राष्ट्रिय मण्डली संगतीको अध्यक्षमा तामाङ सर्वसम्मत

khabarwave
२६ असार २०७९
  • अधिकार प्राप्तिका लागि अघि बढ्ने घोषणा

काठमाडौं । राष्ट्रिय मण्डली संगतीको अध्यक्षमा सूर्यबल तामाङ पुनः निर्वाचित हुनुभएको छ । संगतिको ६२औं महाधिवेशनले तामाङलाई सर्वसम्मत रुपमा पुनः अध्यक्षमा निर्वाचित गरेको हो । सन् १९६० मा स्थापना भएको नेपालको पुरानो धार्मिक संस्थाको रुपमा परिचित उक्त संस्थामा सन् १९९४ देखि १९९७ सम्म कोषाध्यक्ष पदको जिम्मेवारी सम्हाल्नुभएका तामाङले सन् १९९७ मै ६ महिनाका लागि कार्यवाहक महासचिवको समेत भूमिका निर्वाह गर्नुभएको थियो ।

महाधिवेशनमा उपस्थित प्रतिनिधिहरू

 

संस्थाको प्रवद्र्धनका लागि अविछिन्न रुपमा क्रियाशील तामाङ सन् १९७८ देखि २००३ सम्म दुई कार्यकाल अध्यक्षका रुपमा जिम्मेवारी निर्वाह गर्नुभएको थियो । १४ वर्षपछि सन् २०१७ देखि २०२२ सम्म अध्यक्षको जिम्मेवारीमा रहनुभएका तामाङलाई चितवनमा गत चैत २२–२३ मा करिब ११ सय प्रतिनिधिहरुको उपस्थितिमा सम्पन्न ६२औं महाधिवेशनले पुनः सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो ।

रेवेनका प्रकाश सुब्बा, संगतिका अध्यक्ष सूर्य बल तामाङ (बीचमा) र क्रिश्चियन महासंङका अध्यक्ष डा. फिलेमन क्षेत्री

तामाङको संस्थाप्रतिको क्रियाशीलताकै कारणले गर्दा महाधिवेशनले उनलाई पुनः अध्यक्षमा निर्वाचित गरेको हो । तामाङकै सक्रियता र समन्वयकै कारण करिब चार वर्ष अगाडि नेपाल इसाई समाजसँग राष्ट्रिय मण्डली संगतिले कार्यगत एकता गरेको थियो । सन् २०२२ को फेब्रुअरी ७ मा नेपाल राष्ट्रिय क्रिश्चियन महासंघसँग पनि कार्यगत एकता गरेर इसाई धर्मको जगेर्ना, धर्मावलम्बीहरुको समस्या समाधानका लागि एकीकृत रुपमा कार्य भइरहेको छ । तीनवटा संस्थाबीच कार्यगत एकता भएर काम भइरहेका कारण पछिल्ला दिनमा इसाई धर्मका पक्षमा केही रचनात्मक कार्यहरु समेत भएको दाबी अध्यक्ष तामाङले गर्नुभएको छ । पछिल्लो जनगणनाअनुसार इसाई धर्मावलम्बीहरुको जनसंख्या २० लाख भएको अनुमान गरिएको छ । अल्पसंख्यक, सीमान्तकृत धार्मिक समुदायका रुपमा अब यो समुदाय नरहेकाले राज्य, राजनीतिक दलले यो समुदायलाई मुल प्रवाहमा ल्याउन प्रभावकारी कदम चाल्नुपर्ने अध्यक्ष तामाङको भनाई रहेको छ । इसाई समुदायको अधिकार प्राप्तिका लागि आफूहरु निरिह भएर नबस्ने बताउँदै अध्यक्ष तामाङले यसका लागि सक्रियताका साथ अघि बढ्ने बताउनुभयो ।

Loading spinner