प्रधानमन्त्री नै रविको बचाउमा

khabarwave
८ चैत्र २०८०

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता डा शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड गृहमन्त्री रवि लामिछानेलाई जोगाउने प्रपञ्चमा लागेको बताएका छन्। नेपाली कांग्रेसका स्व।नेता गिरिजाप्रसाद कोइरालाको १४ औं स्मृति दिवसको अवसरमा बुधबार बुटवलमा जिपी कोइराला स्मृति प्रतिष्ठान रुपन्देहीको भवन शिलान्यास गर्दै नेता कोइरालाले प्रधानमन्त्रीले संसदमा झुटो बोलेर गृहमन्त्रीको बचाउमा लागेको बताए। कांग्रेसलाई दोष दिएर माओवादीले बनाएको यो नयाँ गठबन्धनले कुन धारमा टेकेर के के गर्छ त्यो हेर्दै जाँउ न, केही समयमा यो आफै नाङ्गिने छ, नेता कोइरालाले भने। विवादमा तानिएपछि यसअघि धेरै नेताहरूले पद त्यागेको स्मरण गर्दै उनले गृहमन्त्रीबाट राजीनामा दिएर सहकारी घोटालाको अनुसन्धानलाई सघाउनु पर्ने बताए। नेता कोइरालाले कृष्णबहादुर महरा पक्राउ परेकै दिन सुन काण्डका अन्य दोषीलाई धरौटीमा छाडिनु रहस्यमय रहेको पनि बताए। नेता कोइरालाले प्रधानमन्त्री दाहालले टिआरसीलाई राजनीतिक लेनदेनको विषय बनाएको आरोप पनि लगाए। सत्ताको मोलमोलाइले टिआरसी नटुङ्गिने उनको भनाइ छ।

Loading spinner