लिपुलेकबारे भारतकाे यस्ताे जवाफ
काठमाडौं । भारतले लिपुलेक हुँदै कैलाश मानसरोवर जाने मार्ग नयाँ नभएको र यो पुरानै मार्ग भएको प्रतिक्रिया दिएको छ।
कैलाश मानसरोवर यात्राका लागि भारत र चीनले नेपाली भू–भाग लिपुलेक हुँदै मार्ग खोल्ने घोषणा गरेको विषयमा नेपाल सरकारले पठाएको कूटनीतिक नोटको जवाफमा भारतले यस्तो धारणा सार्वजनिक गरेको हो।
भारतको विदेश मन्त्रालयका प्रवक्ता रन्धिर जैसवालले भारतको अडान सधैं स्पष्ट र स्थिर रहेको बताएका छन्। उनका अनुसार लिपुलेक पास हुँदै कैलाश मानसरोवर जाने यात्रा सन् १९५४ देखि नै सञ्चालनमा रहेको पुरानो मार्ग हो र यो कुनै नयाँ विषय नभएको दाबी गरिएको छ।
भारतले नेपालका केही भू–भागसम्बन्धी दाबीहरू ऐतिहासिक तथ्य र प्रमाणमा आधारित नभएको भन्दै त्यस्ता एकतर्फी दाबीहरू अस्वीकार्य हुने पनि स्पष्ट पारेको छ।
साथै, भारतले सीमा विवादलगायत दुई देशबीचका सबै विषयमा संवाद र कूटनीतिक माध्यमबाट नेपालसँग रचनात्मक छलफल गर्न आफूहरू तयार रहेको जनाएको छ।
यसअघि आजै परराष्ट्र मन्त्रालयले भारत र चीन दुवैलाई कूटनीतिक नोट पठाउँदै उक्त विषयमा ध्यानाकर्षण गराएको थियो। भारतले नेपालले पत्र पठाएको केही घण्टामै जवाफ दिएको हो।

