बाँसबारी जग्गा प्रकरणमा विनोद चौधरीको बयान

khabarwave
८ चैत्र २०८०

काठमाडौं । सबैले कानुनको नजरले समान देख्थ्यो भने यो देशमा सुशासन कायम हुन्थ्यो । बाँसबारी जग्गा हिनामिना प्रकरणमा मुछिएका उद्योगपति एवम् नेपाली कांग्रेसका सांसद विनोद चौधरीसँग बयान लिन सुरु भएको छ । सरकारी वकिलको कार्यालयमा बिहीबार बिहान ८ बजेदेखि चौधरीको बयान लिने क्रम जारी रहेको स्रोतले बतायो ।आज बिहान सिआईबीको सम्पर्कमा आएका उनलाई सरकारी वकिलको समन्वयमा बयान थालिएको हो । उनी आफैं बिहान सरकारी वकिलको कार्यालय, काठमाडौंमा पुगेका थिए । बाँसबारी जग्गा हिनामिना प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) ले अनुसन्धान गर्दै आएको छ । यसैक्रममा सीआईबीले सभामुख देवराज घिमिरेलाई पत्र लेखेर सांसद चौधरीमाथि पनि अनुसन्धान भइरहेको जानकारी गराएको थियो ।
बाँसबारी छालाजुत्ता कारखाना लिमिटेडको नाममा दर्ता कायम रहेको १० रोपनी जग्गा च्याम्पियन फुटवेयर लिमिटेडको नाममा स्वामित्व हस्तान्तरण भएको थियो । विनोद चौधरी च्याम्पियन फुटवेयर लिमिटेडका शेयर धनी एवम् तत्कालीन सञ्चालक समिति सदस्य हुन् । सरकारी जग्गा गैरकानुनी रुपमा च्याम्पियन फुटवेयर लिमिटेडको नाममा स्वामित्व हस्तान्तरण गरेको खुलेपछि चौधरी पनि अनुसन्धानको दायरामा तानिएका हुन् । बाँसबारी छाला जुत्ता कारखाना निरन्तर घाटामा भएको भन्दै तत्कालीन अध्यक्ष अजितनारायण सिंह थापाले चौधरी घरानाका लुनकरणदास चौधरीसँग एउटा प्रवर्द्धन सम्झौता गरे, जसमा क्यानभास स्पोर्ट्स जुत्ता उत्पादन गर्ने उल्लेख गरिएको थियो । सम्झौतामा ५१ प्रतिशत शेयर करणदास चौधरी र परिवारको नाममा, २५ प्रतिशत बाँसबारी र २४ प्रतिशत सर्वसाधारणको शेयर रहने भनिएको थियो । सम्झौताअनुसार २७ कात्तिक २०४३ मा च्याम्पियन फुटवयेर कम्पनी दर्ता भएको थियो भने ५ भदौ २०४४ मा बाँसबारी छालाजुत्ताको ६ रोपनी जग्गा हस्तान्तरण भयो । थप ४ रोपनी जग्गा पनि च्याम्पियन फुटवेयरको नाममा गयो । त्यो बेला कम्पनीको शेयर सदस्यमध्ये एक थिए, विनोद चौधरी । च्याम्पियन फुटवेयरमा लुनकरणदास चौधरीको २१०० कित्ता शेयर थियो भने विनोद चौधरी, वसन्त चौधरी, अरुणकुमार चौधरी र महेशकुमार अग्रवालको समान २००–२०० कित्ता शेयर थियो । गंगा चौधरीको नाममा १०० कित्ता शेयर थियो । बाँसबारी छाला तथा जुत्ताको नाममा २ हजार कित्ता शेयर थियो । सम्झौता अनुसार सर्वसाधारणका लागि शेयर जारी नै भएन भने तीनरचार वर्ष जुत्ता उत्पादन गरेको च्याम्पियन फुटवेयर बन्द भयो । प्रजातन्त्र पुनर्स्थापनासँगै बाँसबारी छालाजुत्ता कारखाना निजीकरण गरेपछि च्याम्पियन फुटवेयरमा रहेको २ हजार कित्ता शेयर चौधरी समूहले आफ्नो बनायो । पछिल्लो समय अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँगै सीआईबीले यसबारे अनुसन्धान थाल्यो । त्यसक्रममा १८ माघमा अरुण चौधरीसहित ३ जना पक्राउ परे । उनीहरु धरौटीमा छुटे, तर सीआईबीले अनुसन्धान चलिरहेको छ । त्यसक्रममा बुधबार मात्र वसन्त चौधरीलाई बोलाएर कागज गराइएको छ भने विनोद चौधरीबारे अनुसन्धान भइरहेको जानकारी सभामुखलाई दिइएको छ ।

Loading spinner