नेपालमा आजबाट कोरोना भाइरसविरुद्धको खोप अभियान सुरु हुँदै, ४ लाख ३० हजारले खोप लगाउने

khabarwave
१४ माघ २०७७

काठमाडौं ।  कोरोना भाइरसविरुद्धको खोप अभियान नेपालमा आजबाट सुरु हुँदै छ । विहान १० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाट भर्चुअल रुपमा एकैपटक काठमाडौंका ११ वटा अस्पतालमा खोप अभियानको शुभारम्भ गर्ने छन् ।कोरोनाविरुद्धको अभियानमा अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मीलगायतलाई पहिलो चरणमा खोप दिइने छ ।भारत सरकारले अनुदानमा दिएको १० लाख डोज कोभिशिल्ड खोप नेपालमा लगाउन लागिएको हो । यो खोप भारतमा ७० प्रतिशत प्रभावकारी देखिएको छ । नेपाल सरकारले कोभिशिल्ड खोपको आपतकालीन प्रयोगका लागि माघ २ गते अनुमति दिएको थियो ।

कोभिशिल्ड खोप शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, वीर अस्पताल, आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र अस्पताल कीर्तिपुर, पाटन अस्पताल, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल थापाथली, त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, भक्तपुर अस्पताल, शहीद धर्मभक्त अंग प्रत्यारोपण केन्द्र भक्तपुर, काठमाडौं मेडिकल कलेज जोरपाटी, सशस्त्र प्रहरी अस्पताल बलम्बु, शहीद गंगालाल अस्पताल बाँसबारीका स्वास्थ्यकर्मीले खोप लगाउनेछन् । पहिलो चरणमा कोरोना भाइरस रोकथाममा अग्रपंक्तिमा खटिने ४ लाख ३० हजार जनाले खोप लगाउन पाउनेछन् ।

Loading spinner