर्ष लगाएर नेपाल विकास अनुसन्धान प्रतिष्ठानले गरेको एक अध्ययनअनुसार वार्षिक कुल ग्राहस्त उत्पादनको १.५ प्रतिशत सूर्तिजन्य पदार्थको सेवनबाट हुने रोगको उपचारमा खर्च भइरहेको छ । सूर्तिजन्य पदार्थले फैलाउने मुख्य रोगका रुपमा क्यान्सर देखाएको उक्त अध्ययनले श्वासप्रश्वाससम्बन्धी रोगलाई दोस्रो ठूलो रोगको रुपमा राखेको छ । अध्ययनले क्यान्सर उपचारकै कारण करिब १६ प्रतिशत विरामीले आफ्नो जायजेथा नै गुमाउनु परेको देखाएको छ भने क्यान्सर उपचार खर्च नेपालीहरुको वार्षिक औसत आम्दानीभन्दा ५ गुणा बढी देखिएको छ । अध्ययन भन्छ, क्यान्सर उपचारमा ८६ प्रतिशत नेपालीले आर्थिक कठिनाई भोग्न बाध्य भएका छन् भने १४ प्रतिशतले उपचार खर्च जुटाउन ऋण लिन बाध्य छन् । क्यान्सर पुष्टि भएपछि एक जना विरामीको उपचारका लागि मात्रै सरदर ३ लाख भन्दा बढी खर्च हुने गरेको अध्ययनले देखाएको छ । विश्व स्वास्थ्य संगठनको अध्ययनअनुसार प्रत्येक ६ मृत्युमध्ये १ जनाको मृत्यु क्यान्सरबाट हुने गरेको डरलाग्दो तथ्यांक छ । नेपालमा ९० प्रतिशत मानिस अन्तिम अवस्थामा मात्रै उपचार र पहिचानका लागि अस्पताल पुग्ने गरेको देखिन्छ

पछिल्ला समयमा सर्ने रोगभन्दा नसर्ने रोगको प्रकोप बढ्दै गइरहेको छ ।  पछिल्ला दिनमा नेपाल लगायत विश्व नसर्ने रोगको प्रकोपबाट पीडित बन्दै गइरहेको छ । खानपान, रहनसहन लगायतका विविध कारणले नसर्ने रोगहरु विकसित देशहरुमा भन्दा नेपाल जस्ता विकासोन्मुख देशहरुलाई चुनौतीको विषय बन्दै गइरहेको छ । यस्तो अवस्थामा राज्यले प्रभावकारी नीति र कदम चाल्नुपर्ने अवस्थालाई नजरअन्दाज गर्दै गइरहेको अवस्था छ ।नेपालमा सूर्तिजन्य पदार्थको सेवनले हुने रोगको उपचारमा मात्रै वार्षिक करिब ४० अर्ब खर्च हुने गरेको एक अध्ययनले देखाएको छ ।

सूर्तिजन्य पदार्थको सेवन, प्रदूषित वातावरण, खानपान, व्यायामको कमी, वंशाणुगत समस्या, विकिरण जस्ता कारणले क्यान्सर रोगीहरुको संख्या बढ्दै गइरहेको छ । वर्गीय, जातीय र लिंगका आधारमा यो रोग नलाग्ने भएका कारण वातावरण र खानपिनमा मात्रै ध्यान दिएपनि ४० प्रतिशत जोखिम कम हुने डब्लुएचओको अध्ययनले देखाउँछ । यस्तो अवस्थामा नेपालमा यस विरुद्धको अभियानलाई सफल बनाउन सरकारले निजी क्षेत्रसँग सहकार्य गरेर सँगसँगै अघि बढ्नुपर्ने आवश्यकता देखिन्छ । तर विडम्बना भन्नु पर्छ मुलुक संघीयतामा गएपछि तीनै तहका सरकारको प्राथमिकतामा यो रोगको न्युनिकरणका लागि ठोस कार्यक्रम र नीति नै ल्याइएको छैन । सरकारी स्तरमा क्यान्सरको विशेषज्ञ उपचारका लागि भरतपुर क्यान्सर अस्पताल, सुशील कोइराला प्रखर क्यान्सर अस्पताल रहेका छन् भने अन्य केन्द्रीय अस्पतालहरुले पनि यो सेवा विस्तार गरेका छन् तर तिनीहरुको सेवा प्रभावकारी हुन सकेको छैन । ति पनि राजनीतिक कोपभाजनको शिकार बनाइएको छ । विगत लामो समयदेखि नेपाल अर्बुद रोग निवारण संस्थाद्वारा सञ्चालित भक्तपुर क्यान्सर अस्पतालले प्रभावकारी सेवा दिँदै आएको भए पनि पछिल्ला दिनमा केन्द्र र स्थानीय सरकारको हस्तक्षेपका कारण त्यहाँको सेवा पनि प्रभावित भएको छ । सातवटै प्रदेशमा प्रादेशिक क्यान्सर अस्पताल स्थापना गर्ने, अहिले भएका अस्पतालहरुलाई पनि स्रोत साधनले पूर्ण बनाउने, केन्द्रले नीति, प्रदेशले प्रादेशिक अस्पताल संचालन र स्थानीय सरकारले क्यान्सर विरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने हो भने पनि क्यान्सर बिरूद्वको जोखिम कम गर्न सकिन्छ । त्यस्तै छरिएर रहेका क्यान्सर बिरूद्वको अभियानमा सक्रिय गैरसरकारी संघसंस्थाहरुले पनि एकीकृत रुपमा कार्यक्रम सञ्चालन गर्न सके क्यान्सर विरुद्धको अभियानलाई प्रभावकारी बनाउन सकिन्छ।

क्यान्सर रोगको प्रमुख कारकतत्वको रुपमा रहेको सुर्तीजन्य प्रदार्थ बिरुद्ध गरिदै आएको कार्यक्रमलाई अझ प्रभावकारी बनाउन सुर्तीजन्य प्रदार्थमा हाल नेपाल सरकारबाट लगाउदै आएको कर न्यून भएकोले सुर्तिजन्य पदार्थको सेवन बृद्धि हुदै आएको हुदाँ कर बृद्धि भएमा मानिसहरुमा सेवनमा कमि आउने अनुसन्धानबाट देखिएको हुदा अर्वुद रोग निवारण संस्थाले नेपाल सरकार समक्ष सुर्तिजन्य पदार्थमा शतप्रतिशत कर बृद्धिका लागि दवाबमुलक कार्यक्रम आयोजना गरीरहेको छ ।सुर्तिजन्य पदार्थको सेवनमा कमिका लागि पनि सरकारले शतप्रतिशत कर बृद्धि गर्नुपर्छ भन्ने हाम्रो जोडदार माग हो ।

( लेखक- नेपाल अर्वुद रोग निवारण संस्थाका काबा केन्द्रिय अध्यक्ष हुनुहुन्छ )

Loading spinner