एसपी , डीएसपी र सईसम्मलाई विभागीय कारबाही गराउने त्याे घटना……..

khabarwave
९ आश्विन २०७७

काठमाडौं ।  सरकारी छानविन समितिले रौतहटको इलाका प्रहरी कार्यालय, गरुडाको हिरासतमा मृत्यु भएका विजय रामलाई यातना दिइएको निष्कर्ष निकालेको छ ।गरुडा नगरपालिका–८ जिगंडवाका २० वर्षीय निरन्जन रामको हत्या गरेको अभियोगमा प्रहरीले ३२ साउनमा १९ वर्षीय विजय रामलाई पक्राउ गरेको थियो । हिरासतमा रहेकै बेला स्वास्थ्य विग्रिएको भन्दै प्रहरीले वीरगञ्ज लगेको थियो र नेशनल मेडिकल कलेजमा उपचारका क्रममा उनको मृत्यु भएको थियो ।

सरकारी छानविन समितिले तत्कालीन जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक एसपी रविराज खड्का, प्रहरी नायब उपरीक्षक डीएसपी ज्ञानकुमार महतो र प्रहरी नायब निरीक्षक सई वीरेन्द्र यादवलाई विभागीय कारबाही गर्न सिफारिस गरेको छ । समितिको सिफारिसअनुसार विभागीय कारबाही गर्ने प्रहरी प्रधान कार्यालयको तयारी छ ।२ नं प्रदेश प्रहरी गणका एसपी जयराज सापकोटा र राष्ट्रिय अनुसन्धान विभागका एसपी सदस्य रहेको समितिले गृह सचिव महेश्वर न्यौपानेलाई प्रतिवेदन बुझाएको थियाे ।

मृत्युअघि अस्पतालमा विजयले आफूलाई प्रहरीले हत्या अभियोग स्वीकार गर्न यातना दिएको बयान दिएको भिडियो समेत सार्वजनिक भएपछि गृह मन्त्रालयले इलाका प्रशासन कार्यालय, चन्द्रनिगाहापुरका उपइसचिव जोरेन्द्र अर्यालको नेतृत्वमा छानविन समिति गठन गरेको थियो ।

 

 

Loading spinner