सीमामा गरिएको कडाइबारे बोल्यो भारतीय विदेश मन्त्रालय
काठमाडौं । भारतीय विदेश मन्त्रालयले नेपाल सरकारले सीमामा १०० रुपैयाँभन्दा धेरैको सामान आयातमा गरिएको कडाइबारे बोलेको छ । बिहीबार विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले नेपाल–भारत सीमा नाकामा सामानको भन्सार शुल्क लगाउने विषय पुरानै भएको भन्दै यसको कार्यान्वयन मात्रै अहिले भएको बताएका छन् । उनले यस्तो कडाइले औपचारिक व्यापारमा वृद्धि हुने र सीमामा हुने तस्करी कम हुने विश्वास व्यक्त गरेका छन् । बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता जयसवालले व्यक्तिगत सामानमा कर नलाग्ने भन्दै भारतबाट सामान लगेर बिक्री गर्ने कार्यलाई यसले निरुत्साहित गर्ने बताएका छन् । निजी सामानका लागि कुनै भन्सार शुल्क नलाग्ने उनले स्पष्ट गरेका छन् । सरकारले २०८० मा राजपत्रमा प्रकाशित १०० रूपैयाँभन्दा माथिको वस्तुमा अनिवार्य भन्सारको नीतिलाई कडाइका साथ कार्यान्वयनमा ल्याएको छ ।
