मधेश केन्द्रित सात दलद्वारा ‘अग्रगामी मोर्चा’ घोषणा
काठमाडौं । समावेशी लोकतन्त्र, संघीयता, सामाजिक न्याय र समृद्धिको एजेन्डालाई अघि बढाउने उद्देश्यले मधेश केन्द्रित सात राजनीतिक दलले ‘अग्रगामी मोर्चा’ घोषणा गरेका छन्।
मधेश, थारुहट, दलित, उत्पीडित तथा सीमान्तकृत समुदायका अधिकारका लागि क्रियाशील दल तथा नेताहरूको सहभागितामा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममार्फत मोर्चाको औपचारिक घोषणा गरिएको हो।
घोषणा सभालाई सम्बोधन गर्दै जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुक संविधान र विधिको प्रक्रियाभन्दा बाहिरबाट सञ्चालन भइरहेको आरोप लगाए। उनले सुशासन, शान्ति–सुरक्षा र आर्थिक स्थायित्व कमजोर बन्दै गएको दाबी गर्दै संविधान संशोधन आवश्यक रहेको बताए।
यादवले राज्यका सबै शक्ति एकै ठाउँमा केन्द्रित हुँदा सर्वसत्तावाद र त्यसबाट अधिनायकवाद जन्मिने खतरा रहेको उल्लेख गरे।
नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष एवं पूर्वसांसद रेशम चौधरीले पहिचान र अधिकारको माग गर्दा आफूहरूले जेल, हतकडी र नेल भोग्नुपरेको बताए। वर्तमान संविधान निर्माणका क्रममा थारुहट आन्दोलनका कारण आफू प्रवासमा रहनुपरेको स्मरण गर्दै उनले अधिकार प्राप्तिका लागि साझा मोर्चा र एकता आवश्यक रहेको धारणा राखे।
जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले मुलुक अराजकताको दिशातर्फ जान सक्ने जोखिम रहेको भन्दै जनतामा आशा र भरोसा जगाउन मोर्चा गठन गरिएको बताए। उनले मोर्चा कुनै एक जात वा समुदाय केन्द्रित नभई सबै नेपालीको साझा राजनीतिक पहल भएको दाबी गरे।
राउतले मोर्चा सत्ता वा कुर्सीका लागि नभई सरकारलाई संविधान र विधिअनुसार सञ्चालन गर्न तथा जनताको हितका पक्षमा दबाब सिर्जना गर्न गठन गरिएको स्पष्ट पारे।
मोर्चामा सहभागी नेताहरूले विगतका राजनीतिक अनुभव र कमजोरीबाट पाठ सिक्दै अघि बढ्ने प्रतिबद्धता जनाएका छन्। उनीहरूले मोर्चाको आगामी कार्यदिशा र रणनीति कार्यपत्रमार्फत सार्वजनिक गर्ने तयारी भइरहेको जानकारी दिएका छन्।
