रास्वपाको नयाँ पदाधिकारीमा रवि लामिछाने पक्षको वर्चस्व
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनबाट निर्वाचित नयाँ पदाधिकारी टोलीमा सभापति रवि लामिछाने निकट नेताहरूको स्पष्ट वर्चस्व देखिएको छ। सहमहामन्त्री (खुला)मा निर्वाचित असिम शाहबाहेक सबै प्रमुख पदमा लामिछाने पक्षका उम्मेदवार विजयी भएका छन्।
यद्यपि, सभापति लामिछानेले महाधिवेशनपछि दिएको सम्बोधनमा पार्टीभित्र कुनै पक्ष वा विपक्ष नरहेको दाबी गर्दै निर्वाचनका क्रममा नेताको नाम जोडेर गरिएको प्रचार अब अन्त्य हुनुपर्ने बताएका थिए।
पार्टी विधानअनुसार दुई उपसभापति (एक महिला), एक महामन्त्री तथा दुई सहमहामन्त्री (एक महिला) पदका लागि निर्वाचन भएको थियो। यसअघि निर्वाचित केन्द्रीय सदस्यहरूमध्येबाट पदाधिकारी चयन गरिएको हो।
खुला उपसभापतिमा डा. स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्। महिलातर्फ उपसभापतिमा सोविता गौतम विजयी भइन्। उनले डा. तोषिमा कार्कीलाई पराजित गरिन्। पदाधिकारी सर्वसम्मत चयन गर्ने प्रयास भए पनि सहमति जुट्न नसकेपछि निर्वाचनमार्फत नेतृत्व चयन गरिएको थियो।
महामन्त्रीमा विपीन आचार्य निर्वाचित भएका छन्। पार्टीका संस्थापक सदस्यसमेत रहेका आचार्यले मनीष झा, सागर ढकाल र गणेश कार्कीलाई पछि पार्दै जित हात पारे। सागर ढकाल र गणेश कार्कीलाई बालेन्द्र (बालेन) शाह निकट धारका उम्मेदवारका रूपमा हेरिएको थियो।
सहमहामन्त्री (खुला)तर्फ हरि ढकाल र असिम शाह निर्वाचित भएका छन्। हरि ढकाल लामिछाने निकट मानिन्छन् भने असिम शाह बालेन पक्षबाट विजयी हुने एकमात्र उम्मेदवार बने। शाह हाल बालेन शाहका राजनीतिक सल्लाहकारका रूपमा कार्यरत छन्।
महिला सहमहामन्त्रीमा निशा डाँगी ७३७ मतसहित निर्वाचित भइन्। उनले रिमा विश्वकर्मा, जुली यादव, विदुषी शर्मा र कामिनीकुमारी चौधरीलाई पछि पारिन्।
महाधिवेशनको परिणामले पार्टी संगठनमा सभापति लामिछानेको प्रभाव थप बलियो बनेको विश्लेषण गरिएको छ। बालेन निकट मानिने समूहले विभिन्न पदमा प्रतिस्पर्धा गरे पनि असिम शाहबाहेक अन्य उम्मेदवारले सफलता हासिल गर्न सकेनन्।
यद्यपि, निर्वाचन परिणामपछि अब सभापति लामिछानेमाथि मनोनीत पदाधिकारी तथा केन्द्रीय सदस्य चयनमा पार्टीभित्र सबै पक्षको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने दबाब बढेको छ। विशेषगरी निर्वाचनमा पराजित भएका विभिन्न समूहलाई समेटेर संगठनात्मक सन्तुलन कायम गर्ने चुनौती नेतृत्वसामु देखिएको छ।
नवनिर्वाचित नेतृत्वसँगै रास्वपाले अब संगठन विस्तार, वैचारिक स्पष्टता र आगामी राजनीतिक कार्यदिशालाई प्राथमिकतामा राख्ने अपेक्षा गरिएको छ।
