रास्वपा सभापति रवि लामिछाने भारत भ्रमण सकेर फर्किँदै, परराष्ट्रमन्त्री खनाल नयाँदिल्ली प्रस्थान गर्दै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पाँचदिने भारत भ्रमण पूरा गरी आज स्वदेश फर्किँदै छन्। उनी स्वदेश फर्किने दिनमै परराष्ट्रमन्त्री शिशिर खनाल भारत भ्रमणमा प्रस्थान गर्ने भएका छन्।
भारतीय सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नितिन नवीनको निमन्त्रणामा सभापति लामिछाने जेठ १८ गते भारत गएका थिए।
भ्रमणका क्रममा लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस. जयशंकर, गृहमन्त्री अमित शाह तथा भाजपा अध्यक्ष नितिन नवीनसँग भेटवार्ता गरेका थिए। उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाली विशेष दूत सर्जियो गोरसँग पनि भारतमै भेट गरेको जनाइएको छ।
लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलमा रास्वपा सहमहामन्त्री तथा सांसद विपिनकुमार आचार्य, सचिवालय सदस्य तथा सांसद दीपक बोहोरा, उनकी पत्नी निकिता पौडेल तथा प्रदीप आचार्य सहभागी थिए। रास्वपा प्रवक्ता मनिष झाका अनुसार टोली आजै स्वदेश फर्किँदै छ।
त्यसै दिन परराष्ट्रमन्त्री शिशिर खनाल समकक्षी एस. जयशंकरको निमन्त्रणामा नयाँदिल्ली प्रस्थान गर्ने भएका छन्।
परराष्ट्र मन्त्रालयका अनुसार खनालले भारतका उच्चस्तरीय नेताहरूसँग भेटवार्ता गर्दै नेपाल–भारत सम्बन्धका विविध पक्षमा छलफल गर्नेछन्। विशेषगरी सीमा समस्या लगायत दुई देशबीचका साझा चासो र प्राथमिकतासँग सम्बन्धित विषयहरू छलफलको केन्द्रमा रहने बताइएको छ।
